Logo
Logo

नेपालमा पर्यटक नआउनुको कारण कसले खोज्ने ?


पूर्णहरि अमात्य

315
Shares

सिंगापुरजस्तो सिटी स्टेटले सन् २०२३ मा चार करोड ५० लाख पर्यटकलाई स्वागत ग-यो भने हामी भने यस वर्षका लागि १६ लाख पर्यटक आउने आशमा छौँ, जुन पूरा नहुने स्पष्ट देखिन्छ किनकि, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको दुरावस्था, नेपालको प्रमुख पर्यटक गन्तव्यहरु जोड्ने काठमाडौँ–पोखरा तथा नारायणगढ–बुटवल सडकखण्ड वर्षौँदेखि निर्माणाधीन अवस्थामा छ ।

आन्तरिक तथा विदेशी पर्यटक उक्त राजमार्गबाट यात्रा गर्न चाहँदैनन् । तर, सडकको विकल्पमा रहेको हवाई यात्रा पनि सुरक्षित छैन । यती, सौर्य एयरलाइन्स र त्यसको लगत्तै नुवाकोट हेलिकोप्टर दुर्घटनामा चिनियाँ प्राविधिकहरुको मृत्यु हुनाले नकारात्मक सन्देश गएको छ ।

सिंगापुर भनेको सात सय ४ किलोमिटर सीमित क्षेत्रफल भएको मुलुकले करोडौंको संख्यामा पर्यटक कसरी भित्र्याउन सफल भयो भन्दा त्यसको श्रेय सिंगापुर एयरलाइन्सलाई जान्छ । त्यहाँको राष्ट्रिय ध्वजावाहक सिंगापुर एयरलाइन्ससँग अत्याधुनिक एयरबस–३५० र ३८० (पाँच सय ५५ सिट क्षमताको डबल डकेर जहाज) र त्यसैगरी बोइङ–७३६ र ७८७ गरी एक सय ५६ विमान छ ।

एयरबस ३८० जस्तो डबलडेकर मात्र होइन, बोइङ ७८७–१० सिरिजको अल्ट्रारेन्जको विमान सञ्चालन गर्ने एसियाको थोरै एयरलाइन्समध्ये सिंगापुर एयरलाइन्स एक हो । यसको तुलनामा नेपाल एयरलाइन्सले २२ वर्षसम्म एउटा जेट विमान पनि खरिद गरेन, राम्रोसित सञ्चालनमा रहेको बोइङ ७२७ सिरिजका विमान कमिशनको लोभमा बिक्री ग-यो । धन्न, सुगरत्न कंशाकारले चारवटा न्यारोबडी, दुईवटा वाइडबडी जहाज किन्यो र निगमको शाख जोगियो । नभए निगम बन्द भइसक्थ्यो ।

पञ्चायतीकालमा तत्कालीन शाही नेपाल वायुसेवाको काठमाडौं–फ्रयाकफर्ट हवाई सेवा हुँदा उक्त एयरलाइन्सबाट वर्षमा ३९ हजार जर्मन पर्यटक नेपाल भित्रिएका थिए । तर नेपाल एयरलाइन्सको फ्लाइट त्यहाँ नहुँदा जर्मन पर्यटकको नेपाल आगमन १९ हजारमा झ¥यो । त्यसैगरी काठमाडौंबाट पेरिस सोझो विमान सेवा हुँदा ३३ हजार फ्रेन्च पर्यटकले एक वर्षमा नेपाल भ्रमण गरेका थिए । तर उक्त फ्लाइट बन्द भएपछि त्यो संख्या २१ ह्जारमा झ¥यो ।

त्यस्तै, काठमाडौं–लण्डनबीच सोझो हवाई सेवा हुँदा वर्षमा ४३ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए भने उक्त फ्लाइट बन्द भएपछि ३२ हजारमा ओरालो लाग्यो । यसबाट के स्पष्ट हुन्छ भने जुन मुलुकको राष्ट्रिय ध्वजावाहक व्यवस्थित हुन्छ, त्यहाँ पर्यटक आगमन ठूलो संख्यामा हुँदोरहेछ भन्ने सावित भएको छ ।

