Logo
Logo

विपदमा मनोसामाजिक परामर्श


तारा तामाङ ‘सुनाखरी’

3.7k
Shares

सारा देश बाढी र पहिरोले तहसनहस बनाएको बेला कतिको बास छैन, गाँस छैन । कपासको कुरा त टाढै छ, कतिको आफन्तजन गुमाएको पीडाबाट बाहिर आउन सकेका छैनन् । यो अवस्थामा आफ्नो वरपर र प्रभावित भएको, विपदमा परेका बेला बालबालिका, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, फरक क्षमता भएकाहरुको झनै धेरै हेरचाह र मनोसामाजिक परामर्श आवश्यक छ ।

डर लाग्ने, निराश देखिने, निन्द्रा नलाग्ने, भोक नलाग्ने, अरुबेला भन्दा फरक विचार आउने र फरक क्रियाकलाप गर्न मन लाग्ने रिसाउने, झिझ्याउने हात खुट्टा झनझनाउने, टाउको दुख्ने, छाती पेट दुख्ने एउटै कुरालाई धेरैपटक भन्ने, व्यवहारमा परिवर्तन हुने आफूलाई कमजोर महसूस गर्नु वा हीनता बोध गर्नु, आत्महत्याको विचार आउनु इत्यादि मनोसामाजिक समस्या हो । तनाव वा समस्यासँग सामना गर्न नसक्ने हुँदा मानसिक समस्या हुने गर्दछ ।

मानसिक स्वास्थ्य आफैंमा हरेक मानिसको सशक्त हुनुपर्छ तर हाम्रो परिवेशमा मानसिक स्वास्थ्यलाई खासै चासो गरेको पाइन्न । हाम्रो दैनिकी, व्यवहार, सामाजिक, राजनैतिक, आर्थिक, पारिवारिक तथा विभिन्न तहमा आफ्नो भूमिका निर्वाह गर्दै गर्दा निराशापन, उदासीनताले मानिसको मनमस्तिष्कमा घर गरिनै हाल्छ । साँच्चै, संवेगहरुसँग जुझ्नु धेरै गाह्रो र निकै अप्ठ्यारो कुरा हो र संवेगहरुमाथि विजय पाउनु झनै कठिन कुरा हो ।

यस्तै, कठिन परिस्थितिमा आफ्नो मानसिक स्वास्थ्यलाई कसरी सबल बनाउने विपदजन्य घटनाले सबै उमेर समूहलाई प्रभावित बनाउँछ र मनोसामाजिक असरहरु देखिन्छ । यस्ता खाले अस्वाभाविक परिस्थितीले निम्त्याउने साधारण प्रतिक्रिया हो । विपदको बेलामा मानिस नै पिच्छे फरक फरक मनोसामाजिक असरहरु देखिन्छ ।

विपदको बेलामा बालबालिकामा देखिन सक्ने समस्याहरु :

-डराउने ,एकहोरो हेर्ने, अभिभावकसँग टाँसेर बस्ने, कपडामै पिसाब दिसा छोड्ने
-निन्द्रामा गडबडी हुने, तर्सिने र झस्याङ्ग हुने
-खानामा रुची घट्ने
-अरुबेला भन्दा धेरै रिसाउने, झर्को मान्ने
-जिद्दी गर्ने,कुनै पनि कुरामा ध्यान एकाग्रता गर्न न सक्ने
-मनोरन्जनमा सहभागी नहुने, साथीहरुसँग घुलमिल नगर्ने
-उदास देखिने, एक्लोपन महसूस गर्ने ।

यतिबेला बालबालिकाहरु दुर्व्यवहारमा संलग्न हुनसक्ने जोखिम वा आफंै शिकार हुनसक्ने जोखिम उच्च रहन्छ । यो अवस्थामा बालबालिकाहरु धेरै चिन्तित र उदास हुन्छन् । आफ्नो आफन्त, साथीहरु गुमाउने डरबाट त्रसित हुन्छन् । विपदको बेलामा खासगरि बालबालिकामा भावनात्मक, व्यवहारिक, सिकाइजन्य तथा विकासात्मक समयस्या देखिन्छ । बालबालिकाहरुले पहिले एक्लै गर्न सक्ने क्रियाकलापहरु गर्न डराउँछन् । बालबालिकाको मनोसामाजिक समस्यालाई बुझ्नका लागि बालबालिकाभित्रको बालसुलभ स्वभावलाई सक्रिय गराई उनीहरुको परिस्थितिलाई हृदयदेखि नै सम्मान गर्नुपर्दछ । बालबालिकाहरुलाई एक्लै नछोड्ने । सकेसम्म बोल्न लगाउने, रुन्छ भने खुलेर रुन दिने ।

मानिस एक सामाजिक प्राणी हो, त्यही समाजमा फरक विचार फरकमत भएको मानिसहरु बसोबास गर्दछन् र प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न समस्याहरु आउँछ । जीवनमा आइपर्ने समस्या, तनावहरुको सामना गर्न सक्नुनै मनोसामाजिक शिक्षा हो ।

