काठमाडौं, ८ जेठ । अंपुन चक्रवातको प्रभावले बिहीबार देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने महाशाखाले जनाएको छ । चक्रवात अंपुनको अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी तथा मध्यका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।
चक्रवात वेस्ट बंगाल र बंगलादेशको तटीय क्षेत्र पार गरी लगाातार उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाइए छ । मौसमविद्का अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहेपनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित भई आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने तथा पूर्व र मध्यक्षेत्रमा खोलानालामा जलप्रवाहमा बढोत्तरी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राति देशको पूर्वी भूभागमा पूर्ण बदली रही बाँकी भूभाग बदली भई पूर्वी भूभागका केही स्थान र मध्य भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा शुक्रबार सामान्य बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शनिबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।