सिंगापुरको तुलनामा नेपालमा पर्यटकलाई आकर्षित गर्ने उच्च हिमालदेखि पहाडी मनोरम प्राकृतिक सुन्दर स्थलहरु छन् । तराईका सुन्दर हरिया फाँटहरु जहाँ कोशी टप्पु राष्ट्रिय निकुञ्ज, पर्सा, बर्दिया, शुक्लाफाटाजस्ता राष्ट्रिय निकुञ्जहरुमा वन्यजन्तुको अवलोकनबाट पर्यटकहरु रोमाञ्चित हुन सक्छन् । तर दुर्भाग्य यति धेरै प्राकृतिक सम्पदा भएर पनि हामीले पर्यटक भित्र्याउन सकेका छैनौं ।

हाम्रा उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायदेखि मगर, गुरुङ, थकाली, बाहुन, क्षेत्री, नेवार, थारू, दनुवार आदि समुदायहरुको जीवन्त मौलिक संस्कृतिहरु आफैँमा एउटा विशिष्ट पर्यटकीय प्रडक्ट हुन्, जसको हामीले बजारीकरण गर्न सकेका छैनौं । माल पाएर चाल नपाउने भनेको यही हो ।

२१औँ शताब्दीका पर्यटक ज्यादै चेतनशील छन् । उनीहरु कुनै पनि गन्तव्य भ्रमणमा निस्कनुभन्दा अघि त्यहाँको सम्पूर्ण जानकारी लिएर मात्र यात्राका लागि निस्कन्छन् र, आजका पर्यटक सुटटाई लाएर होइन, चिल्लो टल्कने मार्बल छापिएको कोठाको कल्पना गर्दैनन् । बरु त्यसको साटो स्थानीय मौलिक संस्कृतिअनुसारका सफा, सुग्घर बासस्थान, रैथाने खानपिनका साथै स्थानीय संस्कृतिहरुमा रमाउन मन पराउँछन् ।

यस्तो स्पेशल इन्ट्रेष्ट भएका पर्यटकहरु इजरायली पर्यटकजस्तै मोलमोलाइ गर्दैनन् । र त्यस्ता पर्यटकलाई युनिक अनुभव, प्राप्त भई सन्तुष्ट भएमा जति पनि मूल्य तिर्न तयार हुन्छन् । बिबिसी, सिएनएनजस्ता ख्यातिप्राप्त सञ्चारमाध्यमहरुका साथै ‘लोनलि प्लानेट’ तथा ‘ट्रिप एडभाइजर’जस्ता वेबसाइटहरुले नेपाललाई एउटा विशिष्ट पर्यटकीय गन्तव्य भनी वर्षौैँदेखि नेपाललाई प्रस्तुत गरिरहेको भए पनि महँगो हवाई गन्तव्य भएको कारण युरोपियन पर्यटक ह्वात्तै घटेको छ ।

नेपाल सरकारको अकर्मण्यताले वार्षिक ३५ लाख पर्यटकलाई आतिथ्य प्रदान गर्ने क्षमता हुँदाहुँदै पनि १२ लाखभन्दा बढी पर्यटक नेपालले भित्र्याउन सकेको छैन । पर्यटन भनेको डलर कमाउने व्यापार हो । पर्यटनको बहुआयामिक प्रभावहरु हुन्छन् । पर्यटनसँग लाखौं रोजगार जोडिएका छन् । त्यस्तो क्षेत्रलाई सरकारले उपेक्षा गरेको छ ।

आजको स्याटेलाइट र ड्रोन र गुगलबाट कुनै पनि पर्यटकीय गन्तव्य मुलुकको बारेमा धेरै कुरा जान्न सकिन्छ । तर हामीचाहिँ उही दशकौं पुरानो नियम कानुन तेस्र्याएर टूर सञ्चालकहरुलाई दुःख दिइरहेका छौँ ।

आजका पर्यटकहरु बढी भीडभाड हुने ठाउँको साटो दुर्गम कुनाकाप्चाहरुमा त्यहाँको मौलिक संस्कृतिमा समुदायसित आफ्ना फुर्सदका क्षणहरु अविस्मरणीय बनाउन चाहन्छन् । रोमन सभ्यताको केन्द्र इटालीको बार्सिलोना सहरको जनसंख्या १६ लाख छ । तर त्यहाँ पर्यटक साढे तीन करोड पुग्दारहेछन् । त्यत्रो ठूलो संख्यामा विदेशी पर्यटक आउँदा उनीहरुको शान्त वातावरणलाई पर्यटकले खल्बल्याए भन्दै ‘टुरिष्ट गो होम’को ब्यानर लिएर नारा जुलुसमै निस्किएको कुरा सुन्दा हामीलाई उदेक लाग्थ्यो ।

