Logo
Logo

सशस्त्रमा आइजी हुन षड्यन्त्र


3.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलमा अवकाशको व्यवस्थामा आफु अनुकुल परिवर्तन गर्ने षडयन्त्रमा उच्च तहका अधिकृतहरू नै संलग्न भएका छन् । गृह मन्त्रालयले अगाडि बढाएको सशस्त्र प्रहरी ऐनको मस्यौदामा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)देखि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदावधि हेरफेर गरिदा एसपीको सेवाअवधि नै गायव गर्नेगरी भएको षडयन्त्रमा उच्च तहका अधिकृतहरूको चलखेल भएको सशस्त्र मुख्यालय स्रोतले जनाएको छ ।

खासगरी यो षडयन्त्रमा शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनीज्वाई एसएसपी दीपेन्द्र कुँवर, एसएसपी विकास घिमिरे तथा एआइजी वंशी दाहालको समेत हात रहेको स्रोतले जनाएको छ ।

१२ व्याचका अधिकारीहरूलाई बढुवा हुनबाट रोकेर आफूहरू मात्रै संगठनमा ढलीमली गर्नेगरी ऐनमा एसपीको सेवा अवधि नै हटाएका छन् । त्यतिमात्र होइन उनीहरूले एसएसपीको सेवा अवधि ६ बाट ८ वर्ष पुर्याएर थप सुरक्षित हुने बाटो अपनाएका छन् । यो ऐन चाँडै नै लागु गराएर आइजीपी राजु अर्यालसँगै नारायणदत्त पौडेललाई पनि घर पठाएर आफू आइजीपी हुने चलखेलमा वंशी दाहाल लागेको स्रोतले जनाएको छ ।

आइजीपी विदेशमा रहेको बेला माओवादी शक्ति केन्द्र प्रयोग गरेर वंशी दाहालले एक्लै एआइजीको दरवन्दी ल्याएर बढुवा खाएका थिए । अहिले सशस्त्र प्रहरी ऐनमा फेरबदल गर्ने क्रममा उनीहरूले विभिन्न शक्तिकेन्द्र धाएको पनि स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीको मस्यौदामा एआइजीको चार वर्ष र डीआइजीको पाँच वर्ष कार्यकाल प्रस्ताव गरिएको थियो । एसएसपीको ६ वर्ष र एसपीको ८ वर्ष पदावधि प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई हेरफेर गरेर सरकारले ऐनको मस्यौदा तयार गरेको हो ।

सशस्त्र प्रहरीमा ल्याउन लागिएको नयाँ व्यवस्था तत्काल कार्यान्वयन भए यसको असर भने सशस्त्र प्रहरीका १२ ब्याचका अधिकारीहरूलाई पर्ने भएको छ । सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकसम्मलाई यसको असर पर्ने अधिकारीहरूको गुनासो छ ।

उनीहरू हाल कार्यरत पदमै लामो समय काम गर्नुपर्ने देखिएको छ । अहिलेका इन्स्पेक्टर र डीएसपीले करिब १५ वर्षसम्म एउटै पदमा रहनुपर्ने उनीहरूको भनाइ छ । सशस्त्र प्रहरीमा एसएसपीको पद ३४ जना मात्रै छ । यस्तै १६ जना डीआइजी र तीनजना एआइजी छन् । हालका एसपीहरू पदावधिका कारण अवकाश नहुने र एसएसपीमा बढुवा हुन पनि ३४ जना मात्रै दरबन्दी भएकाले तल्लो दर्जालाई बढुवा नहुुने चिन्ता देखिएको हो ।

यसअघि पनि सशस्त्र प्रहरीमा लामो समयसम्म बढुवा नभएको गुनासो थियो । तर नयाँ व्यवस्थाले त्यसलाई सम्बोधन गर्नुको साटो झनै जाम हुने उनीहरुले बताएका छन् । सशस्त्र प्रहरीमै भर्ना भएको पहिलो ब्याचदेखि १६ औँ ब्याचसम्मका अधिकारीहरु अहिले कार्यरत छन् ।

१६ औँ ब्याचका सशस्त्र प्रहरी निरीक्षकहरु अहिले तालिम गरिरहेका छन । अब आईजीपी र एआईजीको कार्यकाल समान तीन वर्ष हुने भएको छ । एआइजी दाहालले यही तीन वर्षे सेवा अवधिमा खेल्न खोजेका हुन् । यसअघि दुवै पदको अवधि चार वर्ष थियो । डीआईजीको कार्यकाल यसअघि चार वर्ष र एक वर्ष महानिरीक्षकले चाहेमा थप गर्न सक्ने व्यवस्था थियो । तर अब ५ वर्षे पदावधि तोकिएको छ ।

यसअघि एसएसपीको ७ वर्ष र एसपीको १० वर्ष पदावधि थियो । तर अब एसएसपीको पदावधि एक वर्ष बढाएर ८ वर्ष बनाइएको छ । एसपीको पदावधि नै हटाइएको छ । अबदेखि एसपी पदावधिका कारण अवकाश नहुने भएका छन् । एसपीदेखि तल्ला तहमा पदावधि रहने छैन ।

तर सबै दर्जामा उमेर हद भने तोकिएको छ। ३० वर्षे सेवा अवधि पनि हटाइएको छ । अबदेखि उमेरहद र पदावधिका कारण मात्रै सशस्त्र प्रहरीहरु अवकाश हुनेछन । राजपत्राङ्कित पद (सशस्त्र प्रहरी महानिरीक्षकदेखि निरीक्षकसम्म) को उमेर हद एउटै हुने भएको छ । अब सबै अधिकारीहरुको उमेरहद ६० वर्षे बनाइएको छ ।

पदावधिका कारण अवकाश नभए उनीहरुले ६० वर्षको हुन्जेल जागिर खान पाउने भएका छन । यस्तै असईदेखि वरिष्ठ सइसम्मका लागि उमेर हद ५५ वर्ष तोकिएको छ । बिल्लादार तथा जवानका लागि ५१ वर्षको उमेरहद तोकिएको छ । श्रेणीविहीन (परिचर) पदमा भने ५५ वर्षसम्म सेवामा रहन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्