दक्षिण एसियामा वंश र परिवारवादी राजनीति एक पुरानो र गहिरो समस्या हो, जहाँ परिवारभित्र राजनीतिक सत्ता र नेतृत्व हस्तान्तरण हुने परम्परा लामो समयदेखि कायम छ । यद्यपि, यो प्रणालीलाई जनताको एक हिस्साले समेत समर्थन गरेको देखिन्छ, यसको दीर्घकालीन परिणामहरू प्रायः नकारात्मक देखिएका छन् । पारिवारिक विरासतको राजनीति अन्ततः राष्ट्रको समग्र विकासमा बाधा पु¥याउने कारणहरू छन् र यसको सुखद अन्त्य हुन नसकेको तथ्यलाई हालैको बंगलादेशको घटनाले देखाएको छ ।
वंश र परिवारवादी राजनीतिको प्रमुख कारणहरू
ऐतिहासिक जरा
दक्षिण एसियाका मुलुकहरूमा लामो समयसम्म राजतन्त्रको शासन थियो । राजा र उनका सन्तानले सत्ताको उत्तराधिकार लिने यो प्रणालीले जनमानसमा नेतृत्वको वंशानुगत अवधारणा स्थापित ग¥यो । आजको समयमा पनि जनता प्रायः नेताहरूको सन्तानलाई राजनीतिक उत्तराधिकारीको रूपमा स्वीकार गर्छन् । भारतको नेहरू–गान्धी परिवार, बंगलादेशको शेख परिवार , पाकिस्तानको भुट्टो परिवार ,श्रीलंकाको राजपक्ष र बन्दरानाइके परिवारजस्ता उदाहरणहरूले यो परम्परालाई निरन्तरता दिएका छन् ।
शक्ति, स्रोत र पहुँच
एकपटक राजनीतिक परिवार सत्तामा पुगेपछि, उनीहरूको पहुँच धेरै क्षेत्रमा फैलिन्छ । यसले अर्को पुस्ताका सदस्यहरूलाई राजनीतिक रुपमा स्थापित हुन सहज बनाउँछ । पारिवारिक नाताले जनतामा परिचय बनाइसकेको हुन्छ र चुनाव जित्नका लागि आवश्यक स्रोतसाधनहरूको सहज उपलब्धता हुन्छ ।
राजनीतिशास्त्री प्रोफेसर मिलन बैष्णबले ‘परिवारवादले केवल सत्तामा पहुँच हुनेहरूलाई नै फाइदा पु¥याउँछ, जसले गर्दा समाजमा अवसरको असमानता अझ गहिरो बन्छ।यसले लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धालाई कमजोर पार्छ, जसले गर्दा नयाँ, योग्य, निष्ठावान र इमान्दार नेतृत्वको आगमनको सम्भावना कमजोर हुन्छ । प्राध्यापक बैष्णबले परिवारवादले लोकतान्त्रिक प्रक्रियामा प्रमुख अङ्गको रुपमा जनताको सहभागिता र प्रतिस्पर्धालाई कमजोर बनाउने निष्कर्ष निकालेका छन् ।
वंशानुगत नेतृत्वले नयाँ व्यक्तिहरूको राजनीतिक प्रवेशमा अवरोध पुर्याउँछ र पार्टीमा आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँछ भन्नेकुरा आफ्नो पुस्तक ध्जभल ऋचष्mभ एबथकः ःयलभथ बलम ःगकअभि ष्ल क्ष्लमष्बल एयष्तिष्अक उल्लेख गरेका छन् । यो पुस्तक दक्षिण एसियाको बंश र परिवारबादी राजनीतिलाई बुझ्न महत्वपूर्ण सामाग्रीको हो ।
कोर्नेल विश्वविद्यालय प्रोफेसर केनेथ रबर्ट्सका अनुसार वंशवादको राजनीति असमानता र भ्रष्टाचारको आधारमा टिक्ने गर्छ । परिवारवादले राजनीतिक नेतृत्वमा स्वार्थ केन्द्रित समूहको वर्चस्व कायम राख्छ, जसले गर्दा समग्र विकास र जनताको उत्थान बन्धित हुन्छ । यसले लोकतान्त्रिक प्रणालीलाई विकृत बनाउँछ र आर्थिक तथा सामाजिक विकासलाई प्रभावित पार्छ भन्ने निष्कर्ष निकालेका छन् ।
