Logo
Logo

उहिले र अहिलेको दसैँ


315
Shares

काठमाडौं । नयाँ पुस्ताका लागि दसैँ फेरिएको छ । बाल्यकालमा नयाँ लुगा, मासु, पिङ, चंगा उडाउनु दसैँको प्रमुख आकर्षण हुन्थ्यो । दसैँको बेला नयाँ लुगा, मासु र पिङ नदेख्दासम्म दसैँ आएको आभास नै हुँदैन थियो ।

सम्झिँदा पनि आङ नै जिरिङ्ङ हुने ! ‘सरर…चचहुँइ’ भन्दै नमच्चिएसम्म दसैँ दसैँजस्तो लाग्दैन थियो । साथीभाइ मिलेर मासु खाने, भोज गर्ने, पिङ खेल्दा, चंगा उडाउँदा दसैँको रौनकले आकाश चुम्थ्यो ।

एकताका दसैँ आउँदा पिङ बनाउने होड हुन्थ्यो । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दसैँको रौनक पनि भित्रिन्थ्यो । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्थे ।

दसैँ सुरु हुनु महिना दिनअघिदेखि नै बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारीमा बाबियो काट्ने, बाँस तयार पार्ने, बोक्नेको चहलपहल र अनि खेतमा पहेँलै भएर झुलेको धानका बाला, बारीमा फुलेको कोदोले दसैँको रौनकता छाउँथ्यो ।

दसैँ पूनर्मिलनको पर्व पनि हो । त्यसैले देश–विदेशमा रहेका आफन्तहरू वर्षदिनपछि छुट्टी मिलाएर घर फर्कन्छन् । घरपरिवार, आफन्त, छरछिमेक, इष्टमित्रहरुसित भेला भएर खुसी बाँडिन्छ । अग्रजहरुबाट आशीर्वाद लिन्छन् ।

दसैँमा कपटक भुँइ छोड्नुपर्छ भन्ने मान्यता छ । यो मान्यता चाहिँ परम्परागत तथा स्वास्थ्यसँग जोडिएको छ । पिङ वर्षौंदेखि टाढा रहेका आफन्तलाई भेट गराउने माध्यम पनि हो । र, बेदनाका कुरा साटासाट गर्ने अवसर जुराउँछ ।

जसरी पिङ बनाउँदा बाबियो गाँसेर बलियो लठ्ठा बनाइन्छ, त्यसरी नै सम्बन्ध पनि बलियो बन्ने मान्यता रहेको छ । पिङले दसैँमा निकै रौनकता थप्ने गर्छ । तर अहिले त्यस्तो छैन ।

नहोस् पनि कसरी ? दसैँ मनाउँन गाउँघरमा युवा छैनन् । बुढाबुढी बाआमाबाहेक एकाध घरमा मात्रै युवा भेटिन्छन् । दसैँमा घरको छानो टाल्ने र सुन्दर संसार बनाउने सपना बोकेर अधिकांश युवा पलायन भएका छन् ।

अब, वनमा बाबियो काट्ने कसले ? लठ्ठा बाट्ने कसले ? बाँस तथा काठ काँधमा बोकेर ल्याउने कसले ? पिङ बनाउने कसले ? यी सबै झन्झटबाट मुक्त पाउन गाउँघरमा भएका युवाले पनि नयाँ–नयाँ प्रविधिको विकाससँगै पश्चिमा संस्कृतिलाई अपनाउन थालेका छन् ।

केहि वर्ष पहिलेसम्म दसैँ सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे । तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन् । रित्तो छ गाउँ । गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै गएको छ ।

भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ । विगतमा चौतारी डाँडापाखा, टोलटोलमा हालिने पिङ अहिले देख्न पनि मुस्किल छ । त्यसैले दसैँ मनाउने तौर–तरिका फेरिएको छ । परम्परागत संस्कार संस्कृति लोप हुँदै गएका छन् ।

पिङमात्र होइन, दसैँमा उडाएर रमाइलो गरिने चंगा पनि लोप हुँदै गइरहेको छ । एकताका दसैँको समय आकाशनै ढाक्ने गरी रंगिचंगि चंगा उडाइन्थ्यो । चंगा नउडाएसम्म दसैँ आएजस्तै लाग्दैनथ्यो ।

मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दसैँमा चंगा उडाउने गरिन्छ । तर, अहिले शहरी क्षेत्रमा त परम्परागत शैलीका पिङ र चंगाले आकाश ढाक्ने कुरा कथाजस्तै भइसकेकोे छ ।

समयको परिवर्तनसँगै नयाँ पुस्तामा चाडपर्वमा रमाउन थाले । नेपालमा स्मार्ट फोन, ट्याबलेट, ल्यापटपजस्ता मनोरञ्जनका अरू साधन मुख्य मनोरञ्जनको साधन बनेका छन् । कतिपय इन्टरनेटमै रमाइरहेका हुन्छन् । जस्तैः टिकटक, फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायत सामाजिक सञ्जालमा व्यस्त हुन्छन् ।

कतिपय मानिसहरु दसैँमा तास खेल्ने गर्छन् । कोही नयाँ–नयाँ किताब पढ्छन् । प्रविधिकै कारण बच्चाहरुमा पनि दसैँको उत्साह र उमंग छैन । जसकारण पिङ खेल्ने, चंगा उडाउने लगायतका पुराना चलन लोप हुँदै गएको छ । प्रविधिको आडमा रमाउने संस्कृतिको विकास भइरहँदा दसैँमा टीका थाप्ने, आशीर्वाद लिने चलनमा रुची कम भइरहेको छ ।

अहिले मासु खाने, भोज गर्ने कुरा सामान्य भइसके । यी कुराहरु हाम्रो संस्कृतिसँग जोडिएको छ । तर, यसबारे नयाँ पुस्ता अनविज्ञ छ । नयाँ पुस्तालाई परम्परागत दसैँको बारेमा धेरै कुरा थाहा छैन । त्यसैले उनीहरू दसँैलाई फरक किसिमले मनाउन थालेका छन् ।

अग्रजले पुरानो चलनबारे ‘कथा’ सुनाउने मात्रै नभएर पुराना चालचलनलाई अहिलेका नयाँ पुस्तासामु प्रस्तुत गर्नुपर्ने गर्नुपर्छ । विगतमा मिठो मसिनो खान र नयाँ लुगा लगाउन चाडबाड नै कुर्नुपर्ने बाध्यता थियो । तर, अहिले खानपान, भोजभतेर, लुगा सामान्य जीवनशैलीकै अंश भइसकेको छ । त्यसैले दशैंलाई त्यत्तिमा मात्रै सम्झिन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्