Logo
Logo

इलाम : प्राकृतिक स्टुडियो


अतित योङहाङ

1.2k
Shares

‘उडीउडी हिँड्छ मन चियाबारीमा’ पुरानो नेपाली चलचित्र ‘साथी’मा अटेको यो गीतको छायाँकन इलामको कन्याम चियाबारी र आसपासमा भएको थियो । राजेश हमाल र करिष्मा मानन्धर मुख्य भूमिकामा रहेको साथी त्यतिबेलाको सफल र चलेको चलचित्र हो ।

शेखर कोइरालाको निर्माणमा लक्ष्मीनाथ शर्माले निर्देशन गरेको साथीको अर्को चर्चित गीत ‘मलाई पनि अंग्रेजीमा’समेत इलामको श्रीअन्तुलगायत स्थानमा छायांकन भयो । समग्रमा साथीको छायांकन इलाममै भयो । चलचित्रले इलामको चियाबारी र पर्यटन विकासमा एउटा बाटो खुलायो ।

गीततर्फ ‘इलामे सहर चियाबारी राम्रो’ कुनै समय रेडियो नेपालमा धेरै गुञ्जियो । गंगाराज मुकारुङको शब्दमा कुन्ती मोक्तान र बुलु मुकारुङले स्वर दिएको गीत हो यो । गीत चर्चित भयो । सबैको मुखमा झुन्डियो । यो गीतले इलामलाई थप चर्चामा ल्यायो । त्यसो त, इलाम भन्नेबित्तिकै धेरैको मुखबाट प्वाक्क निस्कने शब्द हो– आहा ! झुल्केघामको जिल्ला, चियाबारीको राजधानी । नागबेली बाटो, बादलुको घुम्टो । प्राकृतिक सौन्दर्यको खानी, पहाडकी रानी । जति उपनाम दिएपनि अपुगै हुने ।

लामसँग चियाबारीको सम्बन्ध नङ–मासुको झैँ छ । त्यसैले त इलाम भन्नेबित्तिकै चियाबारी र चियाबारी भन्ने बित्तिकै इलाम याद आउँछ । सायद, चियाबारी र इलामको सौन्दर्यले लोभ्याएको हुनुपर्छ, यहाँ सयौँ म्युजिक भिडियो छायांकन भए । दर्जनौँ चलचित्र खिचिए । कति चलचित्र सफलताको शिखरमा पुगे र भरपुर कमाइसमेत गरे ।

इलाम देशमै लोपोन्मुख लेप्चा जातिको मुख्य बसोबासस्थल पनि हो । अनि, विभिन्न आठ ‘अ’ले प्रसिद्ध जिल्ला । अलैँची, अदुवा, अकबरे, अर्थोडक्स, ओलन, अम्लिसो, आलु र अतिथि सत्कार आदि । यो हरितकृषिको जिल्ला हो । मनमोहक सौन्दर्यले भरिपूर्ण इलाम सबैको रोजाइमा पर्छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक । विभिन्न जातजातिको बसोबास रहेको जिल्ला, सांस्कृतिक धरोहर, प्राचीन मठमन्दिर र गुम्बाको जिल्ला इलाम, किसिम–किसिमका पुतली, चराचुरुङ्गी, दुर्लभ रेडपान्डा, माइपोखरी, हाँसपोखरी, टोड्के झरना, गजुरमुखीधाम, सन्दकपुरलगायत यहाँका लोभ्याउने ठाउँ ।

भूपि शेरचनले लेखेका छन्– ‘हरियो भरिलो इलामलाई देख्दा नेपालभरि अलि–अलि इलाम छर्न मन लाग्यो ।’ इलामलाई सबैले आ–आफ्नै तरिकाले व्याख्या गर्छन् । इतिहासकार युद्धप्रसाद वैद्यका शब्दमा ‘इलाम नकुँदिएको हीरा हो, यसलाई कुँद्ने सिल्पी र जाँगरको खाँचो छ ।’ प्रसिद्ध लेखक कर्ण शाक्य भन्छन्, ‘जिन्दगीको कुनै मोडमा अल्छी लागे इलाम घुम्न जानू ।’ इलामबारे चर्चा गर्ने नेता, लेखक, कवि कति छन् कति । यहाँ चाहिँ गीत–संगीत र चलचित्र क्षेत्रले इलामका लागि गरेको योगदानबारे चर्चा गरौं ।
गीत–संगीत