काठमाडौं, पोखरा, चिवतन, लुम्बिनी र सगरमाथा आधार शिविर नेपालका बहुप्रचारित पर्यटकीय गन्तव्य हुन् । तर यसबाहेक सुदूरपूर्वको धनकुटा, इलाम, ताप्लेजुङ, भोजपुर, खोटाङ, पाल्पा, तनहुँ, स्याङ्जा, डडेल्धुरा, हुम्ला, डोल्पा र दाङका विशाल हरिया फाँटहरु तथा रारा, सेफोक्सुण्डो र खप्तडजस्तो सुन्दर प्राकृतिक गन्तव्यको हामीले हालसम्म प्रवद्र्धन गर्न सकेका छैनौं ।

पर्यटन गतिविधिहरु सीमित ठाउँहरुमा मात्र केन्द्रित छन् । संघीय ढाँचामा तीन तहको सरकार छ । तर प्रदेश सरकार र संघीय सरकार सत्ताको लुछाचुडीमा व्यस्त रहँदा पर्यटनजस्तो आर्थिक लाभ दिने विषय उनीहरुका लागि गौण भएका छन् ।

नकपुरधामजस्तो नेपालको एउटा प्रसिद्ध तीर्थस्थलको प्रवद्र्धनको सवालमा संघीय, प्रदेश र स्थानीय सरकारको बीचमा कुनै तालमेल नै छैन । यो समस्या यहाँको मात्र होइन, धेरै नेपालका अन्य पर्यटन गन्तव्यहरुमा विद्यमान छन् ।

इजरायल–प्यालेस्टाइन युद्ध, रुस–युक्रेन युद्धले गर्दा नेपालमा पर्यटक आगमनमा ह्रास आएको भनी एकथरिको भाष्य निर्माण गरेको सुनिन्छ । जस्तोसुकै अशान्त वातावरणमा पनि पर्यटकहरु धेरै थोरै भ्रमणमा निस्कन्छन् । किनकि, मानिस स्वभावैले दैनिक निर्धारित रुटिन वर्कबाट वाक्कदिक्क भई तनावबाट मुक्त हुनका लागि नयाँ नयाँ ठाउँको खोजीमा भौतारिने परम्परा छ ।

नेपालले हरेक वर्ष लण्डनमा हुने ट्राभल मार्ट र बर्लिनमा हुने आइटिबी मार्टजस्ता सेलर र वायर (ट्राभल)को मेलामा भाग लिँदै आएको दशकौं भयो । तर नेपाल सरकारको खरिद ऐनको कारणले नेपाल टुरिजम बोर्ड उक्त कार्यक्रमहरुमा सहभागी हुन सकेन । सुन्दा पनि लाजमर्दो कुरा । विदेशमा प्रचार प्रसार नगरी पर्यटन प्रवद्र्धन हुन सक्दैन भन्ने सामान्य कुरा पनि सरकारको एउटा निकायले बुझ्न नसक्दा त्यसले नकारात्मक प्रभाव पारेको छ ।

त्यसैगरी, उच्च अदालतमा विचाराधीन मुद्दाको नाममा १० महिनासम्म नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन रह्यो । नेपालजस्तो पर्यटकीय प्रोडक्ट नभएको भुटान, माल्दिभ्स र श्रीलंकाले नेपाललाई आउँदो समयमा पर्यटनको क्षेत्रमा उछिन्न बेर छैन ।

कोलोम्बो एयरपोर्टमा केही वर्षअघि तामिल उग्रवादीहरुले पार्किङमा रहेका श्रीलंकन एयरलाइन्सका विमानहरुलाई ध्वस्त बनाएपछि उक्त एयरलाइन्सले मध्यपूर्वका इत्तिहाद एयरलाइन्ससँग रणनीतिक साझेदार बनाएर श्रीलंकन एयरलाइन्सले आफ्नो सेवा पुनः सफलताका साथ सञ्चालनमा ल्यायो ।

तर हाम्रो नेपाल एयरलाइन्सले चारवटा एयरबस पनि सुचारु रुपले चलाउन सकेको छैन, भएको जहाज पनि समयमा मर्मत गर्न नसकेर ग्राउण्डेड गरेको छ । जसका कारण निगमले अर्बौै क्षति व्यहोर्नुपरेको छ । नेपाल एयरलाइन्स डुब्नमा राजनीतिक नियुक्ति र भ्रष्टाचार प्रमुख कारण हो । अब नेपाल एयरलाइन्सलाई जोगाउने हो भने विदेशी साझेदार ल्याउनैपर्छ । नत्र नेपाल एयरलाइन्स डुब्ने कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्