Logo
Logo

‘नेपालको अर्थतन्त्र सुधारोन्मुख’


378
Shares

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । बुधबार एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । यस बीचमा कृषि, पर्यटक आगमन र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारण जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ ।

एडीबी नेपालले समेत बुधबार नेपालसम्बन्धी विवरणहरु सार्वजनिक गरेको छ । एडीबीले सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । सन् २०२३ मा २ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको थियो ।

दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन् २०२५ मा यसै क्षेत्रमा ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गने अनुमान एडीबीले गरेको छ ।

यस्तै, मुद्रास्फीतितर्फ सन् २०२४ मा नेपालले ५.४ प्रतिशतको सीमाभित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा ७.७ प्रतिशत थियो । सन् २०२५ मा ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान छ । वरिष्ठ अर्थशास्त्री मानवर खड्काले कर्जा प्रवाह अपेक्षित नभएपनि सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।

एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले आन्तरिक आयमा वृद्धि, पूर्वाधार खर्चमा तिव्रता र पर्यटनसम्बन्धी सेवाको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन बढ्ने बताए । सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रमा सुधार हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्