Logo
Logo

चीनको वृद्धाश्रमले थपेको अर्को सपना


3.5k
Shares

समयसँग म प्रार्थना गर्दै थिएँ– “मलाई अझै राम्रा सपना देउ र सपना साकार पार्ने बाटो देऊ ।” स्वप्नदर्शी त थिएँ नै, किशोरावस्थादेखि देश र जनताका निम्ति नै देखेका सपनाले डो¥याएर दैवले नदिएका दुःख पनि आफैँ खोज्दै हिँडेकी थिएँ– सपनाकै यात्रामा ।

अझै पनि सपना देख्ने समय बितिसकेको थिएन– जीवनको पूर्वाद्धमै थिएँ । कुनै बेलाको ‘सपनाको देश’ चीनमा ३ वर्ष बितिसकेको थियो । त्यो सपनाको देशका मानिसहरूको पनि आफ्नै किसिमका दुःख देखेँ, त्यति ठुलो आन्दोलन पनि देखेँ । त्यसपछि लाग्न थाल्यो दुःख भन्ने कुरा साँच्चै सर्वव्यापी नै हो ? दुःख हुँदै नभएको देश कतै होला कि नहोला ?

तर चिनियाँहरू रातदिन नभनि दुःखसँग जुझ्दैथिए । उनीहरू आर्थिक समृद्धि र आधुनिकीकरणका निम्ति खटिरहेका थिए । शाङ्हाईमा औद्योगिक विकासमात्र होइन, सबै किसिमका निर्माण कार्य द्रुत गतिमा भइरहेका थिए ।

भर्खर पुग्दाको चीनभन्दा तीन वर्षको अन्तरालमै सबैले देख्ने गरी ठूलो परिवर्तन भइसकेको थियो । आफ्नो देशबाट भने दुःखकै खबर मात्र आइरहन्थ्यो । झन् छिमेकीले नाकाबन्दी गरेर दुःखमाथि दुःख थपिदिएको कुराले नरमाइलो हुनु स्वाभाविक नै थियो ।

त्यो बेलाका युवा क्रान्तिकारी पत्रकार साथी रघुजीले एक थुप्रो पत्रिकाहरू पठाइदिएका थिए । ती सबै एकैचोटी पढिसक्न हतार लागेको थियो । खाना बनाउँदै गर्दा र खाना खाँदाखाँदै पनि पल्टाउँथेँ । सबै उस्तै खबर । उही व्यथा, उस्तै सुस्केरा । प्रगतिको कुरा कतै केही थिएन । नाकाबन्दीकै कुरा थियो धेरै । त्यही बेला सुनें मेरी सहयोद्धा साथी अष्टलक्ष्मी जेल परेको कुरा, मन ज्यादै नमज्जा लाग्यो । देशमा अझै धेरै दुःख नबढोस् भन्ने लागिरहन्थ्यो ।

तर, अझै त उमेर बाँकी थियो । अझै केही गरौँ भन्ने लाग्थ्यो । के गर्ने भन्ने कुरा सोचिरहन्थें । फेरि विद्यार्थी भएकी थिएँ । एकचोटी “मैले पनि ‘होमवर्क’ गर्नुपर्छ’’ भन्दा ७ वर्षकी छोरीले भनेकी थिई – “मामु पनि विद्यार्थी ?’’ त्यतिबेला मैले भनेकी थिएँ – “म अस्सी वर्षसम्म बाँचेछु भने त्यतिबेला पनि म विद्यार्थी नै हुन्छु । पढ्छु, सिक्छु, नयाँ कुरा सिक्न छोड्दिन …।’’

त्योबेला छोरीलाई पढ्न प्रेरणा मिलोस् भनेर पनि यसो भनेकी थिएँ । तर, अझैपनि त्यो बेलाजस्तै विद्यार्थी नै छु जस्तो लाग्छ । सकेसम्म पढ्दैछु, लेख्दैछु । त्यो बेला बुढेसकाल भनेको कति गाह्रो होला भनेर अनुमान गर्थेँ । आमालाई सम्झिन्थेँ । काठमाडौँ छोड्ने बेलासम्म त आमा अझै बुढेसकालमै पुगिसक्नु भएको जस्तो लागेको थिएन । तर, अब भने मलाई किन किन बुढेसकालसँग डरजस्तो हुन थालेको थियो । बुढो भएपछि पनि निष्क्रियता कहिल्यै नहोस् भन्ने कामना गर्थेँ ।

पशुपतिको वृद्धाश्रमको बिजोग देखेकी थिएँ । त्यो बेला मैले थाहा पाएसम्म देशमा एउटै मात्र सरकारी वृद्धाश्रम थियो । तर, राम्रो बन्दोबस्त थिएन । बुढेसकाल लाग्नु अनि त्यस्तो बृद्धाश्रममा बस्नुपर्ने अवस्था कति दयनीय हुन्छ होला भन्ने लाग्थ्यो ।

पछि ज्येष्ठ नागरिकहरूको निम्ति पनि काम गर्न सकियोस्, सके एउटा व्यवस्थित वृद्धाश्रम पनि बनाउन सकियोस् भन्ने लागिरह्न्थ्यो । सपनाहरूको हूलमा त्यो अर्को सपना थपिएको थियो ।

नेपालमा पहिले पहिले कम्युनिष्ट विरोधीहरूले चलाउने गरेको एउटा हल्ला बिर्सेकी थिईन । “चीनमा कम्युनिष्टहरूले ६० वर्ष पुगेका बुढाबुढीलाई काम गर्न सक्दैनन् भनेर मारिदिन्छन्’’ भन्थे । आफूले कहिल्यै नपत्याए पनि यो डरलाग्दो हल्ला थियो ।