त्यस्तै, युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेसर इयान ओचोआले दक्षिण एसियाली राजनीति र परिवारवादमा गहिरो विश्लेषण गरेका छन् । उनका अनुसार, परिवारवादको कारण लोकतन्त्रले दीर्घकालीन समावेशी विकास हासिल गर्न सक्दैन ।
उनले उल्लेख गरेका छन्– परिवारवादी राजनीतिले नयाँ विचार, नयाँ नीति, र नयाँ नेताहरूको उदयलाई रोक्छ, जसले गर्दा देशको राजनीतिक प्रणाली यथास्थितिवादी बन्ने जोखिम हुन्छ । वंशानुगत राजनीति भ्रष्टाचार र पदको दुरुपयोगलाई सहज बनाउँछ, जसले समग्र जनताको हितमा काम गर्न नसक्ने वातावरण सिर्जना गर्छन् ।
लोकप्रियताको मोह
दक्षिण एसियाली समाजमा नेतालाई चलचित्रको नायक जस्तो बुझ्ने परम्परा छ। अभाग समाजका बारेमा टिप्पणी गर्दै स्वर्गीय प्रदिप गिरिले भनेका थिए अभाग समाजले हमेसा नायक खोज्ने गर्छ ।दक्षिण एसिया नायकको खोजीमा भौतारिरहेको समाज हो।नेताहरूलाई नायकको रूपमा हेरिने परम्पराले तिनीहरूका सन्तानलाई पनि योग्य नेता मानिदिन्छ ।
उदाहरणका लागि, बंगलादेशमा शेख मुजीबुर रहमानको लोकप्रियताले उनकी छोरी शेख हसिनालाई राजनीतिमा ल्यायो । पाकिस्तानमा जुल्फिकार अली भुट्टो र उनकी छोरी बेनजीर भुट्टोको लोकप्रियताले बेनजीरको छोरा बिलावल भुट्टोको राजनीतिमा उदय गरायो ।अझ इतिहासको निर्माता जनता हुन् भन्ने मार्क्सबादको प्रस्थापना मान्ने मार्क्सवादको अनुयायी भन्नेहरु अमुक नेतालाई नायक बनाएर उनका सन्तानहरुको सेवामा तल्लीन भएको देख्दा मार्क्स स्वयं जिबित भएको भए के भन्दा हुन् ?
बंगलादेशमा पारिवारिक प्रतिशोध राजनीति
बंगलादेशमा वंशवादी राजनीति भनेको शेख हसिना र खालिदा जियाको राजनीतिक प्रतिस्पर्धामा स्पष्ट देखिन्छ । शेख हसिना बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानकी छोरी हुन् भने खालिदा जिया पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी हुन् । यी दुईबीचको राजनीतिक संघर्षले देशलाई लामो समयसम्म अस्थिर बनाएको छ ।
बंगलादेशमा शेख हसिना र खालिदा जियाबीचको सत्ता संघर्ष व्यक्तिगत र पारिवारिक रूपमै लामो समयदेखि छ । जब शेख हसिनाले सत्ता सम्हाल्छिन्, खालिदा जियाको पार्टीलाई निशाना बनाउने र उनीमाथि भ्रष्टाचारको मुद्दा लगाउँछिन् ।
त्यस्तै, खालिदा जिया सत्तामा हुँदा शेख हसिना र उनका समर्थकहरूलाई कमजोर पार्ने प्रयास गर्छिन् । यो बदलाको राजनीतिले बंगलादेशको राजनीतिक वातावरणलाई अझै विषाक्त बनाएको छ, जहाँ लोकतान्त्रिक प्रक्रियाको सट्टा व्यक्तिगत र पारिवारिक प्रतिशोधलाई प्राथमिकता दिने गरेको छ ।
शेख हसिनाले लामो समयदेखि सत्ता सम्हालिन तर उनको शासनकालमा व्यापक भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका आरोपहरु पनि लागेका छन् । यसले गर्दा बंगलादेशको राजनीति दलीय व्यवस्थामा मात्र होइन, समाजको स्थिरतामा पनि प्रभाव पारेको छ । प्रतिस्पर्धात्मक राजनीति कमजोर हुँदा, सबैतिर किचलो, द्वन्द्व भड्केको छ ।
