सधैँ दिक्क र नरमाइलो मात्र भइरहँदैन संसारमा । चीनको आन्दोलन सामसुम भएर मानिसहरू सामान्य दैनिकीमा फर्किन थाले । म पनि आफ्नो कर्ममा फर्किएँ ।
शनिबारको दिन थियो । प्रत्येक शनिबार बिहान छोरीलाई चित्रकला सिकाउन एउटा आर्ट स्कूलमा लान्थेँ। दुई घण्टाको समय दिनुपथ्र्यो । एक्लै बाहिर पर्खिनुको सट्टा नजिकैको पार्कमा गएर समय बिताउँ जस्तो लाग्यो र पार्कमा पसेँ । मर्निङ वाक, व्यायाम, घुमघाम गर्नेहरू अझै बाँकी रहेछन् । त्यो बिहानी मलाई त्यसै रमाइलो लाग्यो ।
पार्कको एक कुनामा संङ्गीत बजिरहेको थियो । खुल्ला चौरमा प्रायः धेरै जसो वृद्धाहरू देखिन्थे– सङ्गीतको तालमा नाचिरहेका । बोलीचालीमा त्यसलाई चिनियाँहरू ‘लाओरन् डिस्को’ भन्थे । लाओरन् भनेका जेष्ठ नागरिकहरू, अनि डिस्को त डिस्को नै भइहाल्यो । वृद्धवृद्धाहरू त्यो मीठो सङ्गीतको तालमा नाचिरहेको देख्दा त्यसैपनि मज्जा लाग्ने ! र, कति मज्जाले नाचेका त्यो उमेरका ज्येष्ठ नागरिकहरू !
शारीरिक स्वास्थ्यको निम्ति होस्, वा मनको निम्ति– त्यो त्यत्तिकै उपयोगी व्यायाम थियो । म एकछिन मन्त्रमुग्ध भएर हेररिरहेँ, एउटा बेञ्चमा बसेर । आफ्नो देशमा यस्ता खुल्ला ठाउँमा बसेर महिलाहरू नाचगान गर्ने समय कहिले आउला ! अझ वृद्धवृद्धा एकै ठाउँमा यसरी नाच्दै व्यायाम गर्ने समय कहिले आउला भन्ने मनमा लागिरह्यो ।
म त्यहाँ बस्दाबस्दै सकियो व्यायाम । सङ्गीत पनि बन्द भयो । म पनि उठेर बिस्तारै अर्को बेन्चमा बस्न गएँ । मर्निङ वाक आउने केही अरु विदेशीलाई पनि देखेँ । अरु नै व्यायाम गरिरहेका मान्छेहरू पनि थिए । म भने झोलाबाट एउटा पुस्तक निकालेर पढेर बस्ने सुरसार गरेँ । मेरो समय अझै बाँकी थियो । यो पार्क आफै नै सहरको बीचमा परेकोले धेरै मान्छेहरूको आवतजावत र घुमघाम भइरहने रहेछ । मेरो मन शान्त थियो ।
एकछिनपछि त्यस्तै ८० वर्षका जस्ता देखिने एकजना स्थानीय वृद्ध मेरो छेउमा आएर कुरा गर्न खोजे । शाङ्हाईको स्थानीय भाषामा बोलेको भएर मैले केही बुझिनँ । बेञ्चमा बस्न खोजेको होला भनी म अलिकति सरिदिएर हातको इसाराले बस्न भनेँ । उनले त मेरो हात तानेर मेरो हत्केला हेर्दै के के भन्न पो थाले । मैले केही बुझिनँ । अचम्म मानेर हेरिरहेँ ।
एकजना ५५–६० वर्षको भलादमिले हामीलाई देखिरहेका रहेछन् । उनी अंग्रेजी पनि बुझ्ने मान्छे भएकोले मलाई सहयोग गर्न दोभासे बनेर अघि सरे । मलाई कुरा बुझाउँदै भने– यी बुढा तिम्रो हात हेरेर भाग्य हेरिदिन खोज्दै छन् । त्यसको निम्ति ५ युआन पैस पनि माग्दैछन् ।
म जिल्ल परेँ– हाम्रो रत्नपार्कतिर बस्ने जोखना हेर्न मान्छेहरूको सम्झना आयो । मैले ‘म त मर्निङ्ग वाक आएको मान्छे मैले पैसा बोकेको छैन, र मलाई भाग्य देखाउने इच्छा पनि छैन’ भनिदिएँ । उनले त्यही कुरा उल्थागरेर त्यो बुढा मान्छेलाई सुनाइदिए ।
चिनियाँ समाज त बिस्तारै बिस्तारै घुम्न थालेपछि पो बुझ्दै थिएँ । यस्ता बुढा भैकन पनि पैसाको निम्ति हात हेर्ने मान्छे पनि रहेछन् । त्यसपछि ती दोभासेले आफ्नै हात दिएर हेरिदेउ भने । एकछिन हेरेर केके भने कुन्नी, बुढा मान्छे उठेर गए ।
अनि मैले चिनियाँ भाषामै ती हात देखाउने मान्छेसंग सोधें ‘तपाइको भाग्य कस्तो रहेछ त ?’ उनी हाँस्दै मैसंग सोध्छन् ‘कस्तो भने होलान् मेरो अनुहार हेरेर तिमीले अनुमान गर्न सक्छौ…? ’ ‘खोइ मलाई त कसैको भाग्य हेर्न आउँदैन’, मैले भनें ।
उनी अलि रमाइलो र गफ गर्न मन गर्ने मान्छे रहेछन् । “उसले त मलाई ‘एकदम भाग्यमानी मान्छे’ भन्यो, तिमी पत्याउँछौ मेरो अवस्था देखेर…?’’ मैले भनें– “होला जस्तै लाग्छ !’’
