Logo
Logo

अराजक गतिविधि गरेको आरोपमा आशिका तामाङविरुद्ध उजुरी


0
Shares

भक्तपुर । सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानास्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको आरोप लगाउँदै सामाजिक अभियन्ता आशिका तामाङलाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ।

आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जाहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताएका छन् ।

नगरपालिकाले आज पत्रकार सम्मेलनगरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्नेगरी ३ वर्षदेखि सञ्चालन गरेको झोलुङ्गे पुल वारपार गरेवापत शुल्क असुलेको भन्दै यही असोज ७ गते अभियन्ता तामाङ नेतृत्वको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको आरोपसमेत प्रवक्ता सापकोटाले लगाए ।

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले वडा नं ९ बाट १० मा प्रवेश गर्ने पुल एकमात्र विकल्पको बाटो होइन, पैदल जान पनि सहज भएको दावी गरे। उनले त्यो झोलुङ्गे पुल पर्यटन प्रवर्द्धन गर्नकै लागि बनाइएकाले शुल्क लिएको जिकिरसमेत गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानूनसम्मत शुल्क लिएको दावी गरे । उनले भने, ‘सङ्घीय सरकारले बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिएअनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौँ। पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ।’

नगरपालिकाले आव ०७९÷८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिनेगरी ठेक्कामा लगाएको थियो।

नगरपालिकाले आव ०७९÷८० मा ३४ लाख रुपैयाँमा र आव ०८०÷८१ का लागि ३९ लाख रुपैयाँमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले बताए। ठेक्काबाट उठ्ने रकममा नगरपालिकाले रकम थपेर त्यस क्षेत्रमा थप पर्यटकीय संरचना निर्माण गर्दै आएको उनको भनाइ छ।

नगर प्रमुख थापाले स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क गरिएको र सूर्यविनायकका बासिन्दाका लागि शुल्कमा ५० प्रतिशत छुट गरिएको बताए ।

प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउन आफूखुशी भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप नगरपालिकाले लगाएको छ। नगरपालिकाले मंगलवार बसेको १७५औँ कार्यपालिकाको बैठकबाट निर्णयगरी जाहेरी दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्