गीतको सरुआत लोकगीतबाट भएको मानिन्छ । लोकगीत समाजको ऐना हो । गाउँघरका संस्कार, संस्कृति झल्काउँदै समग जनजीवन बोकेर निर्मित गीत नै लोकगीत हुन् । नेपाली समाज, लेकबेंसी, डाँडाकाँडा, कुनाकाप्चा, कन्दरा अनि थुमथुममा, सामाजिक जनजीवनलाई पतिनिधित्व गर्दै गाइएका लोकभाका लोकगीत हुन् ।

इलामको संस्कृति र गीतसंगीतको सम्बन्ध गज्जबको छ । खासगरी इलामका थमथुममा विभिन्न समुदायको संस्कृतिमा आधारित हाक्पारे–ख्याली, रत्यौली संगिनी, तामाङसेलो, साकेला–सान्केवा नाच्दा उत्रिएका भाका, लाखे–घोडे नाच नाच्दा बाजागाजासँगै गुञ्जिएका शैली मेलाबजारमा नाच्दा गाइएका पालामका भाका नै सरुआतका इलामका गीतसंगीत रहेको संस्कृतिबारे जानकार मोहनसिंह थेबे बताउँछन् ।

लोकगायक तथा लेखक टंक केसी लोकगीतमा गाइने भाका र लोकगीतका शब्दले मात्र लेकबेंसी, गाउँघर, सहरबजार, नेपाली परिवेश अनि समग्र नेपालीका संस्कृतिलाई न्याय दिने बताउँछन् । अर्थात्, लोकगीतमा मात्र सबैथोक अटाउन सकिन्छ । लोकगीतकै भाका र विकाससँगसँगै हाल आधुनिक गीत–संगीत विकास हुँदैगएको छ ।

गीत प्रकाशन र आरम्भ, इतिहासको अलग–अलग कालखण्डमा भएको हो । नेपाली आधुनिक गीतको लेखन प्रस्ट रूपमा भने मोतीराम भट्टबाट सुरु भएको पाइन्छ । तर, गीत–संगीत प्रसारण र रेकर्डिङ भने डेढ सय वर्षअघि सुरु भएको मानिन्छ ।
नेपाली गीतको पहिलो संकलन हाजिरमान राईको ‘मीठा–मीठा’ गीत (सन् १९०१) हो । जसको दोस्रो संस्करण सन् १९०८ मा प्रकाशन भयो । रेकर्डिङका हिसाबले सेतुरामको पहिलो गीत १९६५ सालमा भएको मानिन्छ । यसरी १९६० सालको दशकमा आरम्भ भइ २००७ सालपछि नेपाली गीत–संगीतको तीव्र विकास भएको मानिन्छ । हाल विकसित नेपाली आधुनिक गीत–संगीतलाई सुगम शैलीको आधुनिक गीत–संगीत भन्न थालिएको छ ।

इलामका लोकगायक तथा संगीतकार मदन दीपविमको ‘ल है माया नमारे आउनु घुम्दै इलाम बजार’, लोकगायक देवी गौतमको ‘मंगलबारे डाँडामा लै लै बुधबारे हाट लाग्ने’, लोकगायक तथा लेखक टंक केसीको ‘फाकफोकै पारि जितपुरै बजार’, गायक पूजन प्रधानको ‘बिहीबारे हाट इलामै बजार लाग्दैछ गम्केर’, मुरारी गुरागाईंको ‘सिद्धिथुम्का गुञ्जियो है मेरो शिरमाथि’लगायत पुराना इलामे प्रख्यात गीत हुन् । यी गीतले इलामको लोकभाका र विकसित आधुनिक गीतको शैली पनि टिपेका छन् । गीतले इलामको लोक–संस्कृति, जनजीवन, समाज चित्रण र पर्यटकीय गन्तव्यको बयान गरेका छन् ।

गायक रोशन गुरुङको ‘रेशमैको पछ््यौरी अल्झेछ’ र ‘इलामले सम्झायो माया’, यम बरालको ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, जगदीश समालको ‘सबै पीडा भुलें मैले इलामको बसाइमा’, कुबेर राईको ‘इलामैको डाँडापाखा चियाबारी छ है राम्रो’, बलराम समालको ‘इलामैको न्यानो बस्ती नौ डाँडापारि छ’, निलम आङबुहाङ राईले लेखेको र सञ्जिवनीले गाएको ‘पानी मीठो मेरो हजुर इलाम बजारको’ आदि उत्तिकै लोकप्रिय र चर्चित छन् । यिनले इलामको पर्यटनमा टेवा दिएका छन् ।

