काठमाडौं । यतिबेला हिन्दू नेपालीहरूको महान पर्व दसैँको मध्य छ । संसारभर छरिएर रहेका नेपालीहरू आ–आफ्नो तरिकाले दसैँ मनाइरहेका छन् । जरुरी छैन कि यो हिन्दू धर्मावलम्बीले मात्र मनाउनुपर्छ भन्ने ।
त्यसो त नेपालको सन्दर्भमा दसैँ हिन्दू, बौद्ध, किरात, जैन, सिख, प्रकृतिपूजक र नास्तिकले पनि मनाउँछन् । कतिपयले धार्मिक तथा मौलिक परम्पराका रूपमा कतिले सांस्कृतिकरूपमा र कतिपयले देशमा भाइचारा र सद्भावका लागि पनि दसैँ मनाउने गर्छन् ।
दसैँ मान्ने नेपाली परम्पराका आफ्नै छुट्टै मौलिक पक्ष छन् । नेपालमा दसैँ मान्नु र अन्यत्र रहेर दसैँ मान्नु उस्तै नहुन सक्छ । गाउँघरमा घरआँगन सरसफाइ गर्नेदेखि रातो र सेतो कमेरे माटोले घर रंग्याएर सफाचट बनाइन्छ । त्यतिमात्र होइन, दसैँका लागि भनेर नयाँ लुगा र मीठो खाना तयार गरिन्छ । खसी ढालिन्छ ।
दसैँलाई एक अद्धितीय, अलौकिक र आत्मिक पर्व रुपमा समेत लिइन्छ । दसैँ कहिलेदेखि किन मनाउन थालियो ? यसबारे कयौं तर्क र मिथक छन् । आ–आफ्ना दाबी र भनाइ छन्, ती हुँदै गर्छन् । तर, दसैँको मोह र आकर्षणले कहिले कसलाई छोड्ला ?
दसैँका १० रमाइलो पक्षः
१. शरद ऋतु
संसारका सबै भूगोलमा ६ वटा ऋतु हुँदैनन् । कतै दुई वटा मात्र छन्, जाडो र गर्मी । कतै ४ वटा । तर, नेपालमा ६ वटा ऋतु छन् । त्यसमध्ये सबैभन्दा सुन्दर, शान्त र सौम्य ऋतु हो– शरद ।
दसैँ शरद ऋतुमा पर्दछ । शरदमा भरखरै वर्षा रोकिएको हुन्छ । हिलो, मैलो, धुलो सकिएको हुन्छ । न जाडो हुन्छ, न गर्मी । न चर्को घाम लाग्छ, न बाक्लो तुवाँलो । आकास जताततै खुलेको हुन्छ । निलो आकासमा ठाउँठाउँ सेता बादलमा थुङ्गा । कतै पसाउन थालेका, कतै पाक्न लागेका धान, सयपत्री, गोदाबरी फूलहरू फूल्ने याम । शरद ऋतुको आनन्दसँग मिसिएर आउँछ दसैँ ।
२. सरसफाइ
दसैँ व्यक्ति र घरको मात्र हैन, सिङ्गो गाउँ, समाजकै विशेष सरसफाइ गर्ने चलन छ । सडकहरू सफा गरिन्छन् । बाटो छेउछाउका झारपात, बुट्यान, झाडी फाँडिन्छन् । खाल्डाखुल्डी पुरिन्छन् । चौतारीको पनि सफाइ गरिन्छ । देउराली सजाइन्छन् । घर लिपपोत गरिन्छन् । आँगानहरू सफा पारिन्छन् । दसैँ सरसफाइ र सुन्दरताको पर्व पनि हो ।
३. नयाँ लुगा र मीठो खाना
दसैँमा सबैले नयाँ लुगा लगाउँछन् । विशेषतः बालबालिकालाई नयाँ लुगाको औधी रहर हुन्छ । तर, वयस्क र जेष्ठ नागरिकले पनि गच्छेअनुसारको नयाँ लुगा किन्छन् । मीठा खानेकुराका परिकारको कुरै गर्न परेन ।
