Logo
Logo

भवन निर्माणमा पनि भ्रष्टाचार


315
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा १२ तले भवन निर्माण गर्दा भ्रष्टाचार भएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । भवन निर्माणसम्बन्धी कागजात नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेको हो ।

अख्तियारबाट इन्जिनियरसहितको टोली भवन रहेको स्थलमा पुगेर प्राविधिक नापजाँच गरिसकेका छन् । २ अर्बभन्दा बढी रकम लागत देखाइएको भवन निर्माणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका अधिकारीहरूको मिलेमतोमा अनियमितता भएको उजुरी अख्तियारमा परेको छ । त्यसपछि प्रारम्भिक छानबिन गर्दा कैफियत देखिएपछि भवन निर्माणसम्बन्धी फाइल नियन्त्रणमा लिएर अख्तियारले विस्तृत अनुसन्धानमा लगेको स्रोतको भनाइ छ ।

२०७२ वैशाखदेखि निर्माण थालेर २०८० वैशाखमा काम सम्पन्न गरेकोमा यो अवधिमा निर्माणमा भएको खर्च, निर्माणमा गुणस्तरदेखि ठेक्का लगाउँदासम्मका प्रक्रियामा बदनियतपूर्ण रूपमा काम गरेको देखिएपछि अनुसन्धान अघि बढेको हो । अहिले उक्त भवनको एकातर्फको केही भाग लच्किएको छ । यसलाई ढाकछोप गर्ने प्रपञ्चमा प्राधिकरणका अधिकारी लागे पनि अख्तियारमा उजुरी परेपछि अनुसन्धान अघि बढेको छ ।

भवनको स्वरूप पनि सुरुको डिजाइनअनुसार नदेखिएको अनुसन्धान स्रोतको भनाइ छ । २०७१ मा भवन निर्माणका लागि प्राधिकरणका प्रक्रिया अघि बढाएकोमा २०७२ वैशाखबाट निर्माणको काम अघि बढाइएको थियो ।

एयरपोर्ट एन्ड एयर नेभेगिसन सर्भिसेस अर्गनाइजेसन (आनसन) नाम दिइएको यो भवनको शिलान्यास तत्कालीन महानिर्देशक रतिशचन्द्रलाल सुमनको कार्यकालमा ०७१ माघ २७ गते भएको थियो । सुमनले नै हतारमा भवनको शिलान्यास गरेका थिए ।

उनी आर्थिक अनियमितता प्रकरणमा बर्खास्तमा परेपछि केही समय महेन्द्रसिंह रावल कायममुकायम महानिर्देशकका रूपमा आएका थिए । उनी केही महिनापछि कामुबाटै अवकाशमा गएपछि सञ्जीव गौतम महानिर्देशक बनेका थिए ।

गौतम २०७२ देखि २०७६ सम्म प्राधिकरणमा महानिर्देशक बने । गौतमपछि करिब २ वर्ष (२०७८) सम्म राजन पोखरेल महानिर्देशक बनेकामा उनीपछि १ वर्षभन्दा कम समय राजकुमार क्षेत्री सुरुमा कामु हुँदै महानिर्देशक बनेर बाहिरिए ।

२०७८ माघदेखि भने महानिर्देशक प्रदीप अधिकारी महानिर्देशक छन् । सेटिङमा टुंदी र रसुवा निर्माण कम्पनीलाई ज्वाइन्ट भेन्चरमा यो काम सम्पन्न गर्ने ठेक्का दिइएकोमा यसको सुरुवाती लागत १ अर्ब ८० करोड तोकिएकोमा पछि बदनियतपूर्ण रूपमा लागत बढाएको र गुणस्तरमा पनि हेलचेक्य्राई गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्