Logo
Logo

नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध


एजेन्सी

189
Shares

नयाँदिल्ली । वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा आतिशबाजीमा पूर्ण प्रतिबन्ध लगाउने जानकारी सोमबार त्यहाँको प्रशासनले गराएको छ ।

यो प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यस अघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्ये कडा आदेश हो । भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भएपनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ ।

दिल्ली प्रदूषण नियन्त्रण समितिले एक वित्रप्ति जारी गर्दै भनेको छ, ‘सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।’ यो निर्देशन ‘उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हित’ लाई ध्यानमा राख्दै गरिएको समितिले जनाएको छ ।

यो निर्णय झिलीमिली बत्ती बाल्दै पटाका पड्काएर भारत बर्षमा मनाउने हिन्दूहरूको अति लोकप्रिय चाडमध्ये एक दिपावलीको दुई हप्ताअघि आएको हो । धेरैले आतिशबाजीलाई उत्सवको अभिन्न अङ्गको रूपमा लिन्छन् ।

यो पर्व अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो र हिन्दू देवी लक्ष्मीको आराधना गरिने उत्सव हो । करिब तीन करोड जनसङ्ख्या रहेको महानगरमा यसअघि लगाइएको प्रतिबन्धलाई नियमित रुपमा बेवास्ता गरिएको थियो ।

हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ । नयाँदिल्लीमा हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण बढी प्रदूषित हुनेगरेको छ ।

नयाँदिल्लीले शहरमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराली जलाउनु) पनि भएको बताउने गरेको छ । दीपावली (दिवाली) को आसपास आतिशबाजीमा वृद्धिले प्रदूषणको समस्यालाई जटिल बनाउँछ ।

फोक्सोको माध्यमबाट रक्तप्रवाहमा प्रवेश गर्ने पीएम २.५ प्रदूषकको रूपमा चिनिने क्यान्सर पैदा गर्ने सूक्ष्म कणहरूको स्तर नयाँदिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको खतरा सीमाभन्दा ३० गुणा बढीसम्म हुने गर्छ । सन् २०२० मा ल्यान्सेटको एक रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा करिब १७ हजार ५०० जनाको मृत्यु भएको थियो ।

विगतमा, आतिशबाजी राज्यको सीमा पार गरेर तस्करी गरिन्थ्यो वा लुकीछिपी उपलब्ध हुन्थे । शहरमा प्रशासनले पटाकाको प्रयोगमा कडाई गरेपछि मध्यरात वा बिहान सबेरै सुरक्षाकर्मीको आँखा छलेर पट्काइन्थ्यो ।

तर यस वर्ष, दिल्लीका शहरका अधिकारीहरूले राज्य प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै उनीहरूलाई ‘दैनिक कार्यप्रगति रिपोर्ट’ पेश गर्न निर्देशन दिएका छन् । यो प्रतिबन्ध सन् २०२४ को अन्त्यसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्