Logo
Logo

सामान्य प्रशासनमा पारिवारिक रजगज


819
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजकुमार गुप्ता कार्यरत छन् । मन्त्रीपरिषदको बैठकमा संघीय मामिला मन्त्रीको हैसियतमा उनकै सहभागिता देखिन्छ । तर मन्त्रालय भने उनका छोरा सुभास गुप्ता, भाइ सन्तोष रौनियार गुप्ता र साला जितेन्द्र रौनियार गुप्ताले चलाइरहेका छन् ।

मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदी

सचिवालयका पदाधिकारीमा तिनको नामोनिशाना छैन । मन्त्रालयले र कर्मचारीले उनीहरुलाई चिन्दैन । सचिवालयमा पनि नियुक्त भएका छैनन् । तर मन्त्रीनिवास भैंसीपाटी, मन्त्रालय र होटल र रेष्टुरेन्टबाटै तीनै जनाले गुप्ताको प्रतिनिधिका रुपमा सरुवाको सूची बनाउने, कर्मचारीसाग बार्गेनिङ गर्ने र जसले बढी कबोल गर्छ, त्यसलाई भनेको ठाउँमा सरुवा गराउँदैआएका छन् ।

भदौ मसान्तसम्म तीन हजार कर्मचारीको सरुवा गर्दा आधा भन्दा बढीसँग दररेट तोेकेरै असुली गरेको आरोप मन्त्रीका यी आफन्तमाथि लागेको छ । धेरै वर्षपछि गएको भदौमा ठूलो संख्यामा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो । करिब १ लाख निजामती कर्मचारीमा ३ हजारको संख्या ठूलो मानिदैन । तर ती तीन हजार कर्मचारी एकै लटमा सरुवा गर्दा गुप्तात्रयले करोडौं रकम उठाएर मन्त्रीलाई बुझाएको आरोप छ ।

खासगरी प्रमुख प्रशासकीय अधिकृतको सरुवामा ठूलो चलखेल भएको विषय विवादमा छ । मन्त्री गुप्ताले तय गरेको दररेट राजपत्रमा निस्कन मात्रै बाँकी छ । प्रायः सबै सरुवामा चासो राख्ने कर्मचारीहरु यसबारेमा जानकार छन् । काठमाडौं उपत्यकाका पालिकामा २० देखि २५ लाख, मधेश प्रदेशका पालिकामा ५ देखि बजेट हेरी १५ लाख, पहाड र हिमालका पालिकामा २ लाखदेखि ५ लाख दररेट मन्त्री गुप्ताले तोकेर आफ्ना छोरा, साला र भाइलाई त्यस अनुसार कर्मचारी खोज्ने, मोलतोल गर्ने र त्यस अनुसार उठाउन लगाउने र त्यही सूची अनुसार सहसचिव र सचिवमार्फत् सरुवा गराउँदै आएका छन् ।

संघीय मामिला मन्त्रालयको बेबसाइटमा सचिवको रुपमा नेमप्लेटमा भरतमणि सुवेदीको नाम देखिन्छ । तर मन्त्री र उनका आफन्तले निजामती सेवा ऐन, कानुन र मापदण्डविपरीत मनपरी सरुवा गर्दा र रकम असुली गर्दा रमिता हेरेर खुरुखुरु सदर गर्ने गरेका छन् । निजामती कर्मचारीका अभिभावक हुनुपर्ने सचिव मन्त्रीका गलत कार्यका साक्षीमात्र बन्न पुगेका छन् ।

सामान्यमा वर्षौँदेखि कार्यरत रैथाने कर्मचारीलाई मन्त्रालयको गेटबाहिर समेत सरुवा गर्ने हुति नभएका सचिव तिनै कर्मचारीको मतियार बन्दै आएका छन् ।

२०७६ देखि उपसचिव रुपनारायण खतिवडा सामान्यमा अड्डा जमाएर बसेका छन् । मन्त्रालयका हरेक आकर्षक शाखा चाहारिसकेका खतिवडा इलामबाट झापा बसाइ सरेका हुन् । शाखा अधिकृतको पहिलो पदस्थापन नै स्वास्थ्य मन्त्रालयमा गराउँदा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख स्व. सुवास नेम्वाङमार्फत चर्को दबाब तत्कालीन स्वास्थ्य सचिव दीर्घसिंह बमले खेप्नुपरेको थियो ।

जागिरको शुरुवातदेखि नै राजनीतिक दबाब र प्रभाव पारेर आकर्षक कार्यालय र शाखाको जिम्मेवारी लिन सफल हुँदैआएका खतिवडा ६ वर्षदेखि सामान्य प्रशासन मन्त्रालयमै टिकिरहेका छन् ।

हालका मन्त्रीका आफन्त र सचिव सुवेदीको आशीर्वाद खतिवडालाई छ । संघीय सरकारका कर्मचारीको सरुवा र प्रमुख प्रशासकीय अधिकृतहरुको बारेमा मन्त्रीलाई सूचना दिने र मोलतोल गर्ने काममा खतिवडा प्रयोग हुँदैआएका छन् ।

त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले पनि मन्त्रीका आफन्त र सचिवलाई मोटो रकम बुझाएकै कारण आफू टिक्न सफल भएको सामान्यमै कार्यरत उनका निकटस्थलाई बताउने गरेका छन् ।

उनले जागिरको शुरुवातदेखि गरेका भ्रष्टाचारका फेहरिस्त मिडियामा आएपछि ‘आर्थिक सहयोग मागेको र नदिएपछि समाचार आएको’ रेडीमेड कुरा सामान्यमा कर्मचारीसँग बताउने गरेका छन् ।

उनलाई टिकाउने उमेश ढकाल काभ्रेको प्रजिअ भइसके । निजामती पुरस्कार दिने एकनारायण अर्याल मुख्यसचिव छन् । आफूलाई मुख्यसचिवको निकट भनेर उनले अर्यालको समेत बदनाम गराएर कागेश्वरीमा टिक्न सफल छन् ।

अहिले मन्त्रीका आफन्तलाई कबोल गरेको दररेट बुझाएर उनी कागेश्वरीमा थमौती हुन सफल भएका छन् । कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा भर्खरै आएका बलराम रिज्याललाई पनि रिझाउने माध्यम मिश्रले खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्