Logo
Logo

डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो


378
Shares

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव बुधबार बिहान ११ बजेतिर फेला परेको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएरति साढे १२ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ । बस सडकबाट झण्डै तीन सय मिटर खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्