Logo
Logo

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता


441
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ्बीच बेईजिङस्थि ग्रेट हलमा भेटवार्ता भएको छ ।

बिहीबार भएको सो भेटवार्तामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरुप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे । उनले पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनपर्ने विचार व्यक्त गरेका थिए ।

चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना व्यक्त गरे । उनले नेपालको विकास प्रयासमा चीन सधैं साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने जानकारी गराए ।

यस्तै, बिहीबार नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र चाईना ईन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच भेटवार्ता भएको थियो । त्यस क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गर्नु भएको थियो ।

उनले विगतमा भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनका लागि आपसी सहमतिमा समयबद्ध कार्यतालिका निर्माण गर्न जोड दिनुका साथै आगामी दिनमा अझ महत्वपूर्ण सहयोगका लागि अनुरोध गरे ।

सिड्काका अध्यक्षले पूर्वसहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्ने जानकारी दिनु भएको थियो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले हिजो चीनका अर्का उपप्रधानमन्त्री हि लिफेङ भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्