काठमाडौंको टुँडिखेलमा देउडा कार्यक्रमलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि युवाले हुटिङ गरे, नाराबाजी गरे । त्यसैगरी न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सम्मानमा आयोजना गर्न लागिएको सभा सुरक्षाका कारण स्थगित भयो ।
यस घटनालाई लिएर सामाजिक सञ्जालमा ‘नेपालीहरू जहाँ पुगे पनि उस्तै हुन्’ भन्ने नकारात्मक टिप्पणी गरियो । देशको प्रधानमन्त्रीको हैसियतले युएनको महासभामा भाग लिन गएका ओली र परराष्ट्रमन्त्री राणालाई नेपालीहरूले नै यति साह्रो अपमान गर्न हुन्न थियो भन्ने प्रतिक्रिया पनि सामाजिक सञ्जालमा आयो । यी दुई घटनालाई सामान्य रुपमा हेरिनु हुन्न । त्यस पछाडिका कारणहरू खोज्नुपर्छ र त्यसको समाधान पहिल्याउनु पर्छ ।
कसैलाई बहुला कुकुरले टोकेर यस्तो काम गरेको हुँदैन । कुनै पनि नागरिक सरकारको विरोधमा किन उत्रिन्छ भन्ने कुरा देश, काल, परिस्थितिमा भर पर्छ । २००७ सालमा चारजना युवा किन सहिद हुन तयार भए ? ०४६ सालमा पञ्चायती निरंकुश व्यवस्थाका विरुद्ध किन जनलहर उर्लियो ? ०६२-६३ मा १७ हजार नागरिकले किन बलिदानी दिए ?
त्यो सबैको एउटै कारण देशमा आमूल परिवर्तनका लागि थियो । २००७ सालदेखि अहिलेसम्म कति राजनीतिक परिवर्तन भयो र त्यो परिवर्तनले आम नागरिकको जीवनमा कति परिवर्तन ल्यायो भन्ने कुरा प्रमुख हो ।
हरेक नागरिकले राज्यबाट आशा राखेको हुन्छ, त्यो आशा पूरा नहुँदा नागरिकमा निराशामा बढ्छ र त्यही निराशाबाट विद्रोह जन्मिन्छ । टुँडिखेल र न्युयोर्कको विरोध पनि त्यही निराशाबाट उत्पन्न एक खालको ‘विद्रोह’ हो । त्यसलाई नेपालीहरू जहाँ पुगे पनि त्यस्तै प्रवृत्तिका हुन्छन् भनेर पन्छाउनु हुँदैन ।
साँच्चै, देश समस्यामा छ । संविधानले जतिसुकै मौलिक हकको ग्यारेन्टी गरे पनि आम नागरिकले त्यसको उपभोग गर्न पाएका छैनन् । अर्थतन्त्र रेमिट्यान्सको टेकोमा अडेको छ । सर्वसाधारण नागरिक हातमुख जोर्न हिजोआज पनि त्रिभुवन विमानस्थलमा लामबद्ध हुन बाध्य छन् ।
पढेलेखेका युवा देशमै लाखौँको संख्यामा बेरोजगार छन् । महँगी र भ्रष्टाचारले सीमा नाघिसक्यो । ठूला ठूला भ्रष्टाचारमा प्रधानमन्त्री, मन्त्रीहरूको नाम जोडिएको छ । यी सबै समस्याका जड भनेका प्रमुख राजनीतिक दल र तिनका नेताहरू हुन्, जो विगत ३० वर्षदेखि निरन्तर आलोपालो सत्तासीन छन् । आखिर के का लागि ? यो एउटा गहन प्रश्न हो । यो प्रश्नमा प्रमुख राजनीतिक दलका नेताहरू गम्भीर नहुने हो भने देश श्रीलंका र बंगलादेश बन्न बेर छैन ।
जतिसुकै ठूलो शक्तिमा पुगेपनि त्यो शक्तिप्रति नागरिकको विश्वास गुम्यो भने त्यो क्षणभरमै तासको घर ढलेजस्तै ढल्छ । ८४ मा एउटै दलले दुईतिहाइ बहुमत ल्याएपनि समस्या समाधान गर्न सक्दैन । अहिले समस्याको खाडल पुर्न सकियो भने राम्रो हुनेछ । त्यसका लागि राजनीतिक दलहरूबिच राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन ।
