Logo
Logo
बडादशैँ

दसैँमा किन लगाइन्छ टिका ?


378
Shares


दसैँ हिन्दू नेपालीहरूको प्रमुख पर्व हो । दसैंलाई विजयादशमी पनि भन्ने गरिन्छ । दसैं भनेकै निधारमा टीका, कानमा जमरा, शरीरमा नयाँ लुगा लगाउने र मीठामीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने पर्वको रुपमा लिइन्छ ।

कसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन् । केहीले संस्कृतिविद्हरू भने एक वर्षसम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृतिमाथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजयादशमी भनिएको बताउँछन् ।

आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको यसको खास हुन्छ । तर, अहिले महाअष्टमी र महानवमी एकैदिन परेको छ । त्यसमा पनि टिकाको दिन मुख्य हो ।

हिन्दु धर्मावलम्बीहरूले शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीकाप्रसाद ग्रहण गर्ने गरेका छन् । टाढाटाढादेखि आउने पाहुनाहरूले पूर्णिमासम्मै पनि टीका लगाउने गरेका छन् ।

दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ । दसैंमा आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँनयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खानेखुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम गरिन्छ । यसो गरेमा वर्ष भरिनै सुख प्राप्ति हुने, दैविक शक्ति प्राप्त भै कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

टीकाको महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको छ । संस्कृतिविद्हरुका अनुसार क्षत भनेको नास हो । अक्षत भनेको नास नहुने । यही नास नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो । अक्षता धानको चामलको हुन्छ । संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिन्छ ।

चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको थियो । दसैं खेतबारीको कामबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ । अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ ।

विजयदशमीमा लगाइने टीका फरकफरक हुन्छ । अहिले पनि खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, राई, लिम्बू, गुरुङ, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन् ।

बनारसबाट अबीर नआउँदासम्म सबैले दही र चामल मुछेर सेतै टीका लगाउने चलन थियो । अबीर प्रचलनमा आउन थालेपछि केही जनजातीले रातै टिका लगाउन सुरु गरेका थिए । तर अहिले प्रयाः सबै जनजाति सेतै टिकामा फर्किसकेका छन् भने केहीले दसैँ नै बहिष्कार पनि गर्दै आएका छन् ।

वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो । सेतो शान्तिका लागि, पहेंलो पितृ कार्यहरूमा, रातो र कालोलाई शक्तिको प्रतीकको रूपमा लिइन्छ । हिन्दु धर्ममा प्रायः रातो टीका लगाउने चलन छ । रातो रंग सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीक हो । सेतो टीका पनि धेरैले लगाउने गर्छन् त्यसको अर्थ शान्ति, सुख र आत्मीयताको प्रतीक हो । पितृ कार्यहरूमा पहेंलो टीका पनि लगाइन्छ, पहेंलो टीका आध्यात्मिकता र साधनाको प्रतीक हो ।

उतिबेला लडाइँमा जानुअघि पहाडका देउराली वा देवीथानमा मार हान्ने चलन थियो । जनावरको घाँटीबाट झर्ने रगत थालमा तपतप जम्मा गरिन्थ्यो । र, त्यसैलाई चामलसँग मुछेर ’शक्तिकी देवीको प्रसाद’ का रूपमा टीका लगाइन्थ्यो ।

हाँ चामललाई ’नाश नहुने अन्न’ को प्रतीकका रूपमा प्रयोग गरिएको छ । यसरी कुनै बेला रगतमा मुछेको टीका लगाएर आएकाले यसबीच गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार लगायत जनजातिदेखि खसआर्यसम्मले सेतो टीका लगाउने गरेको छ ।

त्यस्तै, अक्षतामा मुछिने अबीर नेपालको आफ्नो उत्पादन नभएकाले रातो टीका यहाँको मौलिक परम्परा हुनै नसक्ने पनि भन्ने गरिन्छ । बिस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रुपमा सबैले रातो टीका लगाउने प्रचलन बढेको संस्कृतिविद्हरु बताउँछन् । तर दसैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व हो ।

निधार शरीरको ‘देवस्थान’ हो, जसको अर्थ देवताहरूको वासस्थान हो । त्यसैले निधार खाली नराख्ने, कम्तीमा त्यसमा केही न केही लगाउनुपर्छ भनिन्छ । टीकालाई निधारमा लगाइन्छ जहाँ आज्ञाचक्र अवस्थित हुन्छ । आज्ञाको अर्थ– ‘बोध गर्नु’ वा ‘आदेश’को रूपमा, आज्ञाचक्र ‘अन्तरज्ञानको आँखा’को रूपमा मानिन्छ, जसको माध्यमले एक व्यक्तिले धेरै कुरा बुझ्न सक्छ । जुन भौतिक आँखाले देख्न सकिंदैन । त्यसैले त्यो आज्ञाचक्रलाई सक्रिय बनाउन निधारमा टीका लगाउने गरिन्छ । ०००

प्रतिक्रिया दिनुहोस्