Logo
Logo
कला/जम्काभेट

‘म कामविना बस्नै सक्दिनँ’


504
Shares

एक समय ‘छोरी मान्छेले नाच्न, गाउन हुन्न’ भन्ने थियो । रहरले कसैले नाचे, ‘फलानाकी छोरी बिग्रियो’ भन्थे । त्यही समयदेखि नाच्न थालेकी हुन्, मिथिला शर्मा । उनै मिथिला विस्तारै नेपाली कला क्षेत्रमा ‘नृत्यांगना’ मिथिला शर्मा नामले चम्किइन् । १० वर्षकै उमेरमा नाच्न थालेकी कलाकार मिथिला शर्मा अझै नाचेर थाकेकी छैनन् । जबकि, उनी ६० वर्ष टेक्न लागिन् । ‘सायद म नाच्नकै लागि जन्मेकी हुँ’, मिथिला भन्छिन्, ‘अझै नाचेर थाकेकी छैन ।’

उनी निरन्तर कलामार्फत जीवनमा रंग भर्न सक्रिय छिन् । शान्त स्वाभावकी मिथिलाको जीवन पनि सरल र शान्त छ । शालिन र मिठास बोलीकै कारण उनी सबैका प्रिय कलाकार बन्न सफल भएकी छिन् । दजनौँ फिल्म, नाटक, टेलिचलचित्रमा अभिनय गर्दै यहाँसम्म आइपुगेकी वरिष्ठ नृत्य कलाकार मिथिला शर्मासँग रेजिना पाण्डेको जम्काभेट :

यो उमेरमा पनि सुन्दर र फुर्तिलो देखिनुहन्छ । यसको रहस्य के हो ?
म धेरै नाच्छु । व्यायाम गर्छु, सकारात्मक सोच्छु । म आफ्नो कामलाई धेरै माया गर्छु । मेरो कामले मलाई उर्जा दिन्छ । सायद रहस्य यही होला कि ।

नाचेर थाक्नु भएको छैन ?
म नाचेर कहिल्यै थाक्दिनँ । आज ६० वर्षको उमेरमा पनि नाचिरहेको छु । यहाँसम्म आइपुग्दा कहिले नाच्च सिकाउन व्यस्त भएँ, कहिले आफँै नाच्न व्यस्त भए । र, आज पनि यो काममा निरन्तर छु ।

नृत्य र अभिनय कसरी लिनुभएको छ ?
यी दुई मेरो बाँच्ने आधार हुन् । नृत्य र अभिनय मेरो लागि सास हो भन्दा पनि फरक पर्दैन । साधारण भाषामा भन्नुपर्दा यी दुवै मेरो कर्म र भगवान हो । त्यसैले सधैं साधना गरिरहेकी हुन्छु ।

यी दुईबाट के पाउनुभयो र के गुगाउनुभयो ?
गुमाएको केही छैन । साँच्चै भन्ने हो भने यी दुईले मलाई सबै चिज दिएको छ । कलाकारले पाउनुपर्ने इमान इज्जत, नाम र दाम यसैबाट कमाएको छु । मलाई कला क्षेत्रले बाँच्न सिकाएको छ ।

नृत्य र अभिनयमा के फरक छ ?
मलाई चाहिँ खासै केही फरक लाग्दैन । नृत्यमा गीतको भाव बुझेर हाउभाउ र अभिनय गर्नुपर्छ भने अभिनय पनि कथा र पात्रको सारमा चल्ने हो । दुवै एकअर्काको पुरक हुन्् । शब्द र अनुभूतिसँग डुबेर गर्नुपर्छ ।

अब फिल्ममा कस्तो भूमिका गर्ने रहर छ ?
म कलाकार हुँ, सधै नयाँ–नयाँ कथा विषयबस्तुमा केन्द्रित रहेर अभिनय गरिरहुँ जस्तो लाग्छ । हिजोको भन्दा आज फरक गराँै भन्ने लाग्छ । सामाजिक सन्देश बोकेको बलियो कथाहरूप्रति मेरो आकर्षण सधैं बढिरहेको हुन्छ ।

