Logo
Logo

सबैभन्दा पीडामा गरिब राष्ट्रहरू


डा. दीपेश केसी

0
Shares


रुसले युक्रेनमाथि हमला गरेपछि युद्धको बाछिटाहरू संसारभर परिरहेका छन् । युद्धका कारण इन्धनको मूल्य आकासिएको छ । जसबाट सबैभन्दा पीडामा गरिब राष्ट्रहरू परिरहेका छन् ।

रुस–युक्रेन युद्ध अघि कच्चा तेलको मूल्य प्रतिब्यारल ३० डलरभन्दा मुनी रहेकोमा अहिले ७० डलरभन्दा माथि छ । रुस–युक्रेन युद्ध चरम चुलीमा पुग्दा त झन्डै एक सय डलरको हाराहारीमा पुगेको थियो । यसबाट प्रत्यक्ष अप्रत्यक्ष लाभ रुस र अमेरिकाले नै बढी लिए । रुस तेल उत्पादनकर्ता देशमध्ये एक हो भने, अमेरिकी कम्पनीहरू तेल र ग्यास उत्पादनमा संसारमै अग्रणी स्थानमा छन् ।

अमेरिकालगायत पश्चिमा देशहरूले युक्रेनलाई हतियार र आर्थिक सहयोग दिएर सघाइरहेका छन् । विशेषगरी अमेरिकाले युक्रेनलाई साथ दिइरहेको छ । तर, रुसले युक्रेनको क्रिमियाका अलावा अन्य क्षेत्रमा नियन्त्रण जमाएको छ । यो युद्धबाट युक्रेनले धेरै गुमाइसकेको छ भने रुसले एकातर्फ भूभाग बढाइरहेको छ ।

अर्कोतर्फ यही मौकामा रुसले तेल र ग्यास बेचेर मनग्य आर्थिक लाभ लिइरहेको छ । चीन र भारत रुसको कच्चा तेल खरिद गर्ने देशमा अगाडि देखिएका छन् । उनीहरू रुसबाट सस्तो तेल खरिद गरेर लाभ लिइरहेका छन् । रुसले पनि विश्वको झन्डै डेढ–डेढ अर्ब जनसंख्या भएका दुई ठूला देशलाई तेल बेचेर मनग्ये विदेशी मुद्रा आर्जन गरिरहेको छ ।

युक्रेनमा पश्चिमाहरूले प्रभाव जमाउन खोजेपछि आफ्नो सुरक्षा खतरा हुने देखेर रुसले दबाब बढाएको थियो । तर, युक्रेन पछि नहटेपछि आक्रमण गर्न पुग्यो । रुसले अहिले पश्चिमा शक्तिहरूको आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । तर, युक्रेनको थप भूभाग हात पार्न रुस लागिपरेको छ ।

योसँगै रुसले आफ्नो नजिकको मित्रशक्ति इरानमार्फत् युद्ध फैलाइरहेको छ मध्यपूर्वमा । अफ्रिकामा अमेरिका र फ्रान्सको प्रभाव कमजोर पार्ने उसको रणनीति छर्लङ्ग छ । कतिपय अफ्रिकी देशहरूमा भएको सैनिक कू पछाडि रुसको हात रहेको तथ्यहरू बाहिर आइरहेका छन् । रुसले अफ्रिकाका कतिपय देशहरूमा राजदूतावास पनि खोलेको छ ।

युक्रेन हमलापछि विश्व परिस्थिति बदलिएको छ । कमजोर देशका शासकहरूलाई उत्तेजित पारेर उग्र कदम चाल्न लगाउने र त्यसको बहानामा हस्तक्षेप गर्ने बलिया देशको रणनीति पनि प्रकट युक्रेन युद्धसँगसँगै भएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की जस्ता उग्र राष्ट्रवादीको उदयसँगै युक्रेन युद्धमा मात्र फसेन भूभाग पनि गुमायो, आफ्नो सामर्थ्य पनि गुमाउँदै गयो । कुनैबेला शक्तिशाली हतियार निर्माण गर्ने युक्रेनको ती सामर्थ्य खुइलिइसकेको छ । कमजोर देशलाई उत्तेजित पारेर युद्धमा जाक्ने र बरबाद पार्ने बलिया देशको रणनीति युक्रेन युद्धमा स्पष्ट देखिइसकेको छ ।

अंग्रेजसँगको युद्धमा देशको भूभाग गुमाएको पीडा नेपालले पनि विगतमा नभोगेको होइन । भीमसेन थापाको पालामा नेपालले अंग्रेजसँग युद्ध लडेको बहादुरीको गाथा त गाइयो, तर नेपालले धेरै भूभाग गुमायो त्यतिबेला ।

