Logo
Logo

अवरुद्ध चित्लाङ-काठमाडौं सडक सञ्चालन


252
Shares

काठमाडौं । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले पहिरो पन्छाएसँगै आइतबार साँझदेखि सडक एकतर्फी सञ्चालनमा आएको र सडक दुईतर्फी सञ्चालन गर्न केही समय लाग्ने जानकारी दिए ।

यस सडकखण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । पहिरो खसेर अवरुद्ध भएका अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए ।

कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्ण अवरुद्ध भएको छ ।

दक्षिणकाली छैमले सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसी कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध छ । दक्षिणकाली छैमले सिस्नेरी सडककै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी मार्खु भित्री सडकको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्