Logo
Logo

सिन्को पनि नभाँच्ने गृहमन्त्री !


567
Shares

काठमाडौं । नेपाली काँग्रेस प्रतिपक्षी कित्तामा रहँदा पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसद्मा राख्ने गरेको अभिव्यक्ति निकै तार्किक हुने गर्थ्यो । कुनै पनि विषयमा व्यक्तिगत वा पार्टीगत अभिव्यक्ति राख्दा गहकिलो रूपमा प्रस्तुत गर्ने गरेका थिए ।

सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीबाट अनुसन्धान हुनुपर्ने भन्दै काँग्रेसले नाराबाजीसहित संसद् अवरोध गरेको थियो । प्रमुख सचेतकको हैसियतमा त्यसको नेतृत्व लेखकले नै गरेका थिए ।

बौद्धिक नेताका रूपमा चिनिएका लेखकलाई काँग्रेसले अवसर नदिएको भन्दै यसअघि प्रश्न समेत उठ्ने गरेको थियो । तर, जब उनी सत्तामा पुगे, उनको त्यो उचाइ पनि खस्किएको छ  । प्रतिपक्षमा हुँदा सत्तामा रहेकालाई खबरदारी गर्ने, औँला ठड्याउने तर आफू त्यही ठाउँमा पुगेपछि सिन्को भाँच्न सकेका छैनन् ।

पूर्वगृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले अनेक स्टन्ट र हल्ला पिटेरै भएपनि हल्लीखल्ली मच्चाएको गृहमन्त्रालय लेखकको हातमा पुगेपछि गुमनाम प्राय छ । प्रतिपक्षमा हुँदा सहकारी प्रकरणमा फरार जीबी राई पक्राउ नगरेको भन्दै चर्को स्वर गरेका लेखक स्वयम गृहमन्त्री भएको साढे दुई महिना बित्दासमेत जीबीबारे बेखबर छन् । पार्टी सभापति शेरबहादुर देउवाकै जस्तो कम बोल्ने सिको गर्न खोज्दा उनी बदनाम भएर पनि गुमनाम छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र ओली क्याबिनेटका मन्त्रीहरूले शपथ ग्रहणसँगै पदभार सम्हालेको साढे दुई महिना बितिसकेको छ । एकाधबाहेक कुन मन्त्रालयमा को मन्त्री छन् ? आमरुपमा नागरिकले अत्तोपत्तो पाएका छैनन् ।

ओली क्याबिनेटका मन्त्रीहरूले नागरिकले चिन्ने गरी उपलब्धिमूलक कामै गर्न सकेका छैनन् । जनजीविकाको सवालमा साढे दुई महिनाको अवधिमा कुनै पनि मन्त्रीले चर्चा गर्न योग्य काम देखाउन सकेका छैनन् । दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली ओली क्याबिनेटका मन्त्रीहरूले जनजीविकाको सवाललाई सम्बोधन गर्न नसक्दा सरकारकै आलोचना भइरहेको छ ।

शुक्रबारदेखिको निरन्तर वर्षाका कारण आएको बाढी पहिरोले दशैभरको जनजीवन अस्तव्यस्त बन्यो । करिब दुई सय सर्वसाधारणको मृत्यु भयो भने केही अझै बेपत्ता छन् ।

ललितपुरको नख्खु खोलामा शनिवार चारजनाले आफूलाई बचाउन गुहार मागे । उनीहरूले गुहार मागेपनि सरकारको फितलो तयारी र ढिलासुस्तीको कारण समयमै उद्धार हुन सकेन । सरकारले उद्धार गर्न सकेपछि सर्वसाधारणले चारजनामध्ये तीनजनाको उद्धार गरे ।

दुईजनाको उद्धार चणिकलाल तामाङले गरे भने एकजना आफै पौडिएर आएको बताइएको छ । तर, गृहमन्त्रीले उनीहरूको स्थिति नै नबुझी कम भिजिबिलिटीका कारण हेलिकप्टर उडाउन सकिएन भन्दै निम्छरो जवाफसहित बेपत्ता भएको सूचना प्रवाह गरिदिए ।

गृहमन्त्री लेखकले शनिवार बिहान साढे १० बजे सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठक राखेका थिए । उक्त बैठकमा मन्त्री लेखकले नख्खु नदी छेउमा रहेकाहरूलाई बचाउन नसकिएको बताएका थिए । भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत उनीहरूलाई उद्धार गर्न नसकिएको उनको भनाइ थियो ।

गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दिएको यस्तो अभिव्यक्तिले जनस्तरमा आक्रोश बढेको छ । सरकारले उद्धारमा गरेको विलम्ब र ढिलासुस्तीको सिकार बन्न पुगेका सर्वसाधारणमाथि राज्यको जिम्मेवारी के ? प्रश्न उठेको छ ।

साढे दुई महिनाको अवधि परीक्षणकाल पनि पार गर्ने समय हो । शान्तिसुरक्षा व्यवस्थापन, चुस्त सार्वजनिक सेवा प्रवाह, विधि र कानुनी शासनको प्रत्याभूति, आन्तरिक सुरक्षा व्यवस्थापन चुस्त पार्नु गृहमन्त्रीको मुख्य काम हो ।

आम जनजीवनसँग जोडिएका काम लेखकले नेतृत्व गर्ने गृह मातहतकै निकायहरूले बढी कार्यान्वयन गर्ने हो । तर, देशभर बाढीपहिरो, डुबान, कटानलगायत मनसुनजन्य विपत्तिले छोप्दा गृहमन्त्री लेखक भूमिका खासै देखिएन । यसले गृहमन्त्री लेखकको क्षमतामाथि नै प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्