Logo
Logo

मेक्सिकोमा नेपालीसहित ३३ आप्रवासी सवार गाडीमा गोली प्रहार, ६ को मृत्यु


315
Shares

काठमाडौं । मेक्सिकन सेनाले दक्षिणी क्षेत्रमा नेपालीसहित विभिन्न देशका ३३ आप्रवासी सवार गाडीमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आप्रवासीहरू इजिप्ट, नेपाल, क्युवा, भारत र पाकिस्तानबाट आएको बताएको छ । यद्यपी मृत्यु हुनेहरू कुन देशका हुन् भनेर जानकारी दिएको छैन ।

ग्वाटेमालासँगको सीमाबाट करिब ४० किमि उत्तरमा तीव्र गतिमा गुडिरहेको गाडीलाई मेक्सिकन सेनाले रोक्न खोजेको, तर आप्रवासीको गाडी नरोकिएपछि गोली चलाएको विज्ञप्तिमा उल्लेख छ ।

गोली प्रहार गर्ने सैनिकहरू निलम्बनमा परेका छन् । मेक्सिकोबाट अवैध रूपमा आप्रवासीहरू अमेरिका प्रवेश गर्ने गरेका छन् । यसलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ ।

गोली लागेका चारजनाको घटनास्थलमै र थप दुईजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । गाडीमा सवार बाँकी १७ यात्रुलाई अध्यागमन कार्यालयमा बुझाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

मेक्सिकोसँगको कूटनीतिक मामिला हेर्ने अमेरिकास्थित नेपाली कार्यवाहक राजदूत कुमार खरेलले घटनामा नेपाली रहे–नरहेकोबारे औपचारिक रूपमा जानकारी नभएको बताए ।

विभिन्न बाटो हुँदै सुरुमा ब्राजिल पुग्ने गरेका नेपाली त्यसपछि पेरु, कोलम्बिया, पनामा, ग्वाटेमाला हुँदै मेक्सिको पुग्ने गरेका छन् । त्यसपछि उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्