Logo
Logo

झ्याप्लेखोला घटना : धादिङ प्रहरीमाथि अनुसन्धान सुरू


1.9k
Shares

काठमाडौं । धादिङको झ्याप्लेखोला पहिरोमा पुरिएर ३५ जनाको ज्यान गएको घटनामा धादिङ प्रहरीमाथि छानविन सुरु भएको छ । गत असोज ११ गते राति झ्याप्लेखोलामा जाममा रोकिएका बसमाथि पहिरो खस्दा ३५ जनाले ज्यान गुमाएका थिए ।

सरकारले रात्रिबस सञ्चालनमा रोक लगाएको अवस्थामा निर्बाध गाडी चल्न दिएको र झ्याप्लेखोलामा पुरिएका यात्रुको समयमै उद्धार नगरेको विषयमा सार्वजनिक आलोचना भएपछि प्रहरी हेडक्वाटरले आन्तरिक छानबिन थालेको हो ।

खराब मौसमका कारण हुन सक्ने बाढी पहिरोको खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनलाई रात्रि बस सञ्चालनमा रोक लगाउन निर्देशन जारी गरिएको थियो ।

तर जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला सुरक्षा समितिले उक्त सूचना र निर्देशनलाई कार्यन्वयन नगर्दा एउटै दुर्घटनामा ३५ जनाले ज्यान गुमाएका थिए भने ३ वटा गाडी पुरिएका थिए ।

उक्त घटनामा प्रहरीको पनि लापरबाही देखिएपछि प्रहरी प्रधान कार्यालयले एसएसपी सिद्धिविक्रम शाहको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिमा डीएसपी र इन्सपेक्टरसहित तीन जना छन् ।

उक्त समितिले आइतबार धादिङको सदरमुकाम पुगेर जिल्ला सुरक्षा समिति र प्रहरी नेतृत्वसँग सोधपुछ गरेको छ । यस्तै घटनास्थलको पनि अवलोकन गरेर टोली फर्किएको छ । समितिलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ ।
यता उक्त घटनापछि धादिङका एसपी गौतम केसी र सीडीओ राजेन्द्रदेव पाण्डे भने सरुवा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्