पछिल्ले समय कोमल निरौलाको शब्द ‘इलाम हाम्रो गौरव’, जीतबहादुर राईको रचना ‘माइजोगमाई हाम्रो सान’, गायिका सुनिता थेगिम र अशोक मुकारुङको रिमेक ‘ इलामे सहर चियाबारी राम्रो’, मेलिना राईको ‘भन्छन् सबैले इलामलाई पहाडकी रानी’ र ‘आउन घुम्न इलामतिर’, ‘मन थुलुङको इलाम हाम्रो सान’ चर्चित भए ।

मिलन नेवारको ‘अन्तुबाट झुल्क्यो घाम’, रचना रिमाल र सुशील भट्टराईको ‘ इलाम कन्याम स्वर्गजस्तै ठाउँ’, अञ्जु पन्त र सुन्दर योङहाङको ‘मेरो प्यारो इलाम जन्मगाउँ’, झुमा निरौलाको ‘हेर कान्छा इलाम हाम्रो’, भूपेन्द्र राईको ‘इलाम राम्रो चियाबारी’, सुनिता थेगिम र राजेशपायल राईको ‘कात्तिके मेला गजुरमुखीधाम सँगसँगै भरौंला’लगायत इलामे गीत पनि उस्तै चर्चित बने र यी गीत म्युजिक भिडियोसँगै इलामका सुन्दर पर्यटकीयस्थलको दृश्यसहित आउनाले इलामको पर्यटन प्रचारप्रसारमा समेत उल्लेख्य भूमिका निर्वाह गर्न सफल भए ।

इलामबारे गाइएका गीत २ सयभन्दा बढी रहेको अनुमान छ । यो पंक्तिकार अहिले इलामे गीतको खोज–अनुसन्धान गरी पुस्तकाकार पस्किने सिलसिलामा छ ।

चलचित्र

नेपालमा सबैभन्दा पहिले सरकारी लगानीमा चलचित्र ‘आमा’ बन्यो । २०२१ सालमा बनेको ‘आमा’लाई हीरासिंह खत्रीले निर्देशन गरे । यो देशमा बनेको पहिलो चलचित्र हो । तर, नेपाली भाषामा भने २००७ सालमै भारतमा ‘सत्य हरिश्चन्द्र’ बनेको थियो । नेपालमा बनेको पहिलो रंगीन चलचित्र भने ‘कुमारी’ हो । चलचित्र, संगीत र रंगमञ्चको इतिहास प्राचीनकालदेखि नै रहिआएको देखिन्छ ।

रंगमञ्च र चलचित्र सबैको मन–मनमा छन् । विश्वमा सन् १८९० देखि नै चलचित्रको इतिहास भेटिन्छ । फ्रान्सका लुमियर दाजुभाइले दस छोटा चलचित्र प्रदर्शन गरेपछि चलचित्रको सुरुआत भएको मानिन्छ । त्यसपछि अमेरिका, इटली, भारत हुँदै नेपालमा समेत चलचित्र क्षेत्र जोडिँदैआएको पाइन्छ ।

चलचित्र निर्माण हुँदैजाँदा इलाम पनि छायांकनको केन्द्रका रूपमा निर्माता र कलाकारको रोजाइमा प¥यो । ५०–६० को दशकमा इलाममा ‘लाहुरे’, साथी, ‘आमाको काख’लगायत चलचित्र छायांकन भए । ‘दर्पणछायाँ’लगायत सफल चलचित्रका निर्देशकसमेत रहेका तुलसी घिमिरेले निर्देशन गरेको ‘लाहुरे’मा समाविष्ट स्वरसम्राट नारायणगोपाल र आशा भोस्लेको आवाजमा सजिएको ‘पहाडको माथि– माथि’, त्यही चलचित्रको ‘सधैँ उडी हिँड्ने बादललाई (चियाबारीमा हो चियाबारी)’ र ‘वीरताको चिनो’लगायत गीतको छायांकन कन्याम र इलामकै पूर्वी भेगमा भयो ।

यसले पनि इलामको थप प्रवर्धन ग¥यो । भारत दार्जिलिङमा छायांकन भएको चलचित्र ‘आमाको काख’को केही अंश इलामको गोर्खेलगायत ठाउँमा पनि छायांकन भयो । चलचित्र ‘साथी’का गीत र चलचित्रको केही अंश इलाममै छायांकन भयो । ‘पूर्वका तारा’ सहिद रत्नकुमार बान्तावाको जीवनीमा आधारित चलचित्र ‘देउमाईको किनारमा’ इलाममै छायांकन भएको हो ।

