Logo
Logo

चलचित्र ‘चे’ले उठाएको प्रश्न


756
Shares

काठमाडौं । पूर्वी नेपाल विशेषगरी (लिम्बूवान)को पछिल्लो समसामयिक राजनीतिक अवस्थालाई चित्रित गरिएको चलचित्र ‘चे’ काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ ।

चलचित्र ‘चे’ अर्थात ‘लास’को मंगलबार काठमाडौंको कमलपोखरीस्थित बिग मूभिजमा विशेष प्रदर्शन गरिएको हो । ‘चे’ हेर्न दर्शकको बाक्लो उपस्थिति थियो । पछिल्लो समय लिम्बू चलचित्रहरु बन्नेक्रम बढिरहेको छ । तर, ती बनिरहेका र आइरहेका लिम्बू चलचित्रहरुभन्दा ‘चे’ भिन्न छ ।

सागर केरुङद्वारा निर्मित एवं निर्देशित चलचित्र ‘चे’मा केन्द्रीय राजनीति र सत्ताले क्षेत्रीय तथा स्थानीय तहमा कसरी प्रभाव पारेको छ भन्ने देखाइएको छ ।

केन्द्रीय सत्ता एवं राजनीतिको दवाव र प्रभावले भौतिक विकास गर्ने क्रममा स्थानीय प्राकृतिक एवं साँस्कृतिक सम्पदाहरुको बिनास भइरहेको छ भन्ने कुरालाई उजागर गरेको छ । निर्देशक केरुङले ‘चे’मार्फत आफ्नो अस्तित्व र सभ्यताका लागि संघर्षरत पहिचान पक्षधरको आवाजलाई उठाएका छन् ।

पहिचानको आन्दोलन चलिरहेको बेला यो चलचित्रले पूर्वमा स्थानीय तह र प्रदेशमा दलगत राजनीतिक गर्नेहरुमाथि खबरदारी गरेको छ । चलचित्रमा विकासको नाममा प्राकृतिक तथा साँस्कृतिक सम्पदा मास्ने र जोगाउन खोज्नेबीच द्वन्द्व देखाइएको छ । करिब दुई घन्टा लामो चलचित्रमा निर्देशक सागरले लिम्बूहरुको समाधीस्थलहरुसमेत राज्यको चपेटामा परेर बिनास भइरहेको छ भन्ने दर्साएका छन् ।

पाँचथरको विभिन्न स्थानमा छायाँकन गरिएको चलचित्र ‘चे’मा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ लगायतको अभिनय छ ।

याक्थुङ फिल्मस् प्रालिका लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङले निर्माण गरेको ‘चे’लाई चाँडै देशविदेशका विभिन्न स्थानमा प्रदर्शन गरिने निर्देशक केरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्