Logo
Logo

गुटको लडाइँले रणभूमि


शरद रिजाल

3.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र आन्तरिक विवादले नयाँ नेतृत्व चयन नगरेरै अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । यही असोज १० गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नयाँ नेतृत्व चयन गर्न नसकेरै बुधबार स्थगित गरिएपछि अखिल (क्रान्तिकारी)को आगामी भविष्य नै अन्योलग्रस्त बनेको छ ।

पार्टीको भावी नेता उत्पादन गर्ने थलोको रुपमा परिचित विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा नेतृत्वका लागि अत्यधिक आकांक्षी बढेर अमर्यादित क्रियाकलाप गर्दै बन्दसत्रमै एक अर्काबीच हात हालाहालको स्थिति निम्तिएको थियो ।

सम्मेलन स्थल कीर्तिपुरमा नेतृत्वका आकांक्षीहरूका पक्ष र विपक्षका विद्यार्थीबीचमा कुर्सी हानाहान र खुकुरी प्रदर्शन समेत भएको थियो । पार्टीका नेताहरूले आफू निकटका विद्यार्थी नेताहरूलाई घोषित समर्थन र नेतृत्वमा पु¥याउनका लागि गरिएको चलखेलले सम्मेलन सर्वसम्मत नेतृत्व चयन गर्ने अवस्था नभए पछि निर्वाचनमा जाने तयारी गरिए पनि त्यो सफल हुन सकेन ।

माओवादीभित्र व्याप्त विभिन्न गुटको प्रभाव अखिल (क्रान्तिकारी)मा देखिएर त्यसको नेतृत्वका आकांक्षीहरुप्रति पार्टीका नेताहरूले नै पक्षधरता देखाउँदै उनीहरूको पक्षमा माहौल सिर्जना गर्न निकै दौडधुप बढाएका थिए ।

यस सम्मेलनमा पार्टीभित्र रहेका विभिन्न गुटउपगुट सञ्चालन गरेका पदाधिकारीहरूले नै विद्यार्थी संगठनमा गुटगत राजनीतिलाई प्रश्रय दिँदै आफ्नो प्रतिष्ठाको रुपमा लिएर आफू निकटलाई नेतृत्वमा ल्याउन सक्रियरुपमा लागेका थिए ।

पार्टीका गुटैपिच्छे विद्यार्थी नेताहरू आकांक्षी भएपछि अन्ततः आन्तरिक निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने तयारी गरिए पनि त्यसमा समेत सहमति जुट्न सकेन । नेतृत्व चयनका लागि उमेर हदको विकल्प लगाएर हालका पदाधिकारीहरूलाई बिदा गर्दै नयाँ चयन गर्ने प्रयत्नको पनि चौतर्फी विरोधले बन्दसत्र नै पाँच दिन अनिर्णयित बन्न पुग्यो ।

आन्तरिक निर्वाचनको अन्तिम समयमा सहमति नजुट्दा उमेर हद लगाउने प्रस्ताव पेस भयो । त्यसमा पनि नेतृत्वका आकांक्षी विद्यार्थी नेताहरूले आफ्नो अडान छाड्न नमानेर उमेरहद अमान्य भएको बताएका थिए । उनीहरूले सम्मेलन स्थलमा नाराबाजी गरेपछि परिस्थिति थप जटिल भएर मुठभेडको अवस्था आएपछि बाध्यात्मकरुपमा बन्दसत्र नै स्थगन गर्नुपरेको थियो ।

यो सम्मेलनमा सबैभन्दा रोचक पक्ष के देखियो भने पार्टीमा विगतदेखि एकछत्र राज गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै रोजाइको उम्मेदवार तयार पार्न भने असमर्थ भए । उनले उपमहासचिव पुनकै उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेका थिए । तथापि पुन पक्षधर दुवै जना उम्मेदवार विवादित पात्र भएकाले अन्तिममा समर्थन गर्ने आँट गर्न सकेनन् ।