नेपालको फैलावटमा त्यही बेलाबाट पूर्णविराम लाग्यो । पछि, जङ्गबहादुर राणाका पालामा नयाँ मुलुकका रुपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याइएको थियो । यो जङ्गबहादुरको कूटनीतिक चार्तुयताको परिणाम थियो ।

जङ्गबहादुरले युद्ध नलडेका होइनन् तर उनले देशको भूभाग गुमाउने युद्ध लडेनन् बढाउने युद्ध मात्र लडे । युद्ध लड्नै परेमा देशको सामर्थ्य बढाउन या भूभाग बढाउन लडिने चाणक्यनीतिमा उल्लेख छ । अहिले शक्ति राष्ट्रले त्यही गरिरहेका छन् ।

उसले लाभ र हानीको हिसाबकिताब गरेर युद्ध गरिरहेको देखिन्छ । युक्रेन युद्धले रुसलाई मात्र लाभ पुगिरहेको विश्लेषणका साथ डोनाल्ड ट्रम्पले आफूले जितेमा यसै वर्षको डिसेम्बरसम्ममा युद्ध अन्त हुने बताइसकेका छन् । उनले जतिपटक डेमोक्रयाटले जित्यो उति पटक रुसले भूभाग र प्रभाव बढाइरहेको बताइसकेका छन् ।

सोभियत संघ विघटनपछि कमजोर बनेको रुस निरन्तर आफ्नो प्रभाव बढाइरहेको छ । उसले अफगानिस्तान, चेचेनिया, युक्रेनलगायतका भूभागमा युद्ध लडेर पनि प्रभाव बढाएको हो । यसबाट पनि युद्धबाट बलिया देशले लाभ लिइरहेको स्पष्ट हुन्छ । उनीहरू आफ्नो प्रभाव विस्तारका लागि पनि युद्ध चाहिरहेका हुन्छन् र होमिन्छन् पनि ।

रोचक त यो छ कि, युक्रेन युद्धले संसारमा धनाढ्यहरूको सम्पत्ति झन् बढाएको छ । अमेरिकी अर्बपतिहरुको सम्पत्ति ह्वात्तै बढेको छ । रुस, चीन र भारत जस्ता देशमा पनि धनाढ्यको संख्या बढेको छ । धनी देश झन् धनी बनेका छन् भने गरिब देशको हालत झन् खराब भएको छ । दक्षिण एसियाका श्रीलंका, पाकिस्तान जस्ता देश आर्थिक संकटमा फसेका छन् । युक्रेन हमलापछि तेल र ग्याँसको मूल्य वृद्धिको मार नेपाल जस्ता देशलाई परिरहेको छ जो तेलमा परनिर्भर छन् ।

युक्रेन युद्धमा त नेपाली युवा भाडाको सैनिक बन्दा मारिएका खबर आइरहन्छन् । युद्धले एकातर्फ नेपाल जस्तो देशमा आर्थिक क्षेत्रमा असर पारिरहेको छ, अर्कोतर्फ युवा पलायन व्यापक भइरहेको छ ।

नेपालमा रोजगारी नपाएर धेरै पैसा कमाउने लोभमा नेपाली युवा रुसी सेनामा भर्ती हुन बाध्य छन् । रुसी सेनामा भर्ती भएका नेपाली युवा केही भागेर नेपाल फर्किएका छन् भने केही मारिएका छन् ।

तिनको परिवारको नेपालमा बिचल्ली छ । तर, रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन नेपाल सरकार असफल छ । आखिर यस्ता युद्ध धनी र बलिया देशकै लागि हुन् जसले लाभको हिसाबकिताब निकालेर युद्ध गर्छन् । पिल्सिने र समस्यामा पर्ने नेपाल जस्ता देश हुन् जो युद्धको बाछिटाले मात्र पनि प्रभावित हुन्छन् ।

हरेक वस्तु आयात गरेर खानुपर्ने नेपालीको बाध्यता बनेको छ । कमजोर अर्थतन्त्र, अस्थिर राजनीतिले देश जर्जर बन्दा पनि आन्तरिक उत्पादनमा सरकारले दीर्घकालीन रणनीति तय गर्न सकेको छैन ।

बढ्दो पेट्रोलियम पदार्थको विकल्पमा नेपालमै उत्पादित जलविद्युत्को सदुपयोग गर्ने सामान्य कुरामा पनि सरकारले ध्यान दिन नसक्दा वार्षिक २ खर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयात भइरहेको छ । जसले हरेक वर्ष व्यापार घाटा बढाउँदै लगेर अर्थतन्त्रलाई कमजोर बनाएको छ । ०००

प्रतिक्रिया दिनुहोस्