Logo
Logo

क्रान्तिकारी विद्यार्थीको विद्रोह : पार्टीमा परिवारवादी सिण्डिकेटविरुद्ध अभियान


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले पार्टीभित्रको असमान सेवा, सुविधा वितरणको विरोधमा अभियान सुरु गरेका छन् । उनीहरूको मुख्य असन्तुष्टि भनेको एउटै परिवारमा मात्र केन्द्रित भई राजकीय र पार्टीका स्रोत तथा सुविधाहरू लिइनु हो ।

यस्तो असन्तुलित प्रणालीको अग्रपंक्तिमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको परिवार रहेको छ । जसले राज्य र पार्टीको प्रमुख अवसरहरूमा लगातार पहुँच राख्दै आएको छ ।

यसबाहेक, पार्टीका उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतका परिवारहरू पनि लाभान्वित भएका छन् । उनीहरू धेरै पटक मन्त्रीसहित महत्वपूर्ण पदमा नियुक्त भएका छन् भने अर्का उपमहासचिव गिरिराजमणि पोखरेल पनि मन्त्री पदमा धेरै पटक पुगेका छन् । यसरी शक्ति र स्रोतको पहुँचमा सिण्डिकेटजस्तो अवस्था सिर्जना भएको देखिन्छ ।

अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले माओवादी केन्द्रमा भएको यो सिण्डिकेट प्रणालीलाई भौतिक उत्प्रेरणा र अवसर लिने प्रवृत्ति भन्दै आलोचना गरेका छन् । पार्टीको ३७ वर्ष लामो नेतृत्वमा रहेका पुष्पकमल दाहालले पछिल्लो समयमा आफ्नो नेतृत्वमा पार्टी अस्तित्व नै जीर्ण हुँदै गए पनि शक्ति र स्रोतमा उनको पकड अझै प्रबल छ ।

सबैभन्दा चाखलाग्दो कुरा के छ भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी सम्मेलनमा उमेर हदको प्रस्ताव गरेपछि यो अभियान सुरु भएको हो । विद्यार्थीहरूले त्यसको प्रतिक्रियामा सामाजिक सञ्जालमार्फत उमेरमा मात्र किन अवसरमा पनि हद लगाइनुपर्छ भन्दै अध्यक्ष प्रचण्ड र अन्य पटकपटक अवसर लिने नेताहरूको विरुद्ध अभियान सुरु गरेका छन् ।

विद्यार्थीहरूको सामाजिक सञ्जालमा चलाइएको यो अभियान पार्टीभित्रको असमानताप्रति जागरुकता ल्याउने मात्र नभई नेतृत्वमा रहेका पुराना अनुहारहरूको निरन्तर प्रभुत्वको विरोधमा हो । यस्तो अभियानले पार्टीलाई आन्तरिक सुधारतर्फ उन्मुख गर्न थप दबाब सिर्जना गर्न सक्छ ।

माओवादी केन्द्रभित्र लामो समयदेखि देखिँदै आएको परिवारवादी, सिण्डिकेट शैलीको नेतृत्वलाई खुला चुनौती दिने विद्यार्थीहरूको महत्वपूर्ण प्रयास हो । यसले पार्टीको आन्तरिक राजनीतिमा असन्तोषको गहिरो तहलाई उजागर पनि उजागर गरेको छ । जहाँ नेता र तिनका परिवारहरूले राज्य र पार्टी स्रोतमा एकाधिकार जमाउँदै आएका छन् ।

यसले पार्टीको आधारभूत संरचनामा परिवर्तन ल्याउन सक्ला कि नसक्ला भन्ने कुरामा भने अझै शंका छ । पार्टीभित्रको यस्तो सिण्डिकेट तोड्न विद्यार्थीहरूको यो अभियान कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा समयले देखाउला । तर, आलोचनात्मक चेत राख्ने युवाहरुको यो अभियानले पार्टीलाई रुपान्तरण गर्न बल नै दिन्छ । यो किन पनि बलियो र प्रभावकारी छ भने यसमा गुटको गन्ध छैन । यो अभियानले पार्टी अध्यक्ष र उनको परिवारलाई पनि छाडेको छैन ।

प्रतिक्रिया दिनुहोस्