यस सम्मेलनमा मुख्य प्रतिस्पर्धा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ निकटका विद्यार्थी नेताबीच नै हुने स्पष्ट देखिएको थियो । एकअर्काले आफ्नो शक्ति प्रदर्शन गर्ने उचित माध्यमका रुपमा यसलाई लिँदै आफू निकटलाई नेतृत्वमा ल्याउन हरसम्भव प्रयत्न गरेका थिए ।

माओवादीका उपमहासचिवद्वय शर्मा र पुन पक्ष यस सम्मेलनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धाको तहमा उत्रिएका थिए । आफू निकटका विद्यार्थी नेताहरूलाई सम्मेलनमा अघि सारेका यी नेताद्वयसहित पार्टीका अन्य नेता पक्षधर विद्यार्थी नेता पनि दाबेदारका रुपमा मैदानमा उत्रिएका थिए ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मोहन वैद्यको पार्टीबाट आएका पूर्व वैद्य समूहका नेताहरुमध्ये उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङ पक्षधर विद्यार्थी नेता पनि नेतृत्वको आकांक्षी रहेका थिए । आफू पक्षधरलाई नेतृत्वमा पु¥याउनका लागि नेताहरूले पार्टीमा लबिङ गर्दै विद्यार्थीहरूलाई आफ्नो पक्षमा तान्न निकै सक्रियता बढाएका थिए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पक्षधर पवन कार्कीले पनि अध्यक्षमा आफ्नो दाबी पेस गरेका थिए । उनले विगतमा संगठनको आधिकारिक संस्थापन पक्ष विरुद्ध समानान्तर संगठनको अभ्यास गरेका थिए ।

उनले निवर्तमान अध्यक्ष पञ्चा सिंहको विरुद्धमा देशव्यापी समानान्तर संगठन चलाएकाले उनको पक्षमा सर्वसम्मत माहौल बन्न सकेन । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्कीलाई सर्वसम्मत बनाउन अध्यक्ष प्रचण्डलाई आग्रह गरे पनि पहिले समानान्तर गतिविधि गरेकाले कार्कीको पक्षमा समर्थन गर्ने रुचि प्रचण्डले देखाएनन् ।

माओवादीका एक पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डको आफ्नो निकटस्थ उम्मेदवार नभएकाले नै अहिलेको महाधिवेशनले नेतृत्व चयन गर्न नसकेको हो ।

पछिल्लो समय पार्टीमा उपमहासचिव शर्मासँग प्रचण्ड रुष्ट छन् । शर्माले आफ्नो अभिछिन्न पार्टी नेतृत्वको यात्रामा विकल्प खोज्नुपर्ने लिखित मत राखेर चुनौती दिएपछि अर्का उपमहासचिव पुनसँग प्रचण्डले पछिल्लो समय निकटता बढाएका हुन् । तर पुनले समर्थन गरेका दुबै उम्मेदवार विवादित भएपछि प्रचण्डलाई समर्थन गर्न सकस परेको ती पदाधिकारी बताउँछन् ।

स्रोतका अनुसार ‘आफने पक्षको उम्मेदवार नभए पछि अन्तिम समयमा उपमहासचिव पुनकै उम्मेदवारलाई समर्थन गर्ने तयारीमा अध्यक्ष रहनुभयो तर पुनले अघि सारेका उम्मेदवारको विवादास्पद छवि भएकै कारण अध्यक्षले समर्थन गर्न सक्नुभएन ।’

आफ्नो समर्थक उम्मेदवार भएको भए प्रचण्डले अध्यक्ष घोषणा गर्ने थिए । तर आफू इतर नेताहरूका समर्थक मात्रै प्रत्याशी भएकाले खासै रुचि नदेखाएको ती पदाधिकारीको दाबी छ । उपमहासचिव पुन पक्षधर नेतृत्वको दाबेदारमा अखिल (क्रान्तिकारी)का निर्वतमान महासचिव दीपेश पुन रहेका थिए । उनी पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

पुन पक्षले हालका महासचिव दिपेशलाई नै नेतृत्वमा अघि सार्न भरमग्दुर प्रयत्न गरेका थिए । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष दिपेशलाई अध्यक्ष बनाउन खुमलटार पुगेर दबाब समेत दिएका थिए ।

