Logo
Logo

चाडपर्वमा पनि बलेन सडकका बत्ती


252
Shares

सिरहा । रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ । लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक । यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिदैँ जान्छ, सडक उत्तिनै निष्पट्ट अधेँरो हुँदै जान्छ ।

स्थानीय सत्य नारायण चौधरी भन्छन्, ‘सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै होइन, स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घट्ना न्यूनीकरण हुनु पनि हो । अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ । त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले यही यस्तै बेला त हो नि अनैतिक क्रियाकलप गर्ने !’

उनी सहर बजार मानिएको लहानको यस मुख्य चोकमै सडकबत्ती नहुनुले राम्रो सन्देश नदिएको धारणा राख्छन् । ‘यो क्षेत्र अत्यधिक चोरी हुने ठाउँ हो । चोरले दिउँसै घर फोरौँला जस्तो गर्छन् । रातको समयमा सडकबत्ती नहुँदा उनीहरूले त्यसको फाइदा लिने सम्भावना हुन्छ । विगत लामो समयदेखि सडक बत्तीको लागि वडा कार्यालयदेखि नगरपालिकासम्म धाउँदा पनि समस्या समाधान हुँन सकेको छैन । चाडबाडको समयमा पनि बजार छेवैको सडक अन्धकार हुनु बत्तीमुनिको अँध्यारो भनेजस्तै जस्तै भयो’, चौधरीले भने ।

यस क्षेत्रमा रहेको वडा नं ८ मा पर्ने २ नं सडकमा भने गत वर्षदेखि स्मार्ट सडकबत्ती जडान गरिएको हुँदा झिलिमिलि रहेको छ । लामो समयदेखि हुलाक चोकदेखि उत्तर–पूर्वतर्फ जाने सडकमा सडकबत्ती नहुँदा सडक अन्धकार भएको सम्बन्धमा वडा अध्यक्ष रामनाथ पण्डितसमक्ष जिज्ञासा राख्दा उनले भने, ‘नगरपालिकाले ठेक्कामार्फत सडकबत्ती लगाउने हो । नगरसँग समन्वय गरेर आवश्यक सडकबत्तीको व्यवस्था गर्न पहल गर्नेछु ।’

नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका सम्पूर्ण सडकमा बत्ती जडानकाल लागि बर्सेनि ठेक्का लाग्ने गरेको र यस वर्षको लागि पनि ठेक्का लागिसकेकाले चाँडै समस्या समाधान हुने बताए । ‘हामी सडकबत्तीको व्यवस्थापनमा लागि नै रहेका छौँ । जडान नभएका ठाउँमा चालु आर्थिक वर्षभित्र काम हुन्छ । त्यसबाहेक चाडबाडको समयमा सडकबत्ती माग भएमा नगरले आवश्यक बल्ब उपलब्ध गराउने छ’, उनले भने । –रासस

प्रतिक्रिया दिनुहोस्