Logo
Logo

नेताहरूको यौनकाण्डले एमाले बदनाम


945
Shares

काठमाडौं । एमाले तहले मिसन ०८४ को अभियान थालिरहेको बेला केन्द्रीय नेताहरू भने विवादमा आएका छन् । केन्द्रीय नेताहरू विवादमा आउन थालेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौको मध्यतिर (१८–१९गते) भएको पोलिटव्यूरो बैठकमा त्यस्ता नेता कार्यकर्तालाई मनोरञ्जन कि पार्टी रोज्न चेतावनीसमेत दिएका थिए ।

तर पनि एमालेका नेताहरूको अश्लील तस्वीर र भिडियोहरू सार्वजनिक हुन थालेका छन् । पछिल्लो दुई वर्षयता एमालेका प्रतिभाशाली नेताहरू कै अश्लील तस्वीर र भिडियो क्लिपहरू बाहिर आएका छन् ।

नेकपा (एमाले) प्रतिनिधिसभा सचेतक एवं केन्द्रीय सदस्य सुनिता बरालको नैतिक आचरणमाथि प्रश्न उठ्ने गरी केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्वीरलाई भिडियो बनाएर सार्वजनिक गरियो । यो भिडियोबारे उनले केही बताएकी छैनिन् । सो तस्वीर कसले खिचेको र त्यसलाई भिडियो कसले बनाएको हो भन्ने बारेमा केही खुलेको छैन ।

अखिलको अध्यक्ष भएदेखि नै पछाडि फर्केर हेर्नु नपरेकी सुनितालाई यो तस्वीरले खास असर नगरे पनि उनको प्रेमी सार्वजनिक नहुँदासम्म भने बाहिरी दुनियामा उनलाई हेर्ने दृष्टिकोणमा भने फरक आउने एमालेकै कार्यकर्ताहरू बताउँछन् ।

एमाले पोलिटब्युरो बैठकमा नै नेताहरूले केही नेताहरूको सांस्कृतिक र आर्थिक विचलनका कारण पार्टी र कार्यकर्तालाई अप्ठेरो अवस्था आएको धारणा राखेका थिए । सांस्कृतिक र आर्थिक विचलनको आरोप लागेका नेताहरूका बारेमा प्रस्ट धारणा बनाउनुपर्ने, कारबाही गर्ने हो कि सचेत गराउने हो, समयमा नै गर्नुपर्ने बैठकमा नेताहरूले भनेका थिए ।

पार्टी नेताहरूका सांस्कृतिक विचलन झल्किने एकपछि अर्को अडियो–भिडियो बाहिरिन थालेपछि कार्यकर्ताहरूले समेत प्रश्न उठाउन थालेका छन् । अध्यक्ष ओलीलगायत शीर्ष नेताकै वरपरका नेताहरू त्यस्तो विवादमा परिरहेका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहका नेताहरूमा पनि त्यस्तो विचलन देखिन थालेपछि नियन्त्रणका लागि एमालेले केही दिनअघि पाँचबुँदे छुट्टै आचारसहिंता लागू गरेको छ ।

२०७८ सालमा एमालेका तत्कालीन सांसद तथा पोलिटब्युरो सदस्य मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका थिए । बानियाँविरुद्ध एक महिलाले बलात्कारको आरोपसहित बाँके प्रहरीमा जाहेरी दिएकी थिइन् । बानियाँ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । तर, उनको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । उनी पार्टी नेताकै रूपमा एमालेको मुगु जिल्ला इन्चार्ज थिए ।

एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतविरुद्ध संगठनकी पूर्वकेन्द्रीय सदस्य शोभा पाठकले बलात्कार भ्रुणहत्याको अभियोगमा जाहेरी दिएकी थिइन् । तर, प्रमाण पु¥याउन नसकेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेन ।

सामाजिक सञ्जालमा चरित्रहत्या गरेको भन्दै नेता बस्नेतले साइबर ब्युरोमा उजुरी दिएपछि शोभा पक्राउ परिन् । यसले बस्नेतको उदाउदो छविमा असर गरेको छ भने राजनीतिक रुपमा प्रतिरक्षामा परेका छन् ।

एमालेका अर्का केन्द्रीय सदस्य ऐन महर पनि अनैतिक सम्बन्धको अडियो संवाद बाहिरिएपछि विवादमा परेका छन् । गत वर्ष एमालेको मध्यपहाडी संकल्प यात्रा चलिरहेको बेला उक्त काण्डको अडियो बाहिर आएको थियो ।

त्यस्तै, एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहको पहिले रोमान्सको टिकटक भिडियो सार्वजनिक भयो, पछि यौन हिंसाको उजुरी पार्टीमा आयो । शाहले आफूलाई पटक–पटक यौन उत्पीडन गरेको भन्दै पार्टीमै क्रियाशील एक महिलाले अध्यक्ष ओलीलाई नै सम्बोधन गरेर पार्टी कार्यालयमा उजुरी दिएकी थिइन् ।

एमालेका तत्कालीन जुम्ला जिल्ला उपाध्यक्ष सुरत शाहीले भतिजी नाता पर्ने १७ वर्षीया बालिकालाई बारम्बार यौन प्रस्ताव राखेको अडियो बहिरिएको थियो । अडियो सार्वजनिक भएपछि उनी पाँच महिना फरार भए । पछि, प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई धरौटीमा छाडेको छ ।

उनको मुद्दा अहिले विचाराधीन छ । विगतमा दुई महिलाबाट यौन दुराचारको आरोप लगाइएका केशव स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएपछि एमालेको आलोचना भएको थियो ।

नेकपा एमालेभित्र यौन दुराचारी र पापाचारीको बिगबिगी कुन हदसम्म बढेको छ भन्नेबारे एमालेकै पूर्वमहासचिव एवं हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खुलासा बेलाबखत बोल्ने गरेका छन् । त्यतिबेला नेपालले ओली गुटमा रहेका नेता कार्यकर्तातर्फ लक्षित गर्दै भनेका थिए, ‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ । अर्काकी श्रीमती ताकेको छ । सहिदकी श्रीमती ताकेको छ । बोलीमा मिठास छैन । उदण्डता मात्र छ, केही कुरामा विनम्रता छैन ।’

अहिले ओलीनिकट रहेकै नेताहरूको यौनकाण्ड बाहिर आएपछि नेपालको भनाइ सही सावित भएको छ । एमालेभित्र रहेका शेरधन राई, कृपाशुर शेर्पा लगायतका केही नेताहरूको बारेमा पनि बेलाबखत यौन काण्डका प्रकरणहरू बाहिर आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्