Logo
Logo

संक्रमित युवा २३ घण्टापछि आइसोलेसनमा, जो ४९ जनाको समूहमा भारतबाट आएका थिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

दैलेख, ७ जेठ । कोरोना पुष्टि भएको २३ घण्टापछि संक्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो संक्रमित युवाको उपचारमा अन्योल देखिएपछि २३ घण्टापछि दैलेखको आइसोलेशनमा ल्याइएको हो । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो ।
संक्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली मंगलबार दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो ।
स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना संक्रमणको आशंका गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका थिए । उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएका खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।
संक्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
यस्तै, कोरोना संक्रमित युवा भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरमा काम गर्ने गरेको खुलेको छ । आग्राबाट ४९ सदस्यीय टोली गत चैत १८ गते कञ्चनपुर गड्डाचौकी नाकामा आइपुगेको थियो । उनीहरु त्यहाँ करिब ४५ दिन क्वारेन्टिनमा बसेका थिए ।

जेठ १ गते गड्डाचौकी नाकाबाट आठबीस नगरपालिकाका ३९, ठाँटीकाँधका आठ, दुल्लूका एक र चामुण्डाका एकसहित ४९ जनाको टोलीसँगै नेपाल आएका थिए । सबैलाई आफ्ना पालिकाको क्वारेन्टिनमा राखिएको भएपनि ठाँटीकाँध गाउँपालिकाले चार दिनसम्म क्वारेन्टिनमा राखेर पिसीआर जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको थियो । सत्तलाका युवामा संक्रमण देखिनेबित्तिकै पुनःक्वारेन्टिनमा राखिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।
आठबीस नगरपालिकाका स्थानीयवासीले वडा नं १ लाई तत्काल ‘सिल’ गरी आवश्यक कदम चाल्न सुझाव दिएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिले पालना गर्नुपर्ने नियम गर्न नसकेको, राति समूहमा देउडा खेल्ने, दिउँसो विभिन्न खेल खेल्ने गरेको देखिएकाले यसबारे थप सचेतना अपनाउन सबैलाई आग्रह गरेको स्थानीय वीरबहादुर नेपालीले जानकारी दिए ।
स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको बताए । कर्णाली प्रदेश अस्पतालमा लैजाने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्