Logo
Logo

बाढी पहिरोले सडक र पुलमा २५ अर्बको क्षति


189
Shares

काठमाडौं । बाढी पहिरोले सडक तथा पूलको क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको सरकारले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायीरूपमा गाडी चलाउनका लागि साढे २ देखि ३ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको छ । यस्तै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

झ्याप्ले खोला पहिरो

बाढी पहिरोले ३४ वटा राजमार्गका ८ सय ५ ठाउँमा सडक अवरुद्ध भएकोमा ७ सय ७४ ठाउँको पहिरो हटाएर गाडी चलाउन थालिएको पनि मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको सिन्धुली खण्ड र अरनिको राजमार्गको तातोपानी पुग्ने सडकमा गाडी चल्नेगरी मर्मत गर्नसमेत समस्या भएको मन्त्री देवेन्द्र दाहालले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले ५ वटा मुख्य राजमार्गका ३१ ठाउँमा अझै अवरुद्ध रहेको बताउनुभयो । अरनिको राजमार्गको लार्चा–कोदारी खण्डमा भोटेकोशीले दुई वटा पुल बगाएकोमा लार्चामा ह्युम पाइप राखेर र लिपिङमा बेलिब्रिज राखेर अस्थायीरूपमा सडक बनाउने सरकारको तयारी छ । तर दशैँअघि यी काम हुनेमा सरकार नै अन्योलमा छ ।

बीपी राजमार्गमा भने १२ किलोमिटर सडक पूर्णरूपमा बगेकाले सबै विकल्प अपनाएर सकभर चाँडोभन्दा चाँडो निर्माण थालिने सचिव शर्माले बताए । तर दशैँअघि बीपी राजमार्ग सञ्चालनको सम्भावना छैन ।

अहिले काठमाडौं–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्