व्यक्तिको वरिपरिको वातावरण, साथ संगत कस्तो छ ? के सोच्नु हुन्छ ? कसरी हेर्नुहुन्छ वा महसुस गर्नु हुन्छ ? तपाईको मानसिक स्वास्थ्य त्यसैमा निर्भर हुन्छ ।

भनिन्छ नि, ‘जस्तो संगत उस्तै रंगत’ यो कुराहरु प्रमाणित भएका छन् । खप्तड बाबाले लेख्नुभएको विचार विज्ञानमा पनि यो कुरालाई दर्शाएको छ । अब विपदको बेला समस्याको सामना वा तनाव कसरीलाई कसरी कम गर्ने वा मनोसामाजिक समस्याबाट कसरी बाहिर आउने आफ्नो मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?

-मनोविमर्श कर्ता संग परामर्श सेवा लिने
-मस्याको समाधान खोज्ने
-एक्लै नबस्ने
-मनपर्ने कुराहरु हेर्ने, सुन्ने, खाने
-प्रकृतिसँग नजिक हुने
-समस्यालाई शेयर गर्ने ।
-आफूलाई मन पर्ने उर्जाशील गीतहरु सुन्ने ।
-समूहमा बस्ने ।
-आफ्नो तनाव भन्दा अरुको समस्या बारे विश्लेषण गर्ने ।
-नुहाइधुहाई गर्ने, सफा बस्ने ।
-आफूभन्दा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने
-आफू आनन्दित हुने कोशिस गर्ने
-आत्मविश्वास बढाऔँ

बाढी, पहिरोजस्ता प्राकृतिक विपदजन्य घटना दीर्घकालीन समस्या हुनसक्छ । यी खाली आघातले मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पर्न सक्छ । तर, वैकल्पिक मार्गहरु खोजेर यो समस्याबाट बाहिर आउने समाधान निकाल्नुनै मानसिक स्वास्थ्यबारे बुझ्नु हो ।

कतिपय अवस्थामा भित्रभित्रै रुमलिएर एउटा घटनाको आघातले अर्को घटना फेरि घट्दा असहनीय भएर शारिरीक समस्या पनि देखिन्छ र पछिपछि विकराल रुप लिएर एक्लै बस्ने, झिझ्याउने, कराउने कुनै काममा रुची नहुने कसैसँग माया, मोह, आफ्नोपन नहुने, एक जिउँदो लाशझैँ बाँचेको पनि हाम्रै समाजमा देख्न पाइन्छ ।

यी सब मनोसामाजिक समस्याहरु हो । साथै नेपालको परिवेशमा खुलेर कुरा गर्ने चलन छैन । अझै नकारात्मक प्रहारले व्यक्तिलाई आत्महत्यासम्म पुर्याउछन् वा हत्यारा बनाउँछन् । यस्ताखाले समाजबाट कहिले बाहिर आएर मानिसको मनोभावको कदरको अपेक्षा राख्न सकिन्छ । शिक्षित हुँदैमा परोपकारी सोच र सबैको मनोभावको कदर हुन्छ भन्ने कुरा पनि गलत साबित भएको छ ।

विभिन्न मनोसामाजिक समस्यासँग जुधिरहँदा आफूलाई वा छरछिमेक, आफन्तलाई सकारात्मक कुराहरुमात्रै गर्ने वा गर्न लगाउने । आफ्नो मित्रहरु, साथीहरुसँग जोडिएर आफ्ना मनका कुराहरु व्यक्त गर्ने । यो अप्ठ्यारो स्थितिमा सबै मिलेर कसरी सामना गर्ने भन्ने विषयमा सामूहिक छलफल गर्ने, आफ्नो वा आसपासको माहौल स्वच्छ राख्ने, शौच बसेको ठाउँबाट टाढा जाने, साबुन पानीले हात धुने र खानेपानी फिल्टर गरेर वा पियुष राखेर पिउने । यी सब कुराले हाम्रो मानसिक स्वास्थ्यलाई सिधैं प्रभाव पारेको हुन्छ ।

मनोविमर्श कुराकानीको माध्यमबाट मानसिक समस्या बाहेकका व्यक्तिलाई संवेगात्मक सहयोगद्वारा समाधानको उपायहरु खोज्न सकिन्छ । मुख्य समस्या के हो र म समस्या हो कि ? समाधान निकालेर बाँच्ने एक मानिस भन्नेबारे ज्ञान हुन्छ । साथै समस्या समाधानको खोजी हुन्छ । साथी, आफन्त प्रतिको विश्वास गर्न सक्ने वातावरणको सिर्जना हुन्छ । समस्याहरु प्रतिको गलत धारणा, बुझाई र मान्यताहरुबारे प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्