Logo
Logo

सुपारी आयात खुलाः करोडौँको चलखेल


252
Shares

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले सुपारी आयातलाई खुला गरिदिएका छन् । औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी, केराउ र मरिचको आयात खुला गरेका हुन् । ०७६ चैत २४ गतेबाट आयातमा प्रतिबन्ध लगाइएकोमा चालु आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिचको आयात खुला गरिएको हो ।

सुपारी आयातको विषयमा कुरा नमिल्दा सचिव मधुसूदन बुर्लाकोटीलाई मन्त्री भण्डारीले सरुवा गरेर गोविन्द कार्कीलाई ल्याएर सुपारी खुला गरिदिएका थिए ।

केही दिनअघि मन्त्रिपरिषदमा पेश गरेको ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधिलाई पूर्णता दिइएको थियो ।

वाणिज्य सचिवले पुरानै कार्यविधिलाई संशोधन गरेर मन्त्रिपरिषद्मा लगेर खुला गरिएको स्रोतको दाबी छ । अहिले सुपारी आयात गर्ने उद्योगहरूले औद्योगिक प्रयोजनका लागि भनी सुपारी आयात गरेर अवैध रुपमा भारत चोरी÷निकासी गर्ने गरेका छन् ।

२०७८ सालमा बनेको यो कार्यविधिले सुरुमा ४ वटै कच्चा पदार्थ औद्योगिक प्रयोजनभन्दा अन्य प्रयोजनको लागि प्रयोग गर्न नमिल्ने बनाएको थियो । २०७९ सालमा पुनः सो कार्यविधिलाई परिमार्जन गरी कच्चा पदार्थ भनी ल्याएको सामान ट्रेडिङसमेत गर्न पाउनेगरी कार्यविधि संशोधन गरिएको छ ।

सो कार्यविधिको दुरुपयोग गरेर उद्योग मन्त्रालयमा अहिले चर्को नीतिगत भ्रष्टाचार भैरहेको छ ।

स्रोतका अनुसार उद्योग विभागले सिफारिस गर्ने यी कच्चा पदार्थमा उद्योग विभाग, उद्योग मन्त्रालयले प्रतिकिलोमै कमिशन लिने गरेका छन् । मन्त्री भण्डारीको पालामा तत्कालीन वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीले यी चारै वस्तुको कमिशन अस्वीकार गरेपछि मन्त्री भण्डारी र सचिव बुर्लाकोटीबीच सम्बन्ध चिसिएको थियो ।

पूर्ववाणिज्य सचिव निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालले सुरु गरेको सुपारीको खेलोमेलोले अहिले पनि निरन्तरता पाएको छ ।

पूर्वउद्योग मन्त्री लेखराज भट्टले २ हजार टन पोस्ता दाना २५ हजार टन सुपारी, ८५ हजार टन केराउ, मरिच र छोकडा सिमित व्यापारिक कम्पनीलाई दिएका थिए । यसका मूख्य योजनाकार तत्कालिन वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल थिए ।

यसपछिका उद्योगमन्त्रीले पनि पटक–पटक सुपारी, मरिच, केराउ छोकडामा कोटा निर्धारण गरेर वितरण गर्ने योजना बनाएका थिए । तर भट्टपछिका कुनैपनि मन्त्रीले यो योजना सफल बनाउन सकेका छैनन् । अहिले यी चार वटै वस्तु सम्बन्धित उद्योगले मात्रै आयात गर्न पाइरहेका छन् । ट्रेडिङ फर्मले भने आयात गर्न पाएका छैनन् ।

ट्रेडिङ फर्मलाई आयात अनुमति दिनका लागि मन्त्री भण्डारीले योजना बनाइरहेका छन् । सुपारीमा प्रति किलोमै ३० देखी ३५ रुपैयाँसम्म कमिशन बुझाउन व्यवसायीहरु तयार छन् भने पोस्ता दानामा प्रतिकिलो ६० देखी १०० रुपैयाँसम्म कमिशन बुझाउन तयार रहेको स्रोतको दाबी छ । सुपारी तस्करीमा झापाका एमालेनिकट व्यापारीहरू लामो समयदेखि संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्