Logo
Logo

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री


189
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताएका छन् ।

आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताए ।

मन्त्री राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्केका हुन् ।

मन्त्री राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको पनि जानकारी दिए । उनले भने, ‘यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौँ वास्तवमा त्यस्तो अवस्था पनि होइन । तथ्य र तथ्याङ्कहरुमा हेर्दा नेपालको अवस्था नाजुक छैन । हामी दिगो विकास लक्षको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौँ । तर कतिपय देशको त अहिले पनि १७ प्रतिशत मात्र प्रगति भएको पनि देखिएको छ । हाम्रो अवस्थालाई हामीले सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्छ ।’

एक प्रश्नमा उनले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत् हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिए ।

उनी क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएका थिए । सो बैठकका क्रममा उनले विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

त्यसपछि उनी संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभा र समिट अफ द फ्युचरमा सहभागी भए । सो कार्यक्रमपछि कतारको दोहामा बुधबार र बिहीबार आयोजित एसिडीको तेस्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर सहभागी भएका थिए ।

यी महत्वपूर्ण बैठकहरुमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरु अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेका समस्याहरु विश्व समुदायलाई सुनाउने र नेपाललाई आवश्यक सहयोगका लागि अपिल गर्ने काम गरेको पनि उनले सुनाए ।

त्यसैगरी नेपालमा शान्ति प्रक्रिया, महिला सशक्तीकरण एवं प्रजनन अधिकारका क्षेत्रमा भएका प्रगतिबारे पनि उनले ती फोरमहरुमा जानकारी दिएका थिए ।

आफूले यसपटक अतिकमविकसित मुलुकहरूका तर्फबाट जि–२० का विदेशमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै यी मुलुकहरूलाई हाल प्राप्त सहयोग थप अभिवृद्धि गर्न अनुरोध गर्नुका साथै प्रमुख अन्तर्राष्ट्रिय सङ्घसंस्थामा अतिकमविकसित मुलुकको प्रतिनिधित्व बढाउन समेत जरुरी रहेको कुरा उठाएको उनले बताए ।

साथै, भूपरिवेष्ठित विकासशील देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यी देशहरूका विकास चुनौतीहरू सामना गर्न वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक व्यापार प्रवर््द्धनसम्बन्धी सहयोग तथा पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्ने विषयमा जोड दिएको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्