श्रीलंका र बंगलादेशमा पनि व्यवस्थाका कारणले होइन, नेताका कारणले देश बरबाद भएको निष्कर्षसहित जनविद्रोह भयो । यहाँ पनि व्यवस्थाका कारणले होइन, नेताका भ्रष्ट आचरणका कारणले विद्रोह हुनसक्छ । बंगलादेशमा शेख हसिनाले १५ वर्ष एकछत्र राज गरिन् । विपक्षीलाई दबाइन्, उनको कार्यकालमा बंगलादेशले आर्थिक सुधार गरे पनि भ्रष्टाचार नेपालमा भन्दा बढी मौलायो ।
लामो समयदेखि एउटै व्यक्ति प्रधानमन्त्री भएकोमा त्यहाँका जनता वाक्कदिक्क थिए, विद्यार्थी आन्दोलन दबाउन हसिनाले आन्दोलनकारीहरूमाथि दमन गरिन् । कयौँ विद्यार्थी मारिए । अन्ततः शेख हसिना देशै छाडेर भाग्न बाध्य भइन् । सत्तामा हुँदा उनले देश छाडेर भाग्नुपर्ने कल्पनासम्म गरेकी थिइनन् होला ।
त्यसैगरी, श्रीलंकामा राजापाक्षे परिवारले १८ वर्ष एकछत्र राज ग¥यो । त्यहाँ पनि नेपालमा जस्तै भ्रष्टाचार, कुशासन, बेरोजगार, महँगी आदि समस्या बढ्दै गयो । हुँदाहुँदा देशले चरम आर्थिक संकट भोग्नुप¥यो । औषधि आयात गर्न समेत ऊसँग विदेशी मुद्रा भएन, आदि कारणले त्यहाँका जनता विद्रोहमा उत्रिए । अन्ततः राष्ट्रपति गोटवाया देश छाडेर भाग्नुप¥यो ।
श्रीलंका र बंगलादेशमा जस्तै नेपालमा पनि ३० वर्षदेखि एउटै अनुहार प्रधानमन्त्रीमा दोहो्याइतेह¥याइरहेका छन् । त्यो अनुहार हेर्न अब नेपाली युवा तयार छैनन् भन्ने कुरा सामाजिक सञ्जालको सन्देशमार्फत उजागर भएको छ ।
बंगलादेश र श्रीलंकामा जस्तै नेपालमा पनि नयाँ अनुहारको खोजी भइरहेको जस्तो छ । तर, कुनै पनि नेता कुर्ची छाड्न तयार छैनन् । आर्यघाट नपुगेसम्म सत्ताकै सपना देखिरहेका छन् । हरेक राजनीतिक दलभित्र यस्तो प्रवृत्तिको विरोध भएको छ ।
नेतृत्व हस्तान्तरणको कुरा उठेको छ । यो पनि एक प्रकारको विद्रोहजस्तै हो । यो मनोभावनालाई हाम्रा नेताहरूले बुझ्न सकेनन् भने श्रीलंका र बंगलादेशमा जस्तै नेता केन्द्रित आन्दोलन नेपालमा पनि हुनसक्छ भन्नेतिर समयमै सचेत बन्नुपर्छ ।
टुँडिखेलमा विरोध गर्ने युवा कसका समर्थक थिए अथवा न्युयोर्कमा कार्यक्रम भाँड्ने कसका अनुयायी थिए, त्यो ठूलो कुरा होइन । ठूलो कुरा त यो देशको दुर्दशा कसको कारणले आयो भन्ने नै हो ।
समय बलवान छ, समयले कसैलाई पर्खँदैन भन्ने कुरा बंगलादेश र श्रीलंकाको घटनाले उजागर गरिसकेको छ । त्यसैले जतिसुकै ठूलो शक्तिमा पुगे पनि त्यो शक्तिप्रति नागरिकको विश्वास गुम्यो भने त्यो शक्ति क्षणभरमै तासको घर ढलेजस्तै ढल्छ ।
मैले अघिल्लो अंकमा लेखिसके– समस्या आफूभित्र छ, समाधान संविधानमा खोज्ने कुराले देश थप संकटमा फस्न सक्छ । समय यति घर्किसक्यो कि, संविधान संशोधन गरेर पनि समस्या समाधान हुन सक्दैन ।
मिसन ८४ मा एउटै दलले दुईतिहाइ बहुमत ल्याएपनि समस्या समाधान गर्न सक्दैन । अहिले समस्याको खाडल पुर्न मात्र सकियो भने राम्रो हुनेछ । त्यसका लागि राजनीतिक दलहरूबिच राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन ।