Logo
Logo

दसैँको बेला लेख्न सकिएन शुभकामना !


315
Shares

२०८१ को बडादसैँ अगाडिको विलोम हो यो । संयोगले आज दसैँको छैठौँ दिन परेको छ । यो विलोम पाठकहरूको हातमा पुग्दा हिन्दू धर्मावलम्बीहरू कात्यायनी देवीको पूजा–आराधना गरिरहेका हुन सक्छन् ।

साहसकी प्रतीक मानिने कात्यायनी भवानी दुर्गाकै एक रूप मानिन्छिन् । उनको पूजा आराधना गरेर यो वर्ष को को साहसी हुन्छन् ?, त्यो त समयको ऐनामै हेरौला; अहिलेलाई भने बाढी पहिरोको दशाले छेकिएको यस पटकको दसैँमा लेख्न मनले नै मानेन– दसैँको शुभकामना !

यो स्तम्भ म मेरो जन्मदेशबाट लगभग आठ हजार माइल टाढा अमेरिकाको पेन्सेल्भेनियाबाट लेखिरहेको छु । अमेरिकाको राजधानी वासिङ्टन डीसीमै बसेर पाँच दिन सरकारी काम गरेपछि शुक्रबार साँझ म गृहराज्य पेन्सेल्भेनिया फर्कन्छु । थकान त नहुने कुरै भएन । तैपनि जन्मदेशका लागि लेख्ने कुराले मलाई एक किसिमको ऊर्जा मिल्छ र हरेक सप्तान्त केही घण्टा फुर्सद निकालेर म विलोम लेख्ने गर्छु ।

मेरो कामको प्रकृति र त्यसले निर्दिष्ट गर्ने जिम्मेवारीलाई हेर्दा म जे जस्ता विषय लेखिरहेको छु, त्यसरी लेख्न मिल्छ कि मिल्दैन? यदाकदा म आफैँ पनि अलमलमा पर्छु । कहिलेकाहीँ डर पनि लाग्छ, कतै म आफ्नै जागिरमाथि त बन्चरो त हानिरहेको छैन ? मैले नलेख्दा पनि त हुन्छ । आखिर मैले लेखेर पो के भएको छ र ?

आखिर देशमा केही हुन्छ भन्ने विश्वास नलागेर देशै छोडेर हिँडेको मान्छे हुँ । हिँड्ने बेलामा ‘सधैँका लागि गएको कहाँ हो र ? छिट्टै फर्कन्छु।‘ भन्दै वृद्ध बाबुआमाका आँसु पुछेको हिजो जस्तो लाग्छ । सात वर्ष पूरा भइसकेछ ।

यही बीचमा बाबु गुमाएँ, आमा पनि डाँडामाथिकी घाम जस्ती भइसक्नुभयो । अब त उहाँ आफैँ पनि भन्न थाल्नु भएको छ, ‘बाबु गैहाले, म पनि भरे हो कि भोलि भैसकेँ । त्यसपछि कसका लागि आउँछस् र ?, देश भन्थिस्, तैँले भनेको देश पनि अर्कै भइसक्यो । अब नआए पनि हुन्छ ।‘

जब आमा यसो भन्नुहुन्छ, मन उचाल्नै नसक्ने गरेर भारी हुन्छ, आँखाहरू रसाउँछन्, शरीरमा ऐँठन हुन्छ । शायद यही माया होला । आफू पनि बिस्तारै साठी नजिक पुगिसकियो । पिर दिनेबाट लिने ठाउँमा पुगेको यो बेला मन उड्न खोजे पनि बुढ्यौलीले थाक्दै गएको शरीरले भुइँतिरै तान्दो रहेछ । अब त पाइताला टेकिएको भुइँ पनि अमेरिकी भइसक्यो । भनाइ नै छ नि शरीरले कहिल्यै ढाँट्दैन ।

म केही वर्षयता लगातार लगभग उस्तै कुरा लेखिरहेको छु । नेपालमा लोकतन्त्र हैन, ओली, प्रचण्ड र देउबातन्त्र आयो । देशको संविधानदेखि सारा राज्यसंयन्त्र यिनका पार्टपूर्जा मात्र भए । यी दलका दोस्रो, तेस्रो दर्जाका नेताहरू पुस्ताका नाममा उनीहरूकै दाश भए ।

पद र मौका नपाउन्जेल बोल्छन्, पाएपछि बोल्ती बन्द । अब त यो नेपाली राजनीतिको सनातन नै भइसक्यो । नयाँ हुन् वा पुराना सबै तत्–तत् पार्टीका ओली, प्रचण्ड र देउवा नै हुन् । पात्र फरक होलान्, प्रवृत्तिका हिसाबले सबै एकै हुन् । यी पात्रहरू मात्र हैन, प्रवृत्ति नफेरी नेपाल बस्नलायक ठाउँ हुँदैन ।

यी तीन पात्रमध्ये सबैभन्दा खराब चाहिँ ओली हुन् । अब उनी पात्र मात्र रहेनन्, उनले यसलाई प्रवृत्तिकै रूपमा हुर्काइसके । दुःखको कुरा नेपालमा यही प्रवृत्ति नेपालमा ‘सफल’ भइरहेकोले छ ।

अरू पनि सफलताका लागि ओली हुने प्रयत्नमा छन् । त्यस्तो हुन खोज्ने पछिल्लो चर्चित व्यक्ति रवि लामिछाने हुन् । उनी ओलीको स्वाँगे भाइकै रूपमा अगाडि बढिरहेका छन् । उनले बितेका दुई वर्ष नयाँका नाममा जे गरे, त्यसले नयाँ पनि विकल्प हैन भन्ने प्रमाणित गरिदियो । नाम जे भए पनि यी सबै पात्र र प्रवृत्ति नेपालका लागि समस्या हुन्, समाधान हैनन् ।

नेपालले लोकतान्त्रिक, समावेशी राजनीतिको अभ्यास गरिसक्यो । नेपाली जनतामा अधिकारको चेतनाले जरा गाडी सक्यो, स्वतन्त्रताको अभ्यास पनि बढी नै भइसक्यो । अब उनीहरू योभन्दा कमतिर फर्कनै चाहँदैनन् । योभन्दा अगाडि बढ्न धेरै खराबभन्दा कम खराब छान्नुको विकल्प उनीहरूसँग छैन । भनाइ नै छ, लोकतन्त्र उत्तम व्यवस्था हैन, खराबमध्येको कम खराब हो ।

नेपालको लागि अबको राजनीतिक बाटो भनेको वैचारिक आधारमा दुई दलीय ध्रुवीकरण र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै हो । सँगसँगै धान्नै नसकिने आकारका राजनीतिक निकाय र तिनीहरूको प्रतिनिधि सङ्ख्याको मिलान र कटौती पनि त्यतिकै आवश्यक छ । संविधान संशोधनमार्फत यसो नगर्ने हो भने नेपालले राजनीतिक निकास पाउन सक्दैन । राजनीतिक समस्या क्रोनिक भइसक्यो, अब यसको शल्यक्रिया नगरी उपाय नै छैन ।

देशमा युवापुस्ता जोगाऔँ
देशमा खासगरी युवापुस्तालाई अड्याइ राख्न जरुरी भैसकेको छ । त्यसका लागि उनीहरूमा आशा जगाउने थुप्रै काम गर्नुपर्ने हुन्छ । तर, त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा स्नातक नगरेका अल्लारे विद्यार्थीलाई विदेशमा अध्ययनको स्वीकृति नै दिनु हुँदैन ।

झट्ट सुन्दा अप्रिय लागे पनि शिक्षाका नाममा विदेश जाने +२ का अल्लारेहरूलाई रोक्न, उनीहरूले लैजाने विदेशी मुद्रा जोगाउन र उनीहरूकै भविष्य सुनिश्चित गर्न पनि यो नगरी नहुने भएको छ । यो पुस्ता बुझ्दै नबुझी अल्लारे उमेरमै विदेश जाने, नाम मात्रको पढाइ गरेर कुनै न कुनै किसिमले उतै अल्झिने र नेपाल बस्नै नहुने देशका रूपमा भाष्य बनाउन लागि परेको छ ।

यो वा त्यो अनेक कारणले नेपालीहरू नेपाल छोड्दैछन् । छोड्ने मात्र हैन, नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता नै लिइरहेका छन् । यो क्रम अब चाहेर पनि रोक्न सम्भव छैन । बढीमा गर्न सकिने भनेको उनीहरूलाई नेपालसँग जोडिराख्ने हो । त्यसका लागि संविधानमै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छ । तर, यतिका वर्ष बितसक्दा पनि उचित कानूनी व्यवस्था गर्न सकिएको छैन ।

