Logo
Logo

मुस्ताङ र डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुल्यो


378
Shares

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ ।

संघीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए ।

‘जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ’, उनले भने, ‘गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।’

अध्यक्ष गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुकसाम्बामा बेलीब्रिज बनाउन चालु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनले थप तीनवटा बेलिब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन संघीय सरकारलाई प्रस्ताव गरेको बताए ।

सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको काम अघि बढाएको थियो । २२ करोडको लगानीमा पाक्लिङबाट ५६‍.५ किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो। डोल्पा जोड्ने सडकको प्रवेशविन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत १२० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्रा तीन घण्टामा छोटिएको बताए ।

‘हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्’, उनले भने, ‘छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चौरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन्।’ डोल्पा र राजधानी काठमाडौं जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्