तपाईँ बढीजसाे किन आमाको भूमिकामा देखिनुहुन्छ ?
मेरो क्यारेक्टर हेर्ने नजर उत्कृष्ट लागेर हुनसक्छ । धेरैले यस्तै भूमिकामा प्रस्ताव गर्नुहुन्छ । तर, अरु थप भूमिकामा पनि दर्शकले रुचाउनु भएको छ ।

हिजोआज दिनहरू कसरी बितिरहेको छ ?
उही त हो, नाच्चे, फिल्मको सुटिङ, म्युजिक भिडियो सुटिङ, रियालिटी शोहरूमा जर्जको भूमिका गर्दै आएकी छु । शर्ट मुभिहरूमा पनि व्यस्त छु । घरको जिम्मेवारी त छँदैछ ।

यो उमेरमा पनि कामको निरन्तरता कसरी सम्भव भइरहेको छ ?
हरेक चिजको सम्भव आफंैले बनाउने हो । समय मिलाउनुपर्छ, चाँडो उठेर हुन्छ कि ढिला बसेर हुन्छ । त्यो सबै आफैंले मिलाउने हो । सम्भव भएरै कामलाई निरन्तर दिइरहेकी छु ।

तपाईँको काममा श्रीमानले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
मेरो कामलाई उहाँले ईज्जत गर्नुहुन्छ । उहाँबाट साथ र सपोर्ट पाइरहेकी छु ।

अब त रिटायर्ड लाइफ बिताउँजस्तो लाग्दैन ?
लाग्दैन । म कामविना बस्नै सक्दिनँ । अझ धेरै काम गरुँ जस्तो लाग्छ ।

कलाकारहरू खासै विवादमुक्त हुँदैनन्, तपाईँ कसरी विवादरहित रहन सफल हुनुभयो ?
मैले कामलाई मात्र फोकस गरेँ । मलाई कामबाहेक अरु कुरामा चासो लिनै मन लागेन । कलाबाहेक अन्य क्षेत्रमा चासो दिने फुर्सद पनि भएन ।

नयाँ पुस्ताको अभिनय कस्तो लाग्छ ?
यस क्षेत्रमा अहिले पढेर, बुझेर, सोचेर धेरै कलाकारहरू आइरहेका छन् । नयाँ पुस्ताका कलाकारहरू धेरै राम्रा छन् । मिहिनेती छन् । आफुले अभिनय नगरे पनि नयाँ पुस्ताको सिनेमा हेरिरहेकी हुन्छु ।

तपाईँलाई आफ्नो पेसामा कति सफल छु जस्तो लाग्छ ?
जित र हार, सफल र असफल काम गरेपछि भइहाल्छ । मलाई भगवानको कृपा रह्यो । दर्शक तथा श्रोताको सधैं माया र हौसला पाएँ र पाइरहेँ । यही क्षेत्रबाट नाम र दाम कमाएँ । यो सफलता नै हो ।

तपाईँलाई श्रीमानको के कुराले आकर्षित गर्छ ?
उहाँ सिम्पल र आकर्षक पुरुष हुनुहुन्छ । उहाँको विचार र सोच राम्रो छ । उहाँको बोलीचाली र मिठासपनले मलाई आकर्षित गर्छ । उहाँ सकारात्मक सोचको मान्छे हुनुहुन्छ । यसले गर्दा पनि उहाँसँग सम्बन्ध बढाउन गाह्रो भएको छैन ।

यो उमेरसम्म आइपुग्दा जीवनलाई कसरी बुझ्नुभयो ?
मलाई जीवन सुन्दर लाग्छ । जीवन कल्पना गर्न नसकिने दिव्य बरदान हो जस्तो लाग्छ । यसैले जति सक्छौँ, हासौँ र खुशीमा रमाएर बाँचौँ ।

कला क्षेत्रबाट बाहिर केही काम गर्ने सोच छैन ?
यो सम्भव नै छैन । र, त्यसबारे कल्पना पनि कहिल्यै गरिनँ । मलाई कला क्षेत्रबाहेक अरु काम गर्ने रहर पनि कहिल्यै लागेन । जीवन रहेसम्म कला क्षेत्रमै काम गर्ने सोच छ ।

प्रतिक्रिया दिनुहोस्