उहिले–उहिले दसैँ आउनु एक महिना÷हप्ता दिन अघिबाट ढिकीमा चिउरा कुट्ने, ठेकी दही साँच्ने र केरा पकाउने कामबाट सुरू हुन्थ्यो । आधुनिकता र बजारले यो कामलाई सजिलो बनाइदिएको छ । मार हान्ने र थरिथरिका परिकार बनाएर थरिथरिका जनावरका मासु खाने प्रचलन दशैंको उत्तिकै रमाइलो पाटो हो ।
४. बाल्यकाल सम्झिने अवसर
दसैँ एक बाल्यकाल सम्झिने अवस पनि हो । दसैमा सकेसम्म सबै आफ्नो पुर्ख्यौली थलो वा मूलघर फर्किन्छन् । पेशा, व्यवसाय, रोजगार र अन्य करिअरका लागि जन्मथलो वा पुर्ख्यौली थलो छाडी ढाँडिएका पनि सकेसम्म गाउँ पुग्छन् ।
गाउँ पुग्न नपाएकाले पनि गाउँघर, नातागोता र बाल्यकालका क्रियाकलाप र साथीभाइको सम्झना गर्दछन् । यस मानेका दसैँ एक प्रकारको ‘नोस्टाल्जिया’ पनि हो । यस्ता सम्झनाको आफ्नै प्रकारको आनन्द र मज्जा हुन्छ ।
५.साथीसंगी भेट्ने अवसर
दसैँमा गाउँघर पुगेकाहरूले भेटघाटका कार्यक्रम गर्दछन् । स्कूलको चौरमा त कतै सामुदायिक घरमा ! कतै जंगलको छेउमा त कतै दसैँघरको मेलामा । अरु बेला विरलै भेटघाट हुने मित्रहरू दसैँमा गाउँमा भेट हुन्छन् ।
पुराना कुरा सम्झेर एकअर्कालाई जिस्काउँछन् । हालखबर सोध्छन् । गाउँमै रहेकाहरू देश दुनियाँ डुलेर आएका साथीभाइका उन्नति, प्रगति र अनुभव सुन्छन् ।
६. दूर्गा पूजा र दसैँ मेला
दसैँमा दूर्गा स्थापना गर्ने प्रचलन कतै घरघरमा हुन्छ । कतै गाउँको दसैँमा सामूहिक रुपमा हुन्छ । दुर्गाले महिषासुर बध गरेको मुर्ति बनाइन्छ । घटस्थापनाका दिन जमरा राखिन्छ ।
अष्टमीका दिन दुर्गा पूजा हुन्छ । यस्ता दुर्गा थानमा मेला लाग्दछन् । दुर्गा उत्रेकाहरु धामी काँप्दछन् । कतिपय गाउँमा दुर्गा जगाउने भाकल र खेला हुन्छ । दुर्गा जगाउने पात्र हातमा लामो र नाङ्गो तलबार लिएर सिङ्गो गाउँ घुम्छ । ठाउँ–ठाउँमा महिषासुर बध नाटक मञ्चन गरिन्छन् ।
घरघरमा दुर्गा थाप्दा फलामे हतियारको पूजा हुन्छ । दुर्गाका लागि खसी, बोका, हाँस, कुखुराको बली हुन्छन् । जनावरको बली नदिनेहरूले लौका, काँक्रा, चिडिन्डा, कुभिन्डो, लौका र केरालाई जनावरजस्तो बनाएर मार हान्छन् ।
७. रोटे र लिङे पिङ
दसैँमा एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यता छ । त्यसैले दसैँमा पिङ नहालिएको कुन गाउँ होला ? पिङ बनाउने तरिका र प्रविधि भने आ–आफ्नै प्रकारको हुन्छ । कतै बाँसको चारफुर्के लिङोमा लठारो हालेर बनाइन्छ । लठारो बाँट्ने डोरी पनि फरक–फरक हुन्छ । कतै सनपाटको, कतै बाबियोको, कतै भोर्लाको, कतै नरिवलको, कतै प्यास्टिकको । लठारोको बीचमा काम्रो हालेर मच्चाउनु पर्छ ।
