Logo
Logo

नेपालीका हाड किन कमजोर बन्दैछ ?


630
Shares

काठमाडौं । हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?

पाकापुरानाहरुबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उनीहरु उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, कामविशेष तथा बानी व्यहोराको तुलना गर्ने गर्छन् । उनीहरुका भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदैछैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन ।

घाँसका भारीसित लड्दा होस् या रुखबाट भूइँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव उनीहरु सुनाउँछन् । घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने । त्यसैले शारीरिक अभ्यास प्रशस्तमात्रामा पुग्ने उनीहरुको अनुभव छ । अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनौ भैँसीको घिउ र दूध एक्लैले खाने रे । त्यसकारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उहाँहरुको अनुभव छ ।

नेपालका हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत छन् । के नेपालीका हाड पाकापुस्ताहरुका यस्तै अनुभवजस्तै कमजोर हुँदै गएका हुन् ? डा भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्छन् । अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन् । ‘हिस्ट्र टेकिङ’ गर्दा उहाँहरु सामान्य रुपमा लडेको मात्र बताउनुहुन्छ तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ ।

हड्डीको यसप्रकारको रुग्णतामा डा भण्डारीले दिने कारण पनि उस्तै छ, खानपान, आहारविहार र अहिलेको खानाको शुद्धतामा ह्रास । उनी भन्छन्, ‘खानपान त उही हो, धेरैको जङ्कफुड (बजारमा पाइने तयारी खाना) नै हुन्छ र शारीरिक अभ्यास छैन । खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ । उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सक्रियता कम । तर उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरुको प्रचुरता फरक पर्दै गएको छ । शुद्धतामा ह्रास आइरहेको छ ।’
उही खानेकुरामा पनि पहिले र अहिले पाइने प्रोटिनको शुद्धतामा किन फरक ? यसको कारण विषादिको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मलको प्रयोग हो । यसले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उहाँको तर्क छ । त्यसैगरी ‘आउटडोर एक्टिभिटीज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्था समेत देखिएको डा भण्डारीको भनाई छ ।

अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेलमैदानको उपलब्धता नै नभएको उनको भनाई छ । ‘हेर्नुहोस् न बालबालिकालाई खेल्न न विद्यालयमा खेल मैदान छन् र नत घरमै । विद्यालय पनि प्रायः बाटोका नजिक या सँघुरा जमिनमा बनेका छन् जहाँ खेल्नका लागि जमिन नै छैन । घरको त झन् कुरै भएन, चार आना भएपछि घर बनाउने घडेरी पुगिहाल्यो, केटाकेटीलाई खेल्ने मैदानका बारेका कसले सोचिदिने ? यसरी शहरका बालबालिका साँघुरोमै खुम्चिएर बस्नुपर्दा तिनका हाडले शारीरिक तन्दुरुस्ती बन्न पाएका छैनन्’ डा भण्डारीको भनाइ छ ।

उनका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यकपर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै जानाका अरु केही कारण हुन् । हाम्रो शरीरमा भिटामिन डीको मात्रा विश्वस्वास्थ्य सङ्गठनले तोेकेको मात्राभन्दा कम रहेको उनी बताउँछन् ।
जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा भण्डारी विशेषगरी अहिलेको बालिबालिकाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, ‘बालबालिकाको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ । उनीहरुका हातखुट्टा त खुर्सानीको बोटजस्तै बन्दै गएका छन्, अलिकति बल गर्यो कि पिटिक्क भाँचिने । कारण त तिनै हुन् खानपान र आहारविहार । कारण धेरै होलान् दिनप्रतिदिन कमजोर बन्दै गएको देख्छु उनीहरुको हड्डी ।’

उनको अनुभवमा अहिलेको पुस्ता एक तला पनि भ¥याङ चढ्न अल्छी मान्छ, लिफ्ट छ भने त्यसैबाट जान्छ । अरु पनि यस्तै हो कि पसिना निकालेर काम गर्न चाहँदैन । बजारको खानाको उपभोगमा बृद्धि, रक्सी तथा अन्य मादक पदार्थहरुको सेवनले पनि हाडको क्षयीकरणमा योगदान थप्दै गएको देखिएको छ भने विस्तारै न्युट्रेसनमा भएको कमीले हाडको कमजोरीलाई थप बलियो बनाउँदै लगेको छ । शरीरमा लाग्ने चोटपटक र त्यसको समयमै उपचारको कमी, बाथरोगलगायत विभिन्न रोग तथा जेनेटिक त यो समस्याका रैथाने कारण छँदैछन् ।
यो अवस्थाको निराकरणका उपायहरु सुझाउँदा डा भण्डारी सबैभन्दा आवश्यक क्याल्सियम, खनिज र प्रोटिनको उपलब्धतालाई देख्नुहुन्छ । नियमित शारीरिक अभ्यास, स्वस्थ खाना र योगा हड्डी बलियो बनाउने अरु उपाय हुन् । यी आनीबानीले हाड मात्र बलियो बनाउने नभएर अन्य शरीरिक स्वास्थ्यमा पनि लाभ पुर्याउँछ । सुगर होस् या अरु रोग बढ्न नदिन पनि यो व्यायामले सघाउ पुर्याउनेछ ।

मानिसका हाड बलियो बनाउन उहाँले नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रुपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाडजोर्नीको महत्व र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ । हाडसम्बन्धी रोगले शरीरका अरु अङ्गलाई पनि क्षति गर्ने तथा शारीरिक अपाङ्गतासमेत हुनसक्ने भएकाले यसको संवेदनशीलताको प्रचार अझ बढी आवश्यक रहेको उनको भनाई छ ।

‘हाडजोर्नीको उपचार जटिल नहुँदै र तुरुन्तै गर्न पायो भने पक्षाघात हुनबाट जोगाउन सकिन्छ । मेरुदण्डको चोटपटक झनै संवेदनशील विषय हो । उपचार ढिला हुँदा कतिपय त जीवनभर नै उपचार गराइरहनुपर्ने, अपाङ्गता हुने आदि हुन्छ । परिवार पाल्नुपर्ने सदस्य नै यस्तो भइदियो भने त झन् त्यो व्यक्तिमात्र नभएर परिवारले नै दुःख पाउने भयो नि । यस विषयमा नागरिक पनि सजग हुनु जरुरी छ’ डा भण्डारी भन्छन् ।
नेपालमा पहिलेको तुलनामा हाडजोर्नीसम्बन्धी रोगको उपचार सहज र सरल बन्दै गएको र अहिले जनशक्ति पनि थपिँदै गएका उनले सुनाए । उनले भने, ‘अहिले हाडजोर्नीसम्बन्धी रोगको उपचार निकै नै जटिल हो । जनशक्तिको अभाव त छँदै थियो, अनुसन्धान र सर्जरीका लागि उपकरणहरुको अभाव झन् बढी थियो । पहिले अर्थाेको उपचारमा काठमाडौँ बाहिर पनि हामी जानुपर्दथ्यो, तर अहिले त्यस्तो छैन’, डा भण्डारीले सुनाए । (रासस)

प्रतिक्रिया दिनुहोस्