चीनमा नै पुगिसकेपछि देखेँ –बुढाबुढीलाई कति सम्मानपूर्वक जीवनयापन दिइएको रहेछ भन्ने कुरा । पेन्सन पाएका बुढाबुढी घरमा पनि आनन्दसँगै बसेका र छोराछोरीले पनि माया गरी राखेकै देख्थेँ । बाबुआमा छोरासँग नै बस्नुपर्छ भन्ने थिएन ।

छोरीको घरमा बस्ने बुढाबुढी देख्दा एक किसिमको आनन्द लाग्थ्यो । छोराछोरीको बीचमा कानूनी विभेद थिएन । तर, पिछडिएका क्षेत्र र गाउँघरमा भने अझै पनि छोरा पाउन खोज्ने नै धेरै हुन्छन् भन्ने सुनिन्थ्यो ।

एकपल्ट चीनका वृद्धाश्रमहरू आफ्नै आँखाले हेर्न मन लाग्यो । छोराछोरी कोही नभएका बुढाबुढी कसरी बस्दा रहेछन् भन्ने बुझ्न मन लाग्यो । अनि युनिभर्सिटीको प्रशासनसँग कुरा गरेँ– हामीलाई एकपल्ट वृद्धाश्रम देखाउन लानुस् न भनेर । उनीहरूले ईच्छुक विद्यार्थीलाई आफै एउटा गाडीमा राखेर एउटा वृद्धाश्रम अवलोकनका लागि लगिदिए ।

सफा ठाउँ, आनन्दले घाम तापिरहेका बुढाबुढी । कोही कला सृजना गरिरहेका । कोही हल्काफुल्का काम गरिरहेका । कोही लेख्दैछन्, कोही आफूखुसी घुम्दैछन्, कोही आराम गरिरहेका छन्, कोही गफ गरिरहेका … ती बुढाबुढी देख्दा मन सञ्चो भयो । तस्बिरहरू पनि खिचेँ ।

हामी विद्यार्थीहरू आफुलाई मनलागेका बुढाबुढीसँग कुरा गर्न थाल्यौँ । आफ्नो देशमा मैले देखेको पशुपतिको वृद्धाश्रमभन्दा धेरै फरक थियो यो । उनीहरू त वृद्धाश्रमलाई अझ इज्जतका साथ “लाओरन् तास्वे“ भन्दा रहछन् । लाओरन् भनेको वृद्ध, तास्वे भनेको विश्वविद्यालय ।

जीवनभर सिकेका पाठहरू, सीपहरू अरुलाई पनि सिकाउने पाठशाला । यो धारणा मलाई ज्यादै मन प¥यो । मेरो देशमा पनि यस्तो भइदिए हुने भन्ने मनमा लाग्यो । पछि देश फर्केपछि ज्येष्ठ नागरिकका निम्ति काम गर्न जे जति प्रयत्न गरेँ, त्यसमा त्यो “वृद्ध विश्वविद्यालय’’ले दिएको प्रेरणाले पनि काम ग¥यो ।

वृद्धाश्रममा एउटा अर्को रमाइलो कुरा पनि देखेकी थिएँ – एउटा छुट्टै कोठामा एउटी वृद्धा देखें । कोठा सिङ्गारिएको थियो, भित्र रातो सिरक देखिन्थ्यो– दुलहीको जस्तो । साँच्चै नै उनको भर्खरै बिहे भएको रहेछ । उनी ७६ वर्षकी, उनको दुलाहा ८० वर्षका रे । बुढालाई भने देखिन– उनी नजिकैको खोलामा माछा मार्न गएका रहेछन् । एउटा वृद्धाश्रममा पुगेका बुढाबुढीको बीचमा प्रेम भएपछि आश्रमले नै बिहे गरिदिएको रहेछ ।

कहिले सार्वजनिक पार्कको “लाओरन् डिस्को’’ मा बुढाबुढी नाचिरहेका अनि कहिले यसरी सुव्यवस्थित वृध्दाश्रमलाई यसरी शान्तिपूर्वक बसेका बुढाबुढी देख्दा हाम्रै देशमा पनि यस्तै सुव्यवस्थित वृद्धाश्रम खोल्न सके हुने भन्ने इच्छा जागेको थियो । फर्केपछि ज्येष्ठ नागरिकका निम्ति भनेर सांगठनिक रुपमा पनि केही काम पनि गरेँ– देशका दिग्गज ज्येष्ठ नागरिकहरू प्रा.डा. लिलादेवी केसी, हुतराम वैद्य, डा. राधाकृष्ण जोशी, भैरव रिसाल आदि संलग्न ज्येष्ठ नागरिक सञ्जाल बनाएर ।

त्यो बेला म एकजना कनिष्ठ सदस्य थिएँ । त्यही बेला त्यसबेलाका ज्येष्ठ नागरिकबाट सबैलाई प्रेरणा मिलोस् भनेर लेखेको पुस्तक हो ‘इतिहासका जिउँदा पानाहरू ।’

ज्येष्ठ नागरिक महासंघ नै बनेर देशका जेष्ठ नागरिकसँग सम्बन्धित नीति निर्माणका कामहरू हुन थालेपछि मैले व्यक्तिगत रुपमा दौडिरहनुपर्ने आवश्यकता भएन । त्यो बेला जे जति गर्न सकेँ, त्यसमा सन्तोष लागेको छ ।

प्रतिक्रिया दिनुहोस्