यस्ता लठ्ठा कतै गाउँ छेउको कुनै रुखको हाँगामा बाँधेर पनि पिङ बन्छन् । गाउँले भेला भएर लठ्ठा बाँड्नुको मज्जा बेग्लै हुन्छ । रोटे पिङ भने काठको हुन्छन् । दसैँको टीका, जमरा लगाएर एकपटक भुइँ छोड्नुपर्छ । भुइँ छोड्नु भनेकै पिङ मच्चाउनु हो ।
८.लामो बिदा
नेपालमा सबैभन्दा लामो बिदा पाइने समय भनेको दसैँमै हो । विद्यार्थी, कामदार र जागिरेलाई दसैँ बिदाको झल्को वर्षदिनभरि रहिरहन्छ । कहिले दसैँ आउला र लामो बिदा बस्न पाइएला भन्ने मनमा लागि रहन्छन् । सरकारी कार्यालय बन्द हुन्छन् । मान्छेको ध्यान सार्वजनिक दायित्व र बहसबाट निजी तथा पारिवारिक माहोलतिर फर्किन्छ । अरु बेला घुम्न नपाएकाहरूलाई त झन दसैँ उतकृष्ट समय नै हो ।
९. टीका, जमरा र आशीर्वाद
दसैँको मुख्य दिन दशमी हो । यो दिन आफूभन्दा ठूलाबडाबाट टीका, जमरा र आशीर्वाद लिइन्छ । टीकाका लागि सामान्यतः तीन वटा रंगहरू प्रयोग हुन्छन्– रातो, सेतो र पहेँलो ।
दसैँको सबैभन्दा लोकप्रिय रंग भने रातो हो । सेतो रंग प्रयोग गर्नैपर्दैन, चामलको अक्षता आफैँ सेतो हुन्छ । कतिपयले पहेलो रंग पनि प्रयोग गर्दछन् ।
दसैँको पहिलो टीका, जमरा घरको मूल ढोकाले पाउँछ । मूल ढोकामाथि गाइको गोबर, अक्षताको थुप्रो, जमराको फुर्को र बीचमा ढ्याँके पैसा । यसको आफ्नै सौन्दर्य हुन्छ । जमरा आफैँमा एक मौलिक र रोचक संस्कृति हो । जमराको रंग नै कति राम्रो । मान्यजनबाट टीका, जमरासँग आशीर्वाद । आशीर्वादमा कतै संस्कृतका श्लोकहरू त कतै ठाडा अर्तिउपदेश । सुन्दै रोमाञ्चित हुने ।
१०. जुवातास
नेपालमा जुवातास खेल्नुलाई गैरकानुनी मानिन्छ । पहिले घटस्थापनादेखि पूर्णिमासम्म र तिहारको पाँचदिने जुवा फुक्का हुन्थ्यो रे ! कानूनले निषेध गरेपनि दसैँमा जुवा, तास कुनै न कुनैरूपमा लुकिछिपी खेलिरहेकै हुन्छन् । तास नखेली दसैँ दसैँजस्तो लाग्दैन ।
त्यसमा पनि दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रात जुवामा खाल नबसेका, वा तास नफिट्ने गाउँ कमै होलान् । पहिला धेरै किट्टी, जुटपत्ती र कलब्रेक खेल्थे, अचेल म्यारिज खेल्छन् । म्यारिजको पोइन्ट तिर्न सजिलो होस् भनेर मकै वा भटमासका दाना गन्ने गरिन्थ्यो, अचेल ‘सेन्ट्रल कलेक्सन र पे’ गर्छन् ।