Logo
Logo

 प्रधानमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गरौँ: प्रभु साह


378
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरूलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन् । 

बाढीपहिरोको विपत्तिले सयौँको संख्यामा नागरिकले ज्यान गुमाएको र अझै दर्जनौँ बेपत्ता रहेको अवस्थामा सरकार लुकेर बसेको भन्दै साहले सार्वजनिक रूपमै प्रधानमन्त्री ओली र मन्त्रीहरूलाई बहिष्कार गर्नुपर्ने बताए ।

चाडपर्वको मुखमा प्राकृतिक विपत्तिमा परेर नागरिकको निधन हुँदा पनि प्रधानमन्त्री ओली भने बालुवाटारको खोपीमा मस्त बनेको साहको आरोप छ । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा साहले अहिले मुलुकमा सरकार नै नभएको आभास भएको बताए । 

उनले देशमा नागरिक मर्दा विदेश सयर गर्ने, स्वदेश फर्किएपछि विपत्तिलाई मजाक गरेर उडाउने र बालुवाटारको खोपीमा मात्रै बस्ने प्रधानमन्त्री जनतालाई नचाहिएको बताए । 

‘देशमा अहिले सरकार छैन । नागरिकले यत्रो विपत्ति सामना गर्नुपरेको छ । सयौँको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्था छ, तर प्रधानमन्त्री र मन्त्रीहरू कहीँकतै देखिनुभएन । पीडितहरूले सरकार सरकार भनेर गुहारेको अवस्था छ । तर, सरकारका कोही पनि मन्त्रीहरू मैले प्रभावित क्षेत्र र पीडितहरूको घरमा पुगेको देखिनँ । यो सरकार खासगरी प्रधानमन्त्री ओलीसँग मानवीय समवेदना भन्ने चिज रहेनछ । उहाँ एकदमै निर्दयी देखिनुभयो’ आजपा अध्यक्ष साहले भने । 

देशमा यत्रो प्राकृतिक विपत्ति आउँदा र नागरिकले ज्यान गुमाइरहँदा प्रधानमन्त्री ओली अमेरिकामा अनावश्यक रूपमा बसेर दिन काटेको भन्दै साहले आलोचना गरे । 

घटना घटेको यत्तिका दिन बितिसक्दापनि सरकारका प्रत्यक्ष सरोकार राख्ने गृहमन्त्री र क्षामन्त्रीहरु घटनास्थलमा नपुग्नु दुःखद विषय भएको उनको टिप्पणी छ ।

उनले भने,‘पीडितहरूलाई बरु सहयोग गर्न सामाजिक सङ्घसंस्थाको उपस्थिति देखिएको छ। तर, सरकार देखिएन । सरकारका मन्त्रीहरू काठमाडौंमा मस्त छन् । उनीहरूमा कुनै संवेदनशीलता देखिएन । यस्तो सरकार र मन्त्रीहरू जनतालाई किन चाहियो ? अब सार्वजनिक रूपमै बहिष्कार गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्