Logo
Logo

त्यो दिन रक्षामन्त्री वेपत्ता, गृहमन्त्रीलाई साँढुको चिन्ता


5.2k
Shares

काठमाडौं । देश बाढी, पहिरो र डुबानले तहसनहस भइरहेका बेला राज्य संयन्त्रले कुनै पनि काम नगरेको विषयमा प्रधानमन्त्री कार्यालयमा गम्भीर छलफल भएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई तथा मुख्यसचिव एकनारायण अर्यालसँग गम्भीर छलफल गरेका हुन् । उपप्रधानमन्त्री सिंह र रक्षामन्त्री त्यसदिन दिनभरजसो नै सम्मान थाप्ने र पार्टीको कार्यक्रममा व्यस्त भएका थिए ।

सबैभन्दा बढी कमजोरी रक्षामन्त्री राइले गरेको विषयमा प्रधानमन्त्री गम्भीर भएका छन् । सेनालाई समयमै परिचालन गर्न नसक्नु र सेनाको हेलिकोप्टर उद्धारमा गृहलाई उपलब्ध गराउन नसक्नुले सरकारको पूर्णरुपमा असफलता देखिएको थियो ।

यसमा रक्षामन्त्रीलाई जिम्मेवार ठानिएको छ । त्यसदिन रक्षामन्त्री पार्टीको कार्यक्रममा व्यस्त थिए । पुल्चोक र बौद्धका दुई वटा कार्यक्रममा व्यस्त भएकाले राहतमा उनको ध्यान पुगेन । गृह मन्त्रालयका एक अधिकारीका अनुसार बिहान ७ बजेदेखि सेनाको हेलिकोप्टर कुरेर बसे पनि रक्षामन्त्रीको आदेश नपाएर समयमै उद्दार कार्य हुन सकेन ।

बाढी, पहिरोपछि एकीकृत रुपमा काम नगर्दा प्रधानमन्त्री ओलीलाई अहिले प्रश्नको सामना गर्न गाह्रो भइरहेको अवस्थामा राज्य संयन्त्र किन परिचालन हुन नसकेको भन्ने बारेमा छलफल गरेका हुन् । प्रधानमन्त्री आफैले पनि विदेश रहेर कुनै पनि पहल नगरेको भन्दै आलोचना भैरहेको बेला उनले राज्यका प्रमुख मन्त्रालयका मन्त्रीहरूसँग समन्वय गर्दै छलफल गरेपनि मन्त्रीहरूले काम गर्न नसकेकोमा प्रधानमन्त्री ओली दिक्क भएका छन् । खासगरी, आफ्नै पार्टीका केही मन्त्रीहरू एसम्यानको रुपमा राखिएको भएपनि उनीहरूले राम्रो आउटपुट दिन सकेका छैनन ।

प्रधानमन्त्रीले नेपालमा बाढी पहिरो गइरहेका बेला सुरक्षा समिति बैठक वा सर्वदलीय बैठकमा भर्चुअल रूपमा भए पनि नेतृत्व लिन सक्थे तर, लिएनन भन्दै आलोचना भएको छ । ‘उहाँ त अमेरिका हुनुहुन्थ्यो भनेर छुट दिने हो भने पनि कार्यबाहक प्रधानमन्त्री र सरकारका मुख्यसचिवले पनि नेतृत्व लिन सक्थे । तर, दुवै निष्प्रभावी देखिनुभयो । प्रधानमन्त्रीकै आलोचना गर्दै गृहमन्त्रालय स्रोतले दृष्टिलाई भन्यो ‘रक्षाले पनि साह्रै धोका दियो, भनेको बेलामा रक्षामन्त्री पनि उपलब्ध हुन सक्नु भएन ।’

स्रोतका अनुसार रक्षामन्त्रीले हेलिकोप्टर उडाउन नमिल्ने तथा भिजिविलिटी कम भएको जानकारी दिएका थिए । तर, राज्य व्यवस्था समितिको बैठकमा रवि लामिछानेले शनिवार बिहानदेखिको सबै भिजिबिलिटीको विवरण लिएर उपस्थित भएपछि रक्षामन्त्री राइले बाढीसँग मजाक गरेको खुलेको थियो ।

‘रवि लामिछानेले भिजिबिलिटीको विवरण पाउने रक्षामन्त्री मानवीर राईले नपाउने भन्ने हुँदैन, उहाँलाई त्यसदिन सम्मान थाप्ने चटारो र हतारोले नख्खुमा मानिसको ज्यान गयो, रक्षामन्त्रीले हेलिकोप्टर निकालिदिएको भए नख्खुको दुर्घटना हुने थिएन ।’ गृहमन्त्रालयका एक अधिकारीले दृष्टिसँग भने ।

प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकले नेपाली सेनाबाट समयमै हेलिकोप्टर उडाउन सहमत नभएको र १२ बजेसम्म हेलिकोप्टर उड्न नसकेको जानकारी गराएका थिए । ‘शनिवार सेनाले एकदमै अहसयोग गर्यो, समयमा रक्षामन्त्री पनि भेटिनु भएन’, गृहमन्त्रीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।

तर, त्यसदिन पनि गृहमन्त्री रमेश लेखक शुक्रबार साढुलाई सर्वोच्चको न्यायधीश बनाउन दौडधुप गरिरहेका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बाढी आउने अघिल्लो दिन शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । पाण्डे गृहमन्त्री लेखकका साँढु भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले विपद् क्षति र राहत उद्धारका बारेमा जानकारी दिन गत साता पत्रकार सम्मेलन राखेका थिए । त्यहाँ उनले सरकारले गरेको कामको फेहरिस्त विवरण सुनाउन मुख्य सचिव एकनारायण अर्याललाई दिएपनि बाढी पहिरोको बारेमा थोरै मात्र जवाफ दिएर फर्केका थिए ।

‘खासमा त्यस्तो विवरण मुख्य सचिवले प्रधानमन्त्रीलाई दिनुपर्ने हो, तर त्यहाँ उल्टो भयो । प्रधानमन्त्रीले विवरण अरूसँग लिएर मुख्य सचिवलाई दिनुभएको हो । प्रधानमन्त्रीले मूख्यसचिवसँग समयमा प्रशासनिक निकायलाई चुस्त नराखेको असन्तुष्टि पोखेको थिए’, स्रोतले भन्यो ।

प्रशासनिक संयन्त्रको नेतृत्व गरेको र गृह मन्त्रालयको समेत अनुभव भएका मुख्य सचिवले प्रधानमन्त्री विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीसँगै समन्वय गरेर सुरक्षाकर्मीलाई स्रोत साधन उपलब्ध गराउन र अन्य संयन्त्र परिचालन गर्न छाडेर किन गृहजिल्ला पुग्नुभएको हो भनेर प्रधानमन्त्री तथा मन्त्रीपरिषदका अधिकारीहरुले सोधखोज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्