यद्यपि, अध्यक्ष प्रचण्डले सहकारीको रकम हिनामिना र सुन तस्करी लगायत विभिन्न प्रकरणमा मुछिएका दिपेशलाई अघि बढाउँदा पार्टीको सुशासनको नारा कमजोर हुने बताउँदै स्वीकार गर्न सकेनन् । त्यसपछि उपमहासचिव पुनले अर्का विद्यार्थी नेता तुकमान महरालाई नेतृत्वका लागि अघि सारेका थिए ।

महरा अध्यक्ष प्रचण्डका पूर्व स्वकीय सचिवसमेत रहेका लुम्बिनीका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन् । अखिल क्रान्तिकारीको निवर्तमान उपाध्यक्ष रहेका महरा रोल्पाका स्थायी बासिन्दा हुन् । आफ्नै गृह जिल्लाका भएकाले पुनले महराको पक्षमा लबिङ गरे पनि उनको व्यक्तिगत चरित्र नराम्रो भएकाले सर्वस्वीकार्य बन्न सकेनन् ।

महरामाथि बहुबिबाहको आरोप लागेको छ । रोल्पाकी आफ्नो पहिलेकी श्रीमतीलाई अलपत्र पारेर दोस्रो श्रीमती बिहे गरेर काठमाडौंमा घरजम गरेको उनीमाथि आरोप छ ।

पार्टीमा पुनका प्रतिस्पर्धी अर्का उपमहासचिव शर्मा पक्षमा पनि आकांक्षीको संख्या अधिक रहेको थियो । उनको पक्षका विद्यार्थी नेताहरूमा नारायण खनाल, मदन भूल र क्षितिज सापकोटा, मदन भट्टराई लगायतका रहेका थिए । शर्मा पक्षले आफ्नो पक्षको एकल उम्मेदवार टुंगो लगाउन नपाउँदै सम्मेलन नै स्थगित हुन पुगेको छ ।

पूर्व वैद्य समूहले नरेश रेग्मीलाई अध्यक्षमा अघि सारेको थियो । रेग्मीको पक्षमा पार्टी उपाध्यक्ष भुसाल र महासचिव गुरुङ खुलेरै लागेका थिए । यिनै पार्टीका विभिन्न गुटका उम्मेदवारहरूबिचको आन्तरिक प्रतिस्पर्धा र यसलाई नेताहरुले प्रतिष्ठाको विषय बनाए पछि नेतृत्व चयनको नयाँ विकल्पस्वरुप २८÷३०÷३२ वर्षे उमेर हदको प्रस्तावमा मतदान गराउने प्रयत्न गरिएपनि त्यसमा समेत सहमति जुट्न सकेन ।

नेतृत्व चयनको यो विकल्प पनि सर्वसम्मत बन्न नसकेर उमेर हदको प्रस्तावको विषयमा विवाद हुँदा विद्यार्थी नेताहरूबिच भिडन्तको स्थिति सिर्जना भएको हो । यही विषयले महाधिवेशन नै अलपत्र परेको छ भने सम्मेलनमा सहभागी विद्यार्थीहरू आफ्नो संगठनको नेतृत्व नै चयन नगरेरै घर फर्किन थालेका छन् ।

माओवादी नेताहरूका आआफ्ना गुटगत स्वार्थ अनुरूप आफू निकटकालाई नेतृत्वमा अघि सार्ने प्रयत्न गरिएपछि उमेर हदको प्रावधानमा समेत मतैक्यता हुन नसक्दा मतदान मार्फत टुंगो लगाउन खोजिएको थियो । तर, उमेर हदका कारण नेतृत्वमा प्रतिस्पर्धा गर्न वञ्चित हुने भन्दै बहुसंख्यक आकांक्षीले चर्को विरोध गरेपछि निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेन ।

