Logo
Logo

सुन तस्करलाई सर्वोच्चको सुनपानी


567
Shares

काठमाडौं । सर्वोच्च अदालतले करिब ६१ किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थुप्तेन छिरिङलाई पुनः थुनामै पठाउने आदेश दिएको छ । थुनामा पठाउने कि धरौटीमा रिहा गर्नेबारे अन्तिम फैसलामा छिरिङलाई थुनामै पठाउने आदेश भएको हो । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले अधिकांश प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ ।

जिल्ला अदालत र उच्च अदालतले थुनामा पठाउने आदेश गरेकोमा त्यसलाई बदर गर्दै सर्वोच्चले केहीलाई धरौटी माग गर्ने आदेश गरेको छ भने, केहीलाई थुनामा पठाउने निर्णय सदर गरेको छ । सर्वोच्चले धरौटी माग गरेकोमा कुमार ढकाल, सन्तोष चन्द, रामकुमार भुजेल, सरोज श्रेष्ठ, राजेन्द्रकुमार राई, शिवकुमार सर्राफ, किशोरकुमार बस्नेतको हकमा धरौटी माग गरेको छ ।

त्यस्तै सर्वोच्चले टाँसी भन्ने थुप्तेन छिरिङ, हर्कराज राई, दिलीप भुजेल र सुमन खरेलको हकमा पुर्पक्षका लागि थुनामा राख्ने निर्णय सदर गरेको छ । झण्डै ६१ किलो सुन प्रकरणमा थुनामा रहेका तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङ १३ वर्ष पहिलेदेखि नै नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेका थिए ।

उनी २०६७ सालमा नेपालमा गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । ६१ किलो सुन प्रकरणमा थुप्तेनको भूमिका नेपालमा सेटिङ मिलाउने देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थल भन्सारका कर्मचारीसम्म सेटिङ मिलाउने थुप्तेन नै भएको अदालतमा दर्ता अभियोग पत्रमा उल्लेख छ । यो प्रकरणमा तिब्बतीयन मुलका थुप्तेनसहित ८ चिनियाँ र २० नेपालीलाई प्रतिवादी बनाइएको थियो ।

थुप्तेनले सुन प्रकरणमा पक्राउ परेपछि आफूलाई चिनियाँ नागरिक लि वेन सुङले एक वर्ष पहिले नेपाली नागरिकको नाममा कम्पनी खोल्न र व्यापार गरेर राम्रो कमाइ हुने भन्दै कम्पनी दर्ता गर्नका लागि नेपाली खोज भनेपछि नेपाली नागरिक खोजेको बयान दिएका थिए ।

थुप्तेनले भन्सार एजेन्ट हर्कराज राईलाई यही कुरा भनेर कम्पनी दर्ताका लागि नेपाली नागरिक खोज्न भनेका थिए । हर्कराज राईलाई २ लाख ५० हजार रुपैयाँ दिएर थुप्तेन र लि वेनले कम्पनी दर्ता गर्ने मान्छेलाई दुई लाख रुपैयाँ दिन भनेको थुप्तेनले बयानका क्रममा बताएका थिए ।

छुङाग इलेक्ट्रिक सप्लायर्स कम्पनी दर्ता गराएर बैंक खाता खोल्न लगाएर त्यहाँ तीन लाख रुपैयाँ पनि उनीहरूले जम्मा गर्न भनेका थिए । त्यसपछि उनीहरुले इलेक्ट्रोनिक वस्तुहरु आयात गर्न थालेका थिए । थुप्तेनको भूमिका चिनियाँ नागरिकहरूलाई चाहिने सटर कोठा, घर, गाडी लगायतका व्यवस्थापकीय कार्य गर्न लि वेन सुङले भनेका थिए । हर्कराज राईको नाममा नै सम्झौता गराई उनले सटर, घर गाडी खोजेका थिए ।

नेपालमा गर्नुपर्ने सम्पूर्ण कार्यका लागि चिनियाँले थुप्नेतलाई नै सम्पर्क गर्थे थुप्तेनले नेपालीलाई परिचालन गर्थे । पक्राउ परिसकेपछि नेपालमा तस्करीका लागि दर्ता भएका कम्पनीहरुको बारेमा पनि थुप्तेनले नै खुलाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्