कम्युनिस्ट आन्दोलनका योद्धा बान्तावाले सहादत प्राप्त गरेको भूमि इभाङ, जन्मभूमि चमैताको चित्रे र इलाममा छायांकन भएको चलचित्रले तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको दमन र त्यसमाथिको संघर्षको कथा बोकेको छ । ६०–७० को दशकमा पनि इलाममा चलचित्र छायांकन भए ।

त्यतिबेलाका ‘सुपरस्टार’ चक्लेटी अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित ‘मेरो एउटा साथी छ’ सुपरहिट चलचित्र बन्यो । चलचित्रमा आर्यन र नम्रतासँगै जीवन लुइँटेल, दयाहाङ राई, सुष्मा कार्कीलगायत कलाकार सहायक भूमिकामा छन् । यो चलचित्र इलामको लभडाँडालगायत रमणीयस्थलमा छायांकन भयो । ७०–८० को दशकमा भने सबैभन्दा बढी चलचित्र इलाममा छायांकन भएको तथ्यांक भेटिन्छ ।

पत्रकार विप्लव भट्टराईले ‘प्राकृतिक स्टुडियो इलाम’ शीर्षकमा इलाममा छायांकन भएका पछिल्ला चलचित्रबारे समाचार लेखेका छन् । पत्रकार किरण पौडेलले ‘इलामको पर्यटन प्रवर्धनमा चलचित्र क्षेत्रको राहत’ शीर्षकमा पनि समाचार लेखेका छन् । ७०–८० का पछिल्ला वर्ष कोरोना महामारी फैलियो । त्यतिबेला देउमाई नगरपालिकाको पानीटार चिया बगानमा चलचित्र ‘कृष्ण–लीला’ छायांकन भयो ।

पुष्प खड्का, नवनायिका श्रद्धा क्षेत्री, बुद्धि तामाङ अभिनित चलचित्रको ‘कुनै दिन यस्तो पनि भइदियोस्’ गीतको छायांकन पानीटार चियाबारीमा भएको छ । पशुपतिनगरलगायत इलामका विभिन्न स्थानमा ८० प्रतिशत छायांकन गरिएको निर्माता केवल तामाङले बताउँछन् । चलचित्रको मुख्य उद्देश्य हालसम्म प्रचारमा नआएका क्षेत्रहरूलाई ठूलो पर्दामा देखाउनु र पर्यटन प्रवद्र्धन गर्नु हो ।

इलामकै सेरोफेरोलाई आधार बनाएर चलचित्र ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु–२’ पनि छायांकन भएको छ । प्रेम दिवसले अन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायत क्षेत्रलाई ठूलो पर्दामा देखाएर इलामको पर्यटन प्रवद्र्धनमा सघाएको छ । प्रेमदिवसमा प्रियंका कार्की र आयुषमान जोशी मुख्य भूमिकामा छन् । म यस्तो गीत गाउँछु–२ मा पल शाह र पूजा शर्मा छन् ।

चलचित्र विकास बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसी समेत आफ्नो चलचित्र ‘क्याप्टेन’ छायांकन गर्न इलाम आए । उनका छोरा अनमोल केसी स्टारर यो चलचित्रले पनि इलामको पर्यटनसँगै इलामे फुटबल क्रेजलाई दर्शकसमक्ष ठूलो पर्दामा उतारिदियो । इलाममै घर भएका चलचित्र निर्देशक योगेश घिमिरेले कन्याम, अन्तु, सन्दकपुर आसपासलाई मुख्य छायांकनस्थल रोजे । उनले इलाममै प्रेमदिवससँगै ‘नोटबुक’ र ‘राधा’ पनि छायांकन गराए ।

चलचित्र ‘नोटबुक’मा समावेश ‘गाला रातै गाला रातै’मा इलामको अन्तु सेरोफेरो धपक्कै बलेको छ । चलचित्रमा जीवन लुइँटेल र नीता ढुंगाना मुख्य भूमिकामा छन् । ‘राधा’मा भने जीवनको साथमा सञ्चिता लुइँटेल छिन् । राधामा समावेश ‘टलक्कै सुन थ्यो कि दाँतैमा’ गीत पनि अन्तुमै खिचिएकाले अन्तु धपक्क बलेको छ । नोटबुकले इलाममा बसोबास गर्ने नेपालकै लोपोन्मुख लेप्चा जातिको संस्कृति उजागर गर्नु अर्काे मुख्य पाटो हो । यो चलचित्रमा हिमश्रृंखला, सूर्योदय दृश्यावलोकन, सन्दकपुर डाँडो, ढापपोखरी, टारीबेंसी, टोड्के झरना, माइपोखरीलगायतका दृश्य छन् ।

