काठमाडौँ, ८ जेठ ।
भारतसँगको सीमा विवादबारे नेपाली कलाकारहरु बोल्न थालेका छन् । राजेश हमालले लिम्पियाधुरा क्षेत्रबारे नेपालले सम्झौता नगर्ने र भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले नसहने बताएका छन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले भनेका छन्, ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार छैनन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’
उनले भनेका छन् ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरैरथोरै केही माग गरेको छैन ।’
भारतले चालेको कदमले नेपालीको भावनलाई मर्माहत पारेको हमालको भनाई छ । ‘वर्तमान अवस्थाको यो गतिविधि सह्य छैन । साधारण भाषामा यो अस्वीकार्य छ,’ भिडियोमा उनले भनेका छन्, ‘म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन । यो अब सरकारको विषय मात्र होइन । यो मुद्दा अब हरेक नेपालीको हो ।’
अन्य नेपाली कलाकारले समेत सीमा विवादमा भारतको आलोचना गरेका छन् । नायिका मनिषा कोइरालाले सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै भारतीय मिडियाले उनीमाथि अशब्य भाषा प्रयोग गरिरहेका छन् । तर, उनलाई नेपाली कलाकारले साथ दिएका छन् ।