Logo
Logo

राज्यमन्त्री सिर्जना राईमाथि आक्रमण गर्ने समूह पक्राउ


567
Shares

विराटनगर । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईमाथि आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरबाट गएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई उदयपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६ जना रहेको कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए । घटनामा नाबालकहरु समेतको संलग्नता पाइएपछि अनुसन्धानपछि मात्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गर्ने जनाएको छ ।

राज्यमन्त्री राई बाढीपहिरो पछिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारको पहल गर्न उदयपुरको उत्तरी क्षेत्र र भोजपुरको दक्षिण क्षेत्रमा गएकी थिइन् । विराटनगर फर्कने क्रममा मंगलबार राति १० बजे उनी चढेको सवारीसाधनमा आक्रमण भएको थियो ।

प्रहरीका अनुसार उनी फर्केर आएको बाटोबाट गाँजा तस्करी हुने गरेको र त्यस ठाउँमा उक्त समूहले गाँजा ओसारपसार गर्नेहरुसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले त्यहा लुटपाट गर्ने उदेश्यले आक्रमण गरेको खुलेको डिआइजी खापुङले बताए । राति आक्रमण भएपछि उनलाई प्रहरीले स्कटीङ गरेर विराटनगर ल्याएको थियो । उनी चढ्ने प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडीमा क्षति पुगेकोले मर्मतका लागि लगिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्