‘कबड्डी–कबड्डी’लगायतका सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी‘ पनि इलाममा छायांकन भयो । यसमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, अरुणा कार्कीलगायतको बेजोड अभिनय छ । चलचित्रले इलामको चिया व्यवसाय, घोडापालन संस्कृति, इलामे जनजीवन पोखेको छ । इलाममा प्रसस्त बाटोघाटो पुगेपनि घोडापालन मोह कायमै रहेको चलचित्रले देखाउँछ । अन्तु, फिक्कल, कन्याम र चियाबारी साथै इलामे जनजीवलाई उतार्ने यो चलचित्रको प्रमुख कथा भने एक सेवानिवृत्त शिक्षकको परिवारमा आएको उतारचढावको हो ।

दयाहाङ राई अभिनित ‘आप्पा’ पनि इलामको सीमावर्ती सन्दकपुर, कालपोखरी, जौबारीलगायत ठाउँमा छायांकन भयो । गीतमा समावेश ‘जानु छ पहाडमा कुहिरोको बाटो’ गीतमा देखिएका मनमोहक दृश्यले इलाम उजागर गरेका छन् ।

बुद्धि तामाङ र सुरवीर पण्डित अभिनित ‘मुर्चुंगा’ पनि इलाममै छायांकन भयो । स्वस्तिमा खड्का, प्रियंका कार्की, अनुभव रेग्मीलगायतको मुख्य भूमिका रहेको ‘नाइँ नभन्नू ल ५’ पनि इलाममै छायांकन भयो । प्रदीप खड्का र जसिता गुरुङ अभिनित ‘लवस्टेसन’, विल्सनविक्रम राई, गौरव पहाडी अभिनित ‘रातो घर’का केही दृश्य पनि यहीं छायांकन गरिएका छन् ।
अब आउने चलचित्र लक्ष्मण सुवेदीको ‘भ्यालेनटाइन–डे’, केवल तामाङको ‘ मायाका रङहरूमा’ र यम बरालको ‘तिमीलाई सम्झिँदा’लगायतको छायांकन पनि इलाममै हुने निर्माण पक्ष बताउँछ ।

अहिलेसम्मका प्रायः सबै चलचित्रले इलाम सदरमुकामभन्दा पूर्वको क्षेत्रलाई बढी समेटेका छन् । पछिल्लो समय देउमाई नगरपालिकाको पानीटार चियाबारी आसपासलाई निर्माताले रोजेको देखिन्छ । चलचित्र ‘सेमिफुङ’ इलामका पश्चिमी इभाङ, पावा, टोड्के–कुसुन्डे, माङमालुङ, लारुम्बालगायत क्षेत्रमा छायांकन भएको छ । यसलाई रवि शेर्माले निर्देशन गरेका छन् । यो चलचित्रले किराती समुदायको चित्रण गर्दै इलाम पश्चिमको राई र लिम्बू समुदायको जनजीवन, धर्म, संस्कृतिमा भएको उतारचढाव समेटेको छ ।

छायांकनमा प्रोत्साहन

भारत सिक्किमका तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङले नेपाली चलचित्रकर्मीलाई लक्षित गर्दै भनेका थिए– ‘तपाइँहरू सिक्किममा चलचित्र छायांकन गर्नुहोस्, यहाँको संस्कृति चलचित्रमा उतार्नुहोस् । चलचित्र निर्माणमा लाग्ने कुल खर्चको आधा सिक्किम सरकारले बेहोर्छ ।’ अहिलेका सिक्किमे मुख्यमन्त्री पिएस गोलेले पनि सिक्किमको संस्कृति चलचित्रमा उजागर गर्नेलाई एक करोड (भारतीय रुपैयाँ) दिने घोषणा गरिसकेका छन् ।

