काठमाडौं । नेपाल प्रहरीमा तलदेखि माथिसम्म करिब ४ हजार दरबन्दी रिक्त छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले ती दरवन्दीमा बढुवा र भर्नाको प्रकृया अघि नबढाउदा दुई महिनादेखि नेपाल प्रहरी अस्तव्यस्त बनेको छ ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार दशैँअघि बढुवा र भर्नाको कुनै पनि प्रकृया अघि बढ्दैन । नेपाल प्रहरीको कार्यासम्पादन मूल्याकनको विवरण असोज २१ गते अर्थात हिजो मात्रै सकिएको छ । साथै, आइजीपीले गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको दरवन्दीमा बढुवा र भर्नाको सख्या कति हो भन्ने विवरण समयमै नबुझाएकाले तत्कालै दुवै प्रकृया रोकिएको गृह स्रोतले दृष्टिलाई बताएको छ ।
स्रोतका अनुसार यतिबेला प्राविधिकतर्फ ५४२ र जनपदतर्फ ३ हजार ५२९ जनाको दरबन्दी खाली छ । माथिल्लो तहमा मात्रै करिब २ सय पद बढुवाका लागि रिक्त रहेको छ । एक साथ ८९ र त्यसपछि क्रमश रिक्त रहेका पदमा दरवन्दीमा बढुवा हुनसकेको छैन । प्रहरी अस्पतालमा त झन दुई महिनादेखि एआइजी रिक्त रहेको छ ।
मुख्यालयका अनुसार २ प्राविधिकसहित ७ डीआईजी, ४ प्राविधिकसहित १७ जना एसएसपी, २ प्राविधिकसहित १९ जना एसपी, एकजना प्राविधिकसहित ४७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २९ प्राविधिकसहित ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को दरबन्दी खाली छ । उनीहरू सबैको एक महिना अघि नै बढुवा भैसक्नुपर्ने थियो ।
‘आइजीपीको विदेश भ्रमण, गृहमन्त्रीलाई जानकारी नदिनुजस्ता विषयले बढुवाको प्रकृयामा रहेका अधिकृतहरूको बढुवा एक महिनादेखि रोकिएको छ । कार्यसम्पादन मूल्यांकनको विषय उठाएर रोकिएको हो’ स्रोतले भन्यो ।
स्रोतका अनुसार आइजीपीले चाहेको भए भदौको तेस्रो साता नै सबैको बढुवा निकाल्न सक्थे । नेपाल प्रहरीमा पछिल्लो पटक तलदेखि माथिसम्म चेनअफ कमाण्ड बिग्रेको र सरुवा बढुवामा समेत नेताहरूको अघिपछि लाग्नुपर्ने अवस्था आएको छ ।
प्रहरी प्रधानकार्यालयले दिएको विवरण अनुसार अहिले ११ प्राविधिकसहित २८ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ३० जना प्राविधिकसहित १०५ जना सई, ९५ जना प्राविधिकसहित ७२९ जना प्रहरी सहायक निरीक्षक (असई), ३५ जना प्राविधिकसहित १५९ जना वरिष्ठ हवल्दार, १३२ जना प्राविधिकसहित ६५ जना हवल्दार, ९७ जना प्राविधिकसहित १२३ जना सहायक हवल्दार, १०३ जना प्राविधिकसहित २ हजार ५३९ जना जवान र ४३ जना कार्यालय सहयोगीको दरबन्दी खाली रहेको छ । ती सबै दरवन्दीमा बढुवा गर्नुपर्ने अवस्था छ ।
यसैगरी नयाँ भर्नामा पनि ३हजार दरवन्दी खाली रहेको छ । यसमा पनि प्रहरी प्रधानकार्यालयले प्रकृया अघि बढाएको छैन ।
प्रहरी अस्पताल दुई महिनादेखि प्रमुखविहीन छ । १० साउनमा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह अवकाशमा गएकी थिइन् । १४ पुस २०७६ मा अस्पताल प्रमुख बनेकी सिंह साढे चार वर्ष जिम्मेवारी सम्हालेपछि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डा. सुन्दरप्रसाद ह्योजुले पाएका छन् । ह्योजु सिनियर हुन् ।
प्रहरी बढुवाका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति रहेको छ । समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव रहने व्यवस्था छ ।
उक्त समितिले अस्पताल प्रमुखविहीन भएको दुई महिना बितिसक्दा समेत कसैलाई पनि बढुवाका लागि सफारिस गरेको छैन । साउनदेखि असोजसम्म कार्य सम्पादन मूल्यांकन (कासमू) फारम भर्ने समय भएकाले बढुवा नगरिएको दावी गरेर अस्पतालमा प्रमुख रिक्त राखिएको छ ।