Logo
Logo

निती शाह भन्छिन्, ‘जे हुन्छ राम्रैका लागि हुन्छ’


567
Shares

काठमाडौं । नायिका निती शाह असोज २४ गते अर्थात फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ ।

नितीका अनुसार फिल्म ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन् । ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनें । स्क्रिप्ट सुनेको २० मिनेटमै फिल्ममा काम गर्छु भदिनिएँ । यो फिल्मको स्क्रिनप्ले राम्रो छ । मेरो क्यारेक्टर पनि राम्रो लागेकाले काम गर्न सहमत भएँ । फिल्ममा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुुहुन्छ भन्ने थाहा पाएँ’, निती भन्छिन् ।

नितीका अनुसार फिल्मको कथा उनकै वरपर घुमेको छ । फिल्मको कथा नै आफ्ना लागि महत्वपूर्ण रहेको उनको भनाई छ । ‘मलाई स्टोरीलाइन मन परेको थियो । फिल्मको कथा मेरै वरपर घुमेकाले पनि यो फिल्म गर्नुपर्छ भन्ने मलाई लाग्यो’, उनी भन्छिन् ।

केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएको थियो । त्यो फुटेजका विषयमा सञ्चारमाध्यममा समाचार नै बने । नितीे टिकटकमा फुटेज सार्वजनिक भएपछि राम्रो रेसपोन्स भएको बताउँछिन् । ‘हाँसीखुशी रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यो अवस्थामा कसरी पुगिन् । यो कसरी सम्भव छ ? भन्ने चासो आम मानिसमा रहेछ । तर मेरो बुझाईमा जे हुन्छ राम्रैका लागि हुन्छ’, निती भन्छिन् ।

फिल्म ‘ज्वाइँ साब’का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न निकै मेहनत गरेकी रहिछन् । ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ । फिल्ममा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु । तर अझ धेरै सिक्न बाँकी छ’, उनी भन्छिन् ।

उनले आफू जितु नेपालको कामबाट प्रभावित भएको खुलाइन् । ‘जितु दाई म भन्दा धेरै सिनियर । तर सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन । उहाँले एकदमै सहजीकरण गर्नुभयो । काम गर्न सजिलो भयो । फिल्मको प्रोमोसनका क्रममा सँगै हिँड्दा उहाँको संघर्षलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यो मेरा लागि ‘इन्स्पायरिङ’ लाग्यो’, नितीले भनिन् ।

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्