वासिंगटन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक रिहाइ र गाजामा युद्धविरामका लागि सम्झौता गर्न अमेरिकाले आफ्नो ‘दबाब’ कम नगर्ने बताएकी छन् ।
वासिङ्टनले इजरायलसँग मानवीय सहायताका लागि काम गरिरहेको छ र ‘बन्धकहरूलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौताको आवश्यकता छ । हामी इजरायल र अरब नेतासहित यस क्षेत्रमा दबाब दिने सन्दर्भमा रोकिने छैनौँ’ ह्यारिसले सीबीएसको ‘६० मिनेट्स’ लाई दिएको अन्तवार्तामा भनेकी छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘सुनिरहनुभएको छैन नि’ भनी सीबीएसका बिल ह्वाइटेकरले ह्यारिसलाई अन्तर्वार्ताका क्रममा उनको भनाईप्रति प्रतिप्रश्न गरेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार ह्यारिसले अमेरिकी प्रयासका कारण इजरायलले त्यस क्षेत्रमा धेरै महत्त्वपूर्ण कामहरू गरेको तर्क गरेकी छन् ।
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको उल्लेख गर्दै उनले भनिन्, ‘इजरायललाई यस प्रकारका आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न सक्दो प्रयास गर्नु हामीलाई अनिवार्य छ ।’ गाजामा अक्टोबर ७ मा हमासले एक्कासी गरेको एक बर्षको सन्दर्भमा इजरायल उच्च सतर्कतामा छ ।
इजरायलले लेबनानमा हमासको इरानसमर्थित सहयोगी हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ र इरानी क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएको छ । गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो । इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ ।
दुवै पक्षले गरेका आक्रमण र कारबाहीका क्रममा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो । ह्विटेकरले नेतन्याहू अमेरिकाको ‘वास्तविक र घनिष्ठ सहयोगी’ हो वा होइन भनी सोधेको प्रश्नमा ह्यारिसले भनिन्, ‘राम्रो प्रश्न के हो भने के अमेरिकी जनता र इजरायली जनताबीच महत्वपूर्ण गठबन्धन छ ? र उक्त प्रश्नको जवाफमा कुनै दोधार छैन । अमेरिकी र इजरायली जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ ।’