Logo
Logo

बीपी राजमार्गबाहेक तीन दिनभित्र देशका सबै राजमार्ग सञ्चालनमा आउने


252
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका सबै राजमार्ग सञ्चालनमा आउने बताएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले यस्तो बताएका हुन् ।

उनले असोज ११ र १२ गतेको भीषण वर्षाबाट बाढीपहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी जानकारी दिए । बीपी राजमार्ग सञ्चालन गर्न भने समय लाग्ने उनको भनाइ छ ।

सो राजमार्गको १२ किलोमिटर सडक बगेकाले अस्थायी सडक बनाएर सञ्चालन गर्न पनि कठिनाइ रहेको सांसदहरुलाई जानकारी गराए । उनले बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरो गएको र ७७४ स्थानको पहिरो हटाइएको जानकारी गराए ।

अझै पाँचवटा राजमार्गका २१ स्थानमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धारकार्य उद्धार प्रयास भइरहेको बताए ।

उनले भोलिदेखि कान्तिराजपथ सञ्चालनमा आउन सक्ने बताए । कान्ति राजपथअन्तर्गत छपेलीदेखि बगुवासम्म बाटो खुला रहेको र बागमती नदीको १५ मिटरको भाग कटान भएकोले नेपाली सेना र सडक विभागका कर्मचारीले सडक मर्मतको काम गरिरहेको जानकारी दिए ।

यस्तै, अरनिको राजमार्ग पनि तीनदिनभित्र सञ्चालनमा ल्याउनको लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । लिपिङ खोलासम्म बाटो खुला रहेको लिपिङको पुल भत्केकोले डाइभर्सन गर्न समस्या रहेको र बेली ब्रिज बनाएर सीमासम्म ३ दिनभित्र बाटो खुला गर्नका लागि मन्त्रालय लागि परेको संसदीय समितिमा जानकारी गराए ।

फूलपातीपछि मजदुर तथा डोजर चालकले काम गर्न नमान्ने हुँदा छिटो काम गराउन समस्या रहेको र त्यस अगाडि जति काम गर्न सकिन्छ मन्त्रालय लागि परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्