केही समय अगाडि गरिएको नागरिकता ऐन संशोधन पनि बाँदरको पुच्छर लौरो न हतियार जस्तै भएको छ । बाहिरिएका नेपालीलाई भावनात्मक रूपमा नेपालसँग जोडिराख्ने हो भने गैरआवासीय नेपाली नागरिकता दिनुको विकल्प छैन। हैन भने संविधान संशोधन गरेर नेपालसँगको सबै सम्बन्ध नै सकिदिए हुन्छ । अब यसमा थप ल्याङ्ल्याङ् गर्न जरुरी छैन ।

म यिनै कुराहरूलाई केन्द्रविन्दुमा राखेर लेखिरहन्छु । यसो गर्दा मैले कसैप्रति आग्रह पूर्वाग्रह राखेको हुन्न । हो, ओली र रवि समस्या हुन्, समाधान हैनन् भन्दा तत्तत् पक्षको क्रोधको पारो चढ्ला । तर, प्रश्न पात्रका रूपमा उनीहरूसँग हैन, प्रवृत्तिसँग हो । यो प्रवृत्ति नेपाल र नेपालीका लागि अहितकर त छ नै, ती दलको स्वस्थ जीवनका लागि पनि घातक छ । त्यसैले यो कुरा प्रकारान्तरमा ती दलका लागि पनि कोरामिन हुन सक्छ ।

अमेरिकामा नेपाली
यो त जन्मदेशको कुरा हो, घरदेश अमेरिकाका बारेमा पनि म केही लेखिरहन्छु । मैले लेख्ने थोरै विषयमध्य शीर्ष विषय हो अमेरिकामा रहेका नेपालीहरू । यहाँ मूलतः दुई किसिमका नेपाली छन्, नेपाली नागरिकता मात्रै भएका नेपाली र अमेरिकी अंगिकृत नागरिकता लिएका नेपाली । अमेरिकी सन्दर्भमा भन्दा पहिलो थरी हाइफनविहीन नेपाली हुन् भने दोस्रो थरी हाइनवाला नेपाली अर्थात् नेपाली–अमेरिकी । धेरैजसो नेपालीहरूले यी फरक कुरालाई मिसाएर क्वाँटी–नेपाली बनाउन चाहन्छन् ।

म त्यो कुरामा सहमत छैन । मेरा लागि यी दुई नितान्त फरक हुन् । हाइफनविहीन नेपालीको देश नेपाल हो भने हाइफनवाला नेपालीको देश अमेरिका हो । देश फरक भएपछि व्यवहार पनि त्यही अनुसार हुनुपर्छ ।

हाइफनवाला नेपालीले अमेरिकी नागरिकताको सपथ लिँदा हात उठाएर खाएको ‘लोयल्टी’को कसम पूरा गर्नुपर्छ । हाइफन नभएका नेपालीले नेपालप्रतिको दायित्व पूरा गर्नुपर्छ । भनाइ नै छ, हरेक सभ्य नागरिकको उसको देशप्रति निश्चित जिम्मेवारी हुन्छ ।

नेपालले पनि दुई फरक परिचय बोकेका नेपालीलाई एउटै ढाकीमा हालेर व्यवहार गर्नु हुँदैन । नेपाली राहदानी बोकेका नेपाली र अमेरिकी राहदानी बोकेका नेपाली–अमेरिकी एउटै हैनन् । उनीहरूको नागरिक अधिकार, दायित्व र जिम्मेवारी नै फरक छन् । अनुहार मिलेकै आधारमा एउटै व्यवहार गर्दा अन्ततः जन्मिने भनेको दोहोरो नागरिकता र राहदानी हो । त्यसको ज्यूँदोजाग्दो प्रमाण नै रवि लामिछाने हो ।