नेपाल सरकारले चलचित्र क्षेत्रलाई कसरी हेरेको छ ? चलचित्र विकास बोर्ड छ । चलचित्रकर्मी संघ, कलाकर्मी संघ, निर्माता÷निर्देशक संघ छन् । चलचित्र पत्रकार संघलगायत कला, साहित्य र संगीत प्रतिष्ठानजस्ता दर्जनौँ संस्था क्रियाशील छन् । संस्कृति तथा पर्यटन मन्त्रालय छ । स्थानीय, प्रदेश र संघीय तीन तहका सरकार छन् । पर्यटन र सामाजिक विकास मन्त्रालय छन् । यिनीहरूले चलचित्र क्षेत्रमा गरेको सहयोगको तथ्य खोतल्नु आवश्यक छ । सरकार र चलचित्रकर्मीको समन्वय, सहकार्य कस्तो छ । यी सबै विषय केलाउनु अबको मुख्य बाटो हुनुपर्छ ।

बागमती सरकारले हालसालै प्रदेश चलचित्र विकास बोर्ड स्थापना गरेको छ । चलचित्र क्षेत्रलाई पर्यटन प्रवर्धनको उच्च प्राथमिकतामा राखेको छ । भारतमा सिनेमामा लागि प्रख्यात छ । विभिन्न विकसित मुलुकमा सिनेमा÷चलचित्रलाई पर्यटन प्रवर्धन र आयको प्रमुख प्राथमिकतामा राखेको देखिन्छ । अब हाम्रो ध्यान पनि त्यता केन्द्रित हुन जरुरी छ ।

पर्यटन प्रवद्र्धनका लागि अरू माध्यम पनि छन् । पछिल्लो समय तीव्र गतिमा विकसित भएको युट्युब भ्लग, फोटोग्राफी, भिडियोग्राफी, म्युजिक भिडियो, फेसबुक, इन्स्टाग्राम, सर्ट भिडियोलगायत सामाजिक सञ्जाल र त्यसका माध्यमले पनि भरपुर टेवा दिएका छन् । चर्चित युट्युब भ्लग, ‘पूर्वी ब्लुज’का सञ्चालक सचिन न्यौपानेले हालसम्म नेपाल र बाहिरका हजारौँ पर्यटकीय गन्तव्य, ऐतिहासिकस्थलबारे व्याख्या गरेका छन् । उनले हजारौँ बायोग्राफी भिडियो भ्लगमार्फत् उतारेका छन् । उनले इलामका मात्रै दर्जनौँ स्थल उतारेका छन् ।

स्थानीय सरकारले पालिका र वडाका वृत्तचित्र निर्माण गरि पर्यटन प्रवर्धन गरेका छन् । हजारौं म्युजिक भिडियो, सयौं वृत्तचित्र, टिकटक र फेसबुकमार्फत् प्रसारण भएका अनगिन्ती सर्ट भिडियोले इलामको पर्यटनमा सहयोग गरेका छन् । अनगिन्ती फोटोग्राफरले खिचेका तस्बिर छन् । इलामबाट फोटोग्राफर मोहनमान श्रेष्ठ, हरि गुरुङ, मिलन मुखिया, दीपक लुंगेली मगर, राजेश पराजुली, माधव लुइँटेललगायतले फोटोग्राफीमार्फत् मुख्य काम गरिरहेका छन् ।

भिडियोग्राफीमार्फत् सुदीप श्रेष्ठ, तिलचन अधिकारी, दीपकराज शर्मा, दुर्गेश भट्टराई, मिलन निरौला, माधव लुइँटेल, केशव घिमिरेलगायतले इलामको प्रचार गर्दैछन् । इलाममा सञ्चालित दर्जनौँ अनलाइन मिडियाले समेत पर्यटन प्रवद्र्धनमा सहयोग गरेका छन् । ग्रीन इलाम, मिसन इलाम, रुटिन अफ् इलाम बन्द तथा सयौं फेसबुक, फेसबुक पेजले भिडियोमार्फत् इलामको पर्यटन प्रवद्र्धनको काम गरिरहेका छन् ।

गीतसंगीत र चलचित्रका माध्यमबाट पर्यटनको प्रचारप्रसार–प्रवर्धन गरिन्छ । इलामजस्तो पर्यटकीय गन्तव्यलाई गीत–संगीत र चलचित्रका माध्यमबाट समृद्ध बनाउन सकिन्छ । यसका लागि चलचित्र निर्माण, छायांकनका लागि स्थानीय सरकारले मुख्य नीति तथा कार्यक्रम बनाउन अति आवश्यक छ ।

(लेखक चलचित्र पत्रकार संघ, इलामका अध्यक्ष हुनुहुन्छ )
[email protected]

प्रतिक्रिया दिनुहोस्