Logo
Logo

एनपीएल: १५ लाखमा बिके ललित राजवंशी


441
Shares

काठमाडौं । नेपलाी टोलीका स्पिनर ललितनारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

उनी ग्रेड ‘ए’ क्याटोगोरीमा थिए। उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए । तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी जनकपुर बोल्ट्समा पुगेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी आठ टिमले समान १० खेलाडी खरिद गर्दै छन् । अक्सनको सर्टलिस्टमा कुल १४२ खेलाडी छन्।

१५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन्।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन्  । क्यानले यसअघि नै मार्की खेलाडीले २० लाख पाउने बताएको छ ।

एक टिमले १० खेलाडीका लागि बढीमा ९० लाख खर्च गर्न पाउनेछन्  । नियमानुसार श्रेणी ‘ए’को २७ जना खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतमको १५ लाख रुपैयाँ हुनेछ । यदि उच्चतम मूल्यमा एकभन्दा बढी टिमले दाबी गरेमा गोलाप्रथाबाट खेलाडी कुन टोली जाने निर्धारण हुनेछ  ।

‘बी’ श्रेणीमा रहेका ३८ जना खेलाडीको न्यूनतम मूल्य पाँच लाख र उच्चतम मूल्य १० लाख छ । ७७ जना खेलाडी रहेको ‘सी’ श्रेणी खेलाडीको न्यूनतम दुई लाख र उच्चतम मूल्य पाँच लाख राखिएको छ । यता, विदेशी खेलाडी भने क्लबहरूले आन्तरिक सहमतिमै सम्झौता गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्