जब राजनीतिमा योगदान नै नभएका परिवारका सदस्यहरूलाई क्षमतामा भन्दा बढी भूमिकामा प्राथमिकता दिइन्छ, योगदान भएका योग्य, निष्ठावान, इमान्दार नेताहरूले अवसर पाउँदैनन् । यसले दीर्घकालीन प्रगतिलाई अवरुद्ध गर्छ । पार्टीहरू कमजोर बन्दै जान्छन ।
नेपालमा पनि ठूला राजनीतिक दलहरूमा नेताहरूको उदय, विकास वंशवादी÷पारिवारिक नेताहरूको कारण अबरुद्ध छ, जसले गर्दा राजनीतिक सुधारमा ढिलाइ भएको छ । यो बंशवादको महारोगले नेपाली काँग्रेस, एमालेसहित माओवादी केन्द्र सबैलाई बलियो गरि गाँजेको छ । इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेता तथा कार्यकर्ताभन्दा पारिवारिक, तिनका आसेपासे भुइँफुट्टाहरूको हातमा पार्टी र राजकीय सत्तामा हालीमुहाली बढिरहेको छ ।
वंशवादी÷पारिवारिक राजनीतिमा शक्तिको दुरुपयोग र भ्रष्टाचारको सम्भावना बढ्छ । जब एकै परिवारले सत्तामा लामो समयसम्म नियन्त्रण राख्छ, तिनीहरूले सरकारी स्रोतसाधनको दुरुपयोग गरेर आफ्ना स्वार्थ पूरा गर्न सक्छन् ।
श्रीलंकामा राजपक्षे परिवारले सत्तामा लामो समय बसेर भ्रष्टाचार र अधिनायकवादलाई प्रोत्साहन गरेको उदाहरण यसमा लागू हुन्छ । वंशवादी राजनीतिले जनतामा राजनीतिक प्रणालीप्रति विश्वासको कमी ल्याउँछ । जब जनताले आफ्ना प्रतिनिधिहरूलाई उत्तरदायी ठान्न सक्दैनन्, तब लोकतान्त्रिक मूल्यहरू कमजोर हुन्छन् ।
भारतमा पनि यो देख्न सकिन्छ, जहाँ नेहरू–गान्धी परिवारको राजनीतिले धेरै समयसम्म प्रभुत्व जमाउँदा जनतामा असन्तुष्टि फैलिएको थियो । यसै कारण भाजपा जस्तो अतिबादी दक्षिणीपन्थी हिन्दुवादी पार्टी भारतको केन्द्र सरकारमा लामो समयदेखि कायम छ । तेस्रो कार्यकालको यात्रामा छ अहिले मोदि नेतृत्वको भाजपा ।
वंशवादी राजनीतिले दीर्घकालीन रूपमा जनतामा असन्तोष र राजनीतिक अस्थिरता निम्त्याएको छ । ऐतिहासिक जरा, शक्ति र स्रोतमा पहुँच र जनताको लोकप्रियताको मोहले यो क्षेत्रमा पारिवारिक सदस्यहरू आए पनि यसले प्रणाली, जनसेवाको कामलाई प्रभावकारी बनाउन सकेको छैन । कतिपय ठाउँमा बदलाको राजनीतिले यसलाई अझ गहिरो बनाएको छ, जहाँ व्यक्तिगत स्वार्थ र प्रतिस्पर्धाले लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध बनाएको छ ।
तत्कालको आकर्षण भएर आए पनि पछि तिनको सम्मानजनक वहिर्गमन अपवाद वाहेक छैन । उनीहरूको पतन हुँदा देशले धेरै गुमाइसकेको हुन्छ ।वंशवादी राजनीतिकै कारण योगदान दिएका योग्य, इमानदार नेताहरूलाई स्थान नदिएर सत्ता हस्तान्तरणको प्रक्रियालाई नै विकृत बनाएको छ ।
राजनीतिक सुधारका लागि योग्य, इमान्दार र नयाँ नेतृत्वको पार्टीमा बन्ध्याकरण गरिएको छ । वंश र परिवारवादी प्रणालीको जरा गहिरो गरी गडेकाले यसलाई चुनौती दिन निरन्तर लोकतान्त्रिक संघर्ष आवश्यक पर्नेछ । लोकतान्त्रिक संघर्षले बिजय हासिल गरेमात्रै यो दुश्चक्रबाट मुक्ति मिल्नेछ ।