पुन पक्षधर अधिकांश विद्यार्थी नेताहरू ३२ वर्षभन्दा बढी भएकाले नै उनीहरूले उमेर हद लगाउने प्रस्तावमा मतदान प्रक्रिया अघि बढाउन नदिएको शर्मा पक्षधर विद्यार्थी नेताहरू बताउँछन् । यता पुन पक्षधर नेताहरूले भने क्षमताको मापन उमेरले नगर्ने भन्दै नेतृत्व चयनका लागि उमेर हद मान्य नहुने अडानमा छन् ।

हालका उपमहासचिवद्वय शर्मा र पुन गुटको प्रभाव अखिल(क्रान्तिकारी)मा २१ औँ राष्ट्रिय सम्मेलनदेखि नै पेचिलो तवरले देखिन थालेको हो । त्यतिबेला पनि शर्मा र पुन पक्षका नेताहरूबिच नै नेतृत्वमा प्रतिस्पर्धा भएको थियो ।

शर्मा पक्षबाट शर्माका आफ्नै भाइ अनिल शर्मा र पुन पक्षबाट रञ्जित तामाङबीच प्रतिस्पर्धा हुँदा पुन पक्षकै तामाङ निर्वाचित भएका थिए । त्यसपछि २२ औँ सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पञ्चा सिंहलाई प्रचण्डले अध्यक्ष बनाएका थिए ।

२३औँ राष्ट्रिय सम्मेलन सुरु भए पछि सिंह नेतृत्वको कार्यसमिति निवर्तमानमा परिणत भइसकेको छ । संगठनको नेतृत्व चयन आन्तरिक निर्वाचनमार्फत गर्ने प्रयोजनका लागि गठित सात सदस्यीय अध्यक्ष मण्डलले नै नयाँ नेतृत्व चयन नभएसम्म संगठनको दैनिक कार्यसञ्चालन गर्ने बताइएको छ ।

राष्ट्रिय सम्मेलनमा सहभागी विद्यार्थीहरू माउ पार्टीका नेताहरूको गुटगत स्वार्थ र उनीहरूको प्रतिष्ठाको लडाइँको कोपभाजनमा परेर आफ्नो संगठनको नेतृत्व चयन गर्न असमर्थ भएपछि रुष्ट बनेका छन् । पार्टीको गुटगत प्रभाव विद्यार्थी संगठनमा हाबी हुँदा नयाँ नेतृत्व चयन नभएरै सम्मेलन स्थगित भएपछि विभिन्न जिल्लाबाट राजधानीमा आएका विद्यार्थीहरू आक्रोशित हुँदै घर फर्किन थालेका छन् ।

दसैँको सम्मुखमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा व्याप्त लफडाले नेतृत्व चयन हुन नसकेर अन्योलग्रस्त बनेपछि त्यसमा सहभागी देशभरका विद्यार्थीहरूलाई बाढीपहिरोको जोखिमले घर फर्किन समेत सकस परेको छ ।

एकातिर राष्ट्रिय सम्मेलन पनि सफल हुन नसकेर अलपत्र भएका विद्यार्थी प्रतिनिधिहरू वर्षाका कारण आएको बाढी पहिरोले संकटपूर्ण यात्रा गर्दै घर फर्किनु पर्ने पीडाले आक्रान्त भएका छन् । दसैँको नजिकै राष्ट्रिय सम्मेलन आयोजना गरेर विद्यार्थीहरूलाई काठमाडौंमा बोलाइ आफ्नो निहित स्वार्थले सम्मेलन अलपत्र पारिएको भन्दै आफ्नै संगठनका नेताहरूको आलोचना गर्न थालेका छन् ।

बाढी पहिरोको कहरमा जोखिमपूर्ण यात्रा तय गर्दै घर फर्किनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका करिब दुई हजार बढी प्रतिनिधिहरूले पार्टी र संगठनका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

दसैँको सम्मुखमा संगठनको नयाँ कार्यसमिति चयन गर्न राष्ट्रिय सम्मेलनमा सहभागीहरूले आन्तरिक निर्वाचन मार्फत नेतृत्व छान्ने अधिकारबाट आफूहरूलाई वञ्चित गराएको भन्दै निवर्तमान अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा खनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्