नेपाली–अमेरिकी बिस्तारै अमेरिकी मूलधारको संस्कृतिमा सम्मिलित हुनुपर्छ । त्यसको मानक भनेको राजनीति हो । र, त्यसमा पनि अमेरिकी मूलधारको राजनीतिमा नेपालीहरू कहाँ उभिने भन्ने कुरा प्रमुख हो । मलाई लाग्छ, वैचारिक हिसाबले नेपाली–अमेरिकी उभिने राजनीतिक धरातल भनेको डेमोक्रेटिक पार्टी नै हो ।

तुलनात्मक रूपमा रंगको आधारमा विभेद नगर्ने र आप्रवासीमैत्री नीति अंगाल्ने यो दलसँगै हाम्रा धेरै कुरा मिल्छन् । अहिलेसम्म धेरैजसो नेपालीहरूको साइनो पनि यही दलसँग छ । तर, दुर्भाग्य पछिल्लो समय केही नेपालीहरू आप्रवासी विरोधी रिपब्लिकन दल अझ त्यसमा पनि उग्र दक्षिणपन्थी ट्रम्पका अन्धसमर्थक भएका छन् ।

अमेरिकी राष्ट्रपतिको चुनाव
अमेरिका इतिहासमै पहिलोपटक महिला राष्ट्रपतिका रूपमा कमला देवी ह्यारिसलाई छान्ने कि एक फेलोन (प्रमाणित–अपराधी) राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पलाई छान्ने भन्ने निर्णायक चुनावको अगाडि उभिएको छ । मेरो गृहराज्य पेन्सेल्भेनिया यस पटकको चुनावमा निर्णायक छ । प्रत्यक्ष निर्वाचित भनिए पनि अमेरिकामा धेरै मत ल्याउने हैन, २७० कलेज इलेक्ट्रोल मत ल्याउने उम्मेद्वार राष्ट्रपति चुनिने अनौठो चलन छ ।

अहिलेको स्थितिमा कमलाको पक्षमा नीला राज्य भनिने डेमोक्रेट्स बहुल राज्यको २२६ कलेज इलेक्ट्रोल मत र ट्रम्पको पक्षमा राता राज्य भनिने रिपब्लिकन बहुल राज्यको २१९ कलेज इलेक्ट्रोल मत निश्चित छ । जीतका लागि ह्यारिसलाई थप ४४ र ट्रम्पलाई ४९ कलेज इलेक्ट्रोल मत चाहिने हो ।

पेन्सेल्भेनियाको कलेज इलेक्ट्रोल मत १९ छ । र, यो राज्यमा नेपाली भाषी भुटानीसहित नेपाली–अमेरिकी मतदाताको संख्या ५५ हजारभन्दा बढी छ । हारजीतका लागि यही मत निर्णायक छ । यही मतलाई अमेरिकाको ४७औं राष्ट्रपतिको निधो गर्ने मत भन्दा पनि हुन्छ ।

यो चुनावमा हजारौंको संख्यामा नेपाली–अमेरिकीले मतदान गर्दैछन् । म पनि पेन्सेल्भेनिया राज्यबाटै अमेरिकी राष्ट्रपति निर्वाचनमा पहिलोपटक मतदान गर्दैछु । म रजिस्ट्रड डेमोक्रेट्स हुँ र सगौरव कमला ह्यारिसलाई मतदान गर्नेछु । मलाई विश्वास छ, मेरो एक मतले अमेरिकामा पहिलो महिला राष्ट्रपति दिन सक्छ । त्यो पनि कमला देवी ह्यारिसका रूपमा ।

एक भारतीय मूलकी आमा र अफ्रिकी मूलको बाबुकी छोरी कमला वर्तमान उपराष्ट्रपति हुन् । उनको पक्षमा पहिलो अमेरिकी उपराष्ट्रपति महिलालगायत अनेकौँ कीर्तिमान छन् । मिडल नेम नै देवी भएकी कमला अमेरिकाको पहिलो राष्ट्रपति महिला भएर इतिहास बनाउन सकुन् ।

देवीको पूजा आराधना गरिने दशैको बेला कमला देवीलाई यही नै शुभकामना । मलाई विश्वास छ, स्त्रीद्वेषी ३४ फेलोन ट्रम्प नामक असुर प्रवृत्तिमाथि देवीका रूपमा कमला देवीले अवश्य पनि विजय प्राप्त गर्नेछिन् । त्यसको छिनोफानो हुन धेरै छैन, नोभेम्बर ५ को मध्यरातसम्म मात्र पर्खनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्