काठमाडौं, ४ जेठ (एजेन्सी) । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट दक्षिण एसियामा आइतबार मध्यान्हसम्ममा चार हजार २०१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, दक्षिण एसियामा कोरोनाबाट एक लाख ६० हजार ८२५ जना संक्रमित भएका छन् भने तीमध्ये ५१ हजार ४६ जना उपचारपछि निको भएका छन् । यो जोन्स हप्किन्स विश्वविद्यालयको आइतबार मध्याह्नसम्मको रिपोर्ट हो ।
दक्षिण एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । भारतमा कोरोनाबाट ९० हजार ९२७ जना संक्रमित भएका छन् भने यहाँ ३४ हजार २२४ जना निको भएका छन् । भारतमा आइतबारसम्ममा कोरानाबाट २ हजार ८७२ जनाले ज्यान गुमाएका छन् ।
दक्षिया एसियाली मुलकमा भारतपछि पाकिस्तान प्रभावित बनेको छ । पाकिस्तानमा हालसम्म ४० हजार १५१ जनामा संक्रमण देखिएको छ भने ११ हजार ३४१ जना निको भएका छन् । पाकिस्तानमा कोरोनाको संक्रमणबाट ८७३ जनाले ज्यान गुमाएका छन् । बंगलादेशमा पनि २० हजार ९९५ जनामा संक्रमित भएकामा त्यसमध्ये ४ हजार ११७ जना निको भइसकेका छन् । यहाँ हालसम्म ३१४ जनाको मृत्यु भएको छ ।
यस्तै, अफगानिस्तान ६ हजार ४०२ जना संक्रमित भएकामध्ये ७४५ जना निको भएका छन् भने यहाँ १६८ जनाले ज्यान गुमाएका छन् । श्रीलंकामा ९६० जना संक्रमित भएका छन् भने ५२० जना उपचारपछि निको भएका छन् । यहाँ अहिलेसम्म ९ जनाको मृुत्यु भएको छ ।
यस्तै, माल्दिभ्समा आइतबारसम्ममा १ हजार ७८ जना संक्रमित भएकामा ५८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
यस्तै, नेपालमा हालसम्म २९१ जनामा संक्रमण पाइएको छ । तीमध्ये ३६ जना उपचारपछि निको भएका छन् । नेपालमा पहिलोपटक कोरोनाबाट १ जनाको मृत्यु भएको छ । दक्षिण एसियाली मुलुकहरुमा भूटानमा अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन । भुटानमा हालसम्म २१ जना संक्रमित भएको छन् भने तीमध्ये पनि ५ जना निको भइसकेका छन् ।
यस्तै, आइतबारसम्ममा कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५१ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ४६६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१८ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ११३ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १५३, स्पेनमा १०४ र फ्रान्समा ९६ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १५ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८१६ जनाको ज्यान गएको छ ।