Logo
Logo

खानेपानी मन्त्रालयलाई हर्क सम्पाङको पत्र- लौन सरकार खत्रा लाग्नुपर्यो


504
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।

धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता रहेको भन्दै उनले पत्रमा फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उल्लेख गरेका छन ।

उनले बोलीचालीकै भाषामा भनेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु प¥यो ।’

वर्षाको बेला जंगलमा फालिएको फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ । सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ । तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिने गरेको गुनासो पनि उनको छ । यो विषयमा पत्र पठाएको पनि धेरै भइसकेको मेयर राईले पत्रमा उल्लेख गरेका छन् ।

अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ?’ मेयर राईले पत्रमा लेखेका छन्, ‘जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ।’

साथै उनले अन्त्यमा ‘लौन सरकार खत्रा लाग्नुप¥यो । सेवा ढोग गरेँ फेरि पनि’ भन्दै पत्र टुंग्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्