Logo
Logo

खान जाने दशैं, नजाने दशा


126
Shares

काठमाडौं । दशैँ भन्नेबित्तिकै ‘मासु, तास र रक्सी’ सबैभन्दा अगाडि आउँछ । टीका लगाउन पुगेको ठाउँमा पनि केही न केही खानेकुरा दिइरहेका हुन्छन् । घरमा जमघट छ । रक्सी पिउने र तास खेल्ने योजना छ भने अलि बढी ख्याल गर्नुपर्छ ।

पछिल्लो समय परिवार तथा आफन्तजनसँगको भेटघाटलाई खुसीको रूपमा मनाउनलाई चाडपर्वमा रक्सीको प्रयोग व्यापक हुने गरेको पाइन्छ । चिकित्सकका अनुसार रक्सी कहिल्यै पनि स्वास्थ्यको हिसाबले राम्रो मानिँदैन ।

स्वास्थ्यको ख्याल राख्ने हो भने रक्सी सेवन नगरेकै राम्रो । तर, सेवन गर्नैपरे मासुको परिकार धेरै खानु हुँदैन । मासुभन्दा पनि सलाद, भटमास, बदाम साँधेर रक्सी सकिन्छ । मासु नै खानुपर्ने अवस्थामा उसिनेकोलाई साँधेर पनि खान सकिन्छ ।

त्यस्तै, विभिन्न चिप्सलगायत जंक फुडहरूभन्दा पनि ओखर, बदामको प्रयोग गर्न सकिन्छ । र, यस्ता खानेकुराहरू स्वस्थकर पनि मानिन्छन् । चाडपर्वमा हरेक खानेकुरालाई स्वस्थकर बनाउन सकिन्छ ।

थोरै रक्सी सेवन गरे पनि पानी धेरै पिउनुपर्ने जानकारहरू बताउँछन् । त्यस्तै, अमेरिकाको नेसनल इन्स्टिच्युट अफ अल्कोहल अब्युज एन्ड अल्कोहलिज्मको मापदण्डअनुसार एक दिनमा दुई पेगभन्दा बढी मदिराको सेवन गर्नु हुँदैन ।

चाडपर्वमा सन्तुलित खानपान गर्न चिकित्सकले सुझाव दिएका छन् । मासु र चिल्लो पदार्थ अत्यधिक नखान चिकित्सकको सुझाव छ ।

कति खाने मासु ?
दसैंमा विशेषगरी चिल्लो भएको मासुका परिकार बढी खाइन्छ । विशेष गरी मासुमा प्रोटिन तथा फ्याट जस्ता तत्त्व पाइन्छन् । त्यसैले मासु धेरै खाए अपच हुने तथा स्वास्थ्यमा गडबडी हुने चिकित्सक बताउँछन् ।

मासु खाने व्यक्तिको शरीरको वृद्धि–विकासमा समेत सहयोग मिल्ने चिकित्सक बताउँछन् । विशेष गरी बढ्दो उमेरका व्यक्तिले सन्तुलित रूपमा मासु खाँदा शरीरको वृद्धि विकासमा सहयोग पुग्छ र सबै उमेर समूहका व्यक्तिमा शरीर मजबुत बनाउन सहयोग मिल्ने चिकित्सकको मत छ । पाको उमेरका व्यक्तिका लागि भने यसमा भएको प्रोटिनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत मिल्छ ।

शरीरका कोशिका पुन उत्पादनका लागि पनि मासुमा पाइने प्रोटिनले सहयोगी भूमिका खेल्ने चिकित्सक बताउँछन् । तरिका पुर्याएर मासु नखाएको अवस्थामा भने बेफाइदा गर्ने भएकाले सन्तुलित रूपमा मासु खान चिकित्सकको सुझाव छ ।

रातो मासु सकेसम्म खानु हुँदैन । कुखुरा, माछा र अस्ट्रिचको मासु खानु राम्रो हुन्छ । त्यस्तै मासु भुटेर राख्नु हुदैन । भुटेर राखेको मासुले शरिरलाई हानी गर्छ ।

पोलेको, भुटेको तथा तारेको मासु धेरै निरन्तर खाँदा रक्तनली फुटेर बेहोस हुने, मस्तिष्कमा रगत जम्ने, हृदयाघात हुने, मिर्गौलाले छान्ने–पुनः सोस्ने प्रक्रिया नगर्ने जस्ता समस्या देखिने गर्छ । तारेको भुटेको, पोलेको मासु धेरै खायो अपज हुनुका साथै क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन् । बासी मासु खाँदा फुडफोइजनको जोखिम हुन्छ ।

बोसिलो मासुले मुटुमा समेत असर गर्छ । बोसो धेरै भएको मासु खाए रगतका धमनीमा जम्न सक्छ । यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘आथेरोस्क्लेरोसिस्’ भनिन्छ । धमनीमा बोसो जम्दै गए रक्तसञ्चारमा समस्या उत्पन्न भई हृदयाघातको जोखिम हुने चिकित्सक बताउँछन् ।

रक्तचाप र सुगरको समस्या भएका व्यक्तिले रातो मासु खाँदा हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । रातो मासु बढी खानाले रक्तचाप र सुगरको समस्या समेत निम्तनसक्नेतर्फ चिकित्सकहरूले सजग गराएका छन् ।

चिकित्सकको मत अनुसार रातो मासुमा बोसोको मात्रा बढी हुन्छ । जसले मुटुको समस्या निम्तने जोखिम हुन्छ । प्रोटिनको मात्रा बढी भए मिर्गौलाको खराबी हुने चिकित्सक बताउँछन् ।

खसी–बोका तथा राँगोमा रातो मासु पाइने भएकाले विशेष गरी पाको उमेरका व्यक्तिका लागि यस्ता मासु खानु लाभदायक नहुने चिकित्सक बताउँछन् । मासु पकाउँदा चिल्लो कम हुनुपर्ने चिकित्सकको सुझाव छ । मासुमा भएको चिल्लो पानीमा बफाएर कम गरेर मासु पकाउनु उचित हुन्छ ।

मासु र रक्सी खाँदा आन्द्राको चाल बिग्रने भएकाले मासु र रक्सी सेवन गर्न नहुने चिकित्सक बताउँछन् । मासुसँगै हरियो सागपात खानुपर्छ । सागसब्जी, मुला, गाँजर, सिमी, स्कुस, फर्सी, चिचिन्डा, लौकाजस्ता फाइबरयुक्त खानपान गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्