उनले आफ्नो कथा सुनाउन थाले – “हेर त मेरो आँखा वरिपरी कति माछाका पुच्छरहरू आइसके । एउटा पुरानो शर्ट लगाइरहेको छु– कलर खुइलिसकेको छ, कसरी भाग्यमानी हुन सक्छु र !’’
उनीसंग कुरा गर्दा मलाई पनि रमाइलो लाग्न थाल्यो, समय कटाउनु पनि थियो अझै । मैले भने – “भाग्यको परिभाषा त्यतिले मात्र पुग्छ र ! तपाई के गर्नु हुन्छ ?… परिवार कस्तो छ ?…“हाँसीहाँसी कुरा गरिरहेका मान्छेको अनुहार एकाएक अंध्यारो भयो । अनुमान गर्न सक्छौ ? मेरो त परिवारै छैन, बिहे नै गरेको छैन, बच्चाहरू कहाँबाट होस् ! म एकजना रिटायर्ड ट्रेडिशनल डाक्टर पनि हुँ । जीवन मैले यसरी नै बिताइसकें । ‘तिमी त जवान छौ’…, त्यो बेलाको कुरा हो ।
म जवानै पनि थिएँ हुँला । उनको आँखामा एक विद्यार्थी पनि थिएँ । मैले जानेको शिक्षा तिमीलाई सिकाई दिन्छु हुन्छ ? यो कुरा सुनेर म एकछिन् छक्क परें । उनले एकछिनमा आफ्ना सारा कथा व्यथा सुनाएर आफ्नो ठेगाना पनि दिए ।
कुनै पनि बेला चिनियाँ परम्परागत मेडिसिन सिक्न मन लाग्यो भने मलाई सम्पर्क गर्नु’… भने । सिक्न त मलाई अकुपञ्चर सिक्ने मन थियो । त्यसैले पैसा तिरेरै चाङ लाउश्रसंग सिक्न पनि थालेकी थिएँ । पछि समय मिलाउन सकिनँ ।
म सित्तै सिकाई दिउँला पैसा पनि चाहिदैन । मेरो आफ्नो पेन्सनले मलाई पुग्छ । म खाली आफूसंग भएको ज्ञान बाँड्न चाहन्छु, कसैलाई छोडेर आनन्दसंग मर्न चाहन्छु ।’
संसारमा मान्छे पनि थरिथरिका एकछिनमा, एक डेढ घण्टाको बिचमा, कति थरिका मान्छेहरू देख्न पाएँ । ८० वर्ष जस्तो देखिनेले मेरो इच्छाबिना आफैले तानेर हात हेरिदिएर ५ युआन माग्ने मान्छे, सुमधुर लाउरन् डिस्को गरिरहेकाहरू, कोही कोङ्–फÞु प्राक्टीस गर्नेहरू त कोही यस्तो आफैले चाइनिज मेडिसिन सिकाईदिन्छु पैसाबिना भन्नेहरू ।
एकै छिनमा यो मान्छेसंग एक किसिमको घनिष्टता जस्तो पनि भयो । मसंग उनले केही मागेनन् । म पढ्ने युनिभर्सिटिको नाम सोधे, भनिदिएँ । ‘नाम चलेको राम्रो युनिभर्सिटी हो’ भने । मेरो नामसम्म पनि सोधेनन् । राम्रो पढेर राम्रो मान्छे बन्नु है भने । मैले स्ये स्ये’ भनें ।
‘तिमीलाई भेटेर मेरो बिहानी राम्रो भयो’ भने । जवाफमा मैले पनि यस्तै भनें । वास्तवमा यो मान्छे भेटेर चीनलाई अझै थप बुझ्न भ्याएँ । यो दुई